Butwal Today

गाउँका किसानलाई पिडै पीडा: बाघले बाख्रा खाइदिन्छ, बँदेलले बाली

८ चैत्र २०८२, आइतबार
अ+
अ-

सल्यान  ।  सल्यानमा पछिल्लो समय जङ्गली जनावरको बढ्दो आतङ्कले किसानहरूको जनजीवन कष्टकर बन्दै गएको छ ।

एकातिर बाघले पशु चौपायामाथि आक्रमण गरी किसानको जीविकोपार्जनमा नै असर पारिरहेको छ भने अर्कोतर्फ बँदेलले खेतबारीमै पसेर अन्नबाली सखाप पार्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

कालिमाटी क्षेत्रमा केही समयअघि बाघको आक्रमणबाट तीन जनाको ज्यान गइसकेको सन्दर्भमा अहिले फेरि पशु चौपायामाथि बाघ आक्रमणका घटना तीव्र रूपमा बढिरहेका छन् । पछिल्लो दुई सातामै बाघले १७ वटा बाख्रा तथा भेडा मारेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका, ३ साठिघरेमा चैत ३ गते दिउँसो बाघले स्थानीय किसान सागर रेउलेका नौ वटा बाख्रा मारेको छ । साथै बाघले दुई बाख्रा घाइते बनाएको थियो भने दुइवटा बाख्रा हराएका थिए ।

धनारी सामुदायिक वन क्षेत्रमा चराउन लगिएका बाख्रालाई बाघले आक्रमण गरेको हो । पीडित रेउलेका अनुसार घटना हुँदा उनी खोलामा जाली हान्ने काममा गएका थिए । “श्रीमतीले फोन गरेपछि मात्रै घटना थाहा पाएँ,” उनले भने, “१९ वटा बाख्रामध्ये अधिकांश सखाप भएपछि अब परिवार कसरी पाल्ने भन्ने चिन्ता छ ।” बाख्रापालन नै मुख्य आम्दानीको स्रोत रहेको उनको परिवार अहिले निकै ठूलो आर्थिक संकटमा परेको छ ।

यसअघि फागुन २६ गते शारदा नगरपाठुलो, ९ सुनचौर क्षेत्रमा पनि बाघले ६ वटा बाख्रा र २ वटा भेडा मारेको थियो । लगातारका घटनापछि स्थानीयहरू जंगल जान, पशुचौपाया चराउन लैजान तथा एक्लै हिँडडुल गर्नसमेत डराउन थालेका छन् ।

स्थानीयका अनुसार बाँके राष्ट्रिय निकुञ्ज आसपासबाट बाघ गाउँतर्फ पस्ने क्रम बढेपछि यस्ता घटना बढ्दै गएका हुन् । जिल्लाका विभिन्न क्षेत्रमा बाघ तथा चितुवाको गतिविधि बढ्दै जाँदा सम्बन्धित निकायले प्रभावकारी नियन्त्रण र सुरक्षा उपाय अपनाउनुपर्ने माग स्थानीयको छ ।

बँदेलको उपद्रोले हैरान किसान
यता जिल्लाका कपुरकोट, सिद्धकुमाख, छत्रेश्वरी, बनगाड कुपिण्डे लगायतका पालिकामा जङ्गली जनावर बँदेल आतङ्कले किसानहरूलाई हैरान बनाएको छ । वर्षायाममा मकै खेतीमा क्षति पु¥याउँदै आएको बँदेलले अहिले हिउँदयाममा गहुँ, केराउ तथा तरकारी खेतीमा समेत उत्तिकै क्षति गर्न थालेपछि समस्या झनै गम्भीर बनेको हो ।

कपुरकोट गाउँपालिका, ३ लामिडाँडाका किसानहरूका अनुसार बँदेलले रातिको समयमा बारीमा पसेर गहुँको बाला चपाउने, गोयार हालेर बाली सखाप पार्ने तथा लगाइएका तरकारीसमेत नष्ट गर्ने गरेको छ । स्थानीय नन्दी कुवँरले बँदेलको डरले काँचै अवस्थामा नै गहुँ काट्न बाध्य भएको बताइन । “बाली पाक्नै नदिई सखाप पार्न थालेपछि काँचैमा काट्नुपर्ने भयो,” उनले भनिन ।

अर्का किसान चन्द्रबहादुर वलीका अनुसार रातभरि बारीमा बस्दा पनि बाली जोगाउन नसकिएको अवस्था छ । “कतिखेर बँदेल आउँछन् थाहा हुँदैन, गहुँ र केराउ सबै सखाप पारिदिन्छ,” उनले दुखेसो पोखे ।

परम्परागत रूपमा धपाउने उपाय प्रभावकारी नहुँदा बँदेलको नियन्त्रण झनै कठिन बन्दै गएको स्थानीयको भनाइ छ । किसानहरूले क्षतिपूर्ति व्यवस्था, खेतबारीमा तारबार तथा दीर्घकालीन नियन्त्रणका उपाय लागू गर्न माग गरेका छन् ।

जिल्लामा एकातिर बाघले पशुधन नोक्सान गरिरहेको छ भने अर्कोतर्फ बँदेलले अन्नबाली सखाप पार्दै गएको अवस्था छ । स्थानीय तह तथा सम्बन्धित निकायले तत्काल प्रभावकारी योजना ल्याएर किसानलाई राहत र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?