Butwal Today

एम्बुलेन्स आक्रमणमा संलग्न ३ युवा पक्राउ

७ चैत्र २०८२, शनिबार
अ+
अ-

सल्यान । सल्यानको कुमाख गाउँपालिकाको एम्बुलेन्स तथा एम्बुलेन्स चालकमाथि सुर्खेतमा आक्रमण गर्ने तीन जना युवा पक्राउ परेका छन् । बिरामी बोकेर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्समाथि आक्रमण तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका, ११ का २० वर्षीय प्रवीण गहतराज, १८ वर्षीय विशाल बि.क. र १९ वर्षीय विशाल बि.क. रहेका छन् ।

शुक्रबार राति करिब १० बजे रुकुम चौरजहारीबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदैगरेको सल्यान कुमाख गाउँपालिकाको कर्णाली प्रदेश ०२.००१ झ ०१३८ नम्बरको एम्बुलेन्सलाई सुर्खेत भेरीगंगा नगरपालिका, ११ सादिखोलास्थित सडक खण्डमा केही युवाको समूहले अवरोध गरी आक्रमण गरेको थियो ।

मादक पदार्थ सेवन गरेका ५–६ जनाको समूहले एम्बुलेन्स रोकेर चालक ३२ वर्षीय वसन्त शर्मामाथि हातपातको प्रयास गर्नुका साथै गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । चालकका अनुसार समूहले सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेपछि आक्रमण सुरु भएको थियो ।

ज्यान जोगाउन चालक भाग्न सफल भए पनि समूहले एम्बुलेन्समा क्षति गरेको थियो । घटनापछि चालकले इलाका प्रहरी कार्यालय छिन्चुमा जानकारी गराए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अवस्थामा संलग्न व्यक्तिहरू फरार रहे पनि भोलिपल्ट गरिएको अनुसन्धानका आधारमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका युवाहरूलाई इलाका प्रहरी कार्यालय छिन्चुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स तोडफोड भए पनि चालकले बिरामीलाई सुरक्षित नेपालगन्ज अस्पताल पुर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?