© 2026
लोकतन्त्रको सुन्दरता निर्वाचन हो । निर्वाचन स्वच्छ हुनुपर्छ । यो सबैको तर्क हो । यो वर्षको निर्वाचनमा कुनै मानवीय एवम् भौतिक क्षति भएन । खासै हूलदङ्गा भएन । शान्तिपूर्वक निर्वाचन सम्पन्न भयो ।
निर्वाचनमा आफनो मत आफूले रुचाएको ठाउँमा जाहेर गर्न पाउनु जनताको नैसर्गिक अधिकार हो । सोही अधिकारको प्रयोग जनताले गरे । किन र कसरी गरे समीक्षाको विषय हुने छ । बालिग नेपालीले आफ्नो मत निर्वाचनमा जाहेर गर्दै आएको ६७ वर्ष पुग्यो । यो कुनै नौलो विषयपनि रहेन ।
सामान्य बहुमतमात्र होइन, दुई तिहाई जनमत समेत २०१५ सालमा नेपाली काङ्ग्रेसले हासिल गरेको इतिहास नेपालमा कायमै छ । कसले, कहिले, कसरी, कति मत ल्यायो भन्ने कुरा भन्दापनि उक्त जनमतको कदर कति समयसम्म कायम रह्यो भन्ने कुराले खास अर्थ राख्दो रहेछ ।
२०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले हासिल गरेको दुई तिहाई मतको सरकारलाई तत्कालीन राजा महेन्द्रले २०१७ पुष १ गते अपदस्थ गरेको कुरा घाम झैं छर्लङ्गै छ । २०४८ सालमा एकमना सरकार बनाएको कांग्रेसले २०५१ सालमा मध्यावधि निर्वाचन गराएर नेकपा एमालेलाई ठूलो दलको हैसियतले अल्पमतको सरकार बनाउने अवसर दिएको इतिहास कसैलाई सम्झाईरहनु नपर्ला ।
२०५६ सालको निर्वाचनमा बहुमत प्राप्त काङ्ग्रेस पार्टीमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको आन्तरिक किचलो कै कारण पार्टी विभाजन भयो । शेरबहादुर देउवालाई अक्षम भनेर तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीबाट अपमानजनक तरिकाले हटाएको कुरा राजनीतिका कखरा सिक्दै गरेकाले समेत भन्न सक्छन् । अर्थात् त्यतिबेला बहुमतको सरकार तत्कालीन राजा ज्ञानेन्द्रको पोल्टामा परेको थियो ।
त्यसपछि २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा नेकपा माओवादीले दुई सय ४० प्रत्यक्षतर्फको सीटमा एक सय २० सीट जितेको तथ्याङ्क सम्झनाको तखतामा ताजै छ । प्रचण्डको नेतृत्वमा िमलीजुली सरकार बनेको सबैले देखेकै हुन् । उक्त सरकार कति समय टिक्यो भनेर दुई स्थानमा निर्वाचन हारेका माधवकुमार नेपाललाई सोध्न बिर्सिनु हुँदैन । माधव नेपाल प्रधानमन्त्री भएपछिको प्रसङ्गमा आफूले विषवृक्ष रोपिएको कुरा प्रचण्डले भनेकै हुन् ।
२०६४ मा काङ्ग्रेस दोस्रो र एमाले तेस्रो दल बनेको सत्य हो । २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो र एमाले दोस्रो दल बनिरहँदा नेकपा माओवादीलाई तेस्रो दलमा थन्क्याउने पनि नेपाली जनताहरू नै हुन् ।
यहाँसम्मको प्रसंगलाई केलाउँदा भन्न सकिन्छ कि २०४८ सालमा नेपाली काङ्ग्रेसलाई एकमनाको सरकार मनाउने जनमत दिएको नेपाली जनताले तीन वर्षमै अर्थात् २०५१ सालमा नेकपा एमालेलाई ठूलो दलको हैसियले अल्पमतको जनमुखी सरकार बनाउन जनमत दिएको सबैले जानेकै कुरा भो ।
२०५६ सालमा पुनः नेपाली जनताले नेपाली काङ्ग्रेसलाई बहुमतको सरकार बनाउने जनमत दिएकाकारण पनि यो भन्न सकिन्छ कि नेपाली मतदाताहरूले मत फेरि रहन्छन् तर मन भने नफेर्दा रहेनछन् । मन त आ–आफ्नै ठाउँमा राखेका रहेछन् । नत्र २०६४ मा नेकपा माओवादीलाई ठूलो दल बनाउन मतदान गरेका नेपाली जनताले २०७० सालमा नेपाली काङ्ग्रेसलाई पहिलो दल बनाउन मत त फेरे तर मन नफेरेको ज्वलन्त प्रमाण काफी छ ।
२०७४ सालमा नेकपा एमाले र नेकपा एमाओवादी दलले गर्भे गठबन्धन गरेर निर्वाचनमा जाँदा करिव करिव दुई तिहाई नजिक पुगेका थिए । जनमतको कदर कति समयसम्म भयो त ? बहुमतको ओली सरकार करिव साढे तीन वर्षमात्र टिक्यो । निर्वाचित सरकार पाँचै वर्ष टिकेको नेपालमा इतिहास छैन ।
नेपालभरिका निर्वाचित बामपन्थीहरूको मत ६४ प्रतिशत् पुगेको देखिन्छ । तर २०७९ को संघ र प्रदेशको निर्वाचन हुँदा बामपन्थीहरूले संघीय संसदमा अघिल्लो निर्वाचनमा प्राप्त गरेको मतभन्दा करिव २० प्रतिशत गुमाईसकेका थिए । तैपनि समानुपातिक मततर्फ एमाले पहिलो पार्टी बनेको थियो ।
बामपन्थीहरूको क्षयीकरणलाई २०८२ को आपतकालीन मध्यावधि निर्वाचनले थप मलजल गरेको ढाँटेर ढाँटिन्न । यतिकुरा गरुञ्जेल भन्न सकिन्छ नेपाली जनताहरू उही हुन् । २०१५ मा मतदान गर्नेहरूले समेत यसपालि मतदान गरेका छन् । संख्या कम छ तर मतदाता भने थपघट भइरहेका छन् । उनीहरूले कहिले काङग्रेसलाई, कहिले पञ्चायतलाई, कहिले एमालेलाई, कहिले माओवादीलाई मतदान गरेकै हुन् ।
यहाँ मत हाल्ने अन्य देशका आयातित जनता त हैनन् । देशकै जनताका मत फेरिएका छन् । यतिबेला मत फेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिव दुई तिहाइका नजिक पुराएका छन् नेपाली जनताले । कारण, अवस्था, परिस्थिति र परिवेश फरक होलान् तर चुपचाप मत फेरेकै हुन् । यो कुरालाई स्वीकार्नुको विकल्प कसैसँग छैन ।
निर्वाचनको अभियानमा भेटिएका एक दुईवटा दृष्टान्त पेश गर्न मन लाग्यो । यसपालिको निर्वाचनमा जनताको घरदैलोमा पुराना भनिएका नेता, कार्यकर्ता मतदाता कहाँ जाँदा जनताहरूले खासै प्रश्न गरेनन् । न राखे कुनै जिज्ञासा । ‘हजुरहरूलाई त हो सधैं मत दिने, यसपालि पनि फरक पर्दैन । ढुक्क भए हुन्छ भने’ ।
प्रश्न र जिज्ञासा नराखेको कारण मतदाताहरूले मत बदल्न सक्ने अनुमान थियो । सत्य प्रमाणित भयो । सकेसम्म मतदाताहरूले पुराना भनिएका पार्टीका उम्मेदवार, नेता, कार्यकर्ताहरू आफूहरूसँग मत माग्न नआए हुन्थ्यो र बोल्न नपरे हुन्थ्यो भन्ने अवस्थामा भेटिन्थे । उनीहरूको मनोविज्ञान अध्ययन गर्दा त्यस्तो देखिन्थ्यो ।
सबैले सामाजिक सञ्जाल हेरेर आफ्नो मतको ठेगान लगाईसकेको एकीन गर्न सकिन्थ्यो । पहिलाको निर्वाचनमा जस्तो हार्दिकता समेत भेटिएन यसपालि । बस्नुस, चिया, पानी, मोही के पिउनु हुन्छ भनेर सोधनी र गुन्द्री दछ्याउने चलन समेत ग्रामीण क्षेत्रमा हराएझैं लाग्यो । यी सबै परिवेशले अनुमान लगाउन सकिन्थ्यो कि जनताहरूले यसपालि मत फेर्दैछन् ।
कारणले परिणाम दिन्छ । यतिबेला परिणाम रास्वपाको पोल्टामा देखिन्छ । अकारण यो परिणाम आएको कसैले देख्छ भने उसलाई रतन्धो वा जलविन्दू लागेको ठोकुवा गर्न सकिन्छ । यो परिणामलाई केहीले सुनामी आएको भने । कसैले आँधीहूरी आयो भने । कसैले लहरै आयो भनेर तर्किने बाटो रोजे । जसले जे भनून् ।
अकारण यो परिणाम पक्कै आएको होइन । २०४८ सालमा मतदान गर्नेहरूले २०५१ म आउँदा फरक चिन्हमा मतदान गरे । २०६४ मा मतदान गर्नेले २०७० मा आउँदा मत बदले । करिव करिव जनता उही हुन् । यसैले पनि भन्न सकिन्छ मत बदल्ने जनताहरू नेपालमा धेरै छन् । विकसित राष्ट्रहरूमा मत बदल्ने चलन नै छ । उनीहरूले पार्टी वा नेताले उठान गर्ने मुद्दामा केन्द्रीत भएरमात्र मत बदल्छन् । नेताका अनुहार हेरेर मत बदल्दैनन् ।
यतिबेला नेपाली जनताहरूले नयाँ भनिएका पार्टीका वा नेताका मुहार हेरेर वा मुद्दा हेरेर मत बदलेका हुन त ? गाँठी प्रश्न यही हो । मन बदलेकै हुन् त पुराना पार्टीका शुभचिन्तक वा समर्थकहरूले ?
नेता र कार्यकर्ताहरूले ? पछिल्लो मतगणना अनुसार समानुपातिक मतमा काङ्ग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीले आफ्ना क्रियाशील वा संगठित सदस्यभन्दा बढी मत त ल्याएकै छन् । त्यसो भए कसले फे¥यो त मत ?
प्रष्ट भन्न सकिन्छ कि शुभचिन्तक र समर्थकहरूले यसपालि चुपचाप घण्टीमा छाप भन्ने नारालाई सार्थक तुल्याइदिए । शुभचिन्तक र समर्थकहरूलाई मतदानमा करकाप गर्न सम्भव छैन । उनीहरूको इच्छा नै सर्वेसर्वा हुने गर्छ । केही मत नेता र कार्यकर्ताहरूले पनि िमसाइदिएपनि होलान् । यसलाई समीक्षाको विषयमा छाडौं ।
विगतले वर्तमान र वर्तमानले भविष्यको निर्धारण गर्न सजिलो बनाउँछ । भनिन्छ–यो पनि सत्य हो, भविष्य त इतिहासको गर्भबाट सुरु हुन्छ । त्यसो भए यो पटक गरिएको मतदान आगामी निर्वाचनमा फेरि बदलिन्छ ?
पुराना पार्टीका नेता, कार्यकर्ताहरू भन्दैछन्–मत मात्र बदलिएको हो, मतदाताको मन बदलिएको छैन र हैनपनि । त्यसो भए मतदाताले फेरि पुरानै वा नयाँ भनिएका भन्दा साँचिक्कै नयाँ पार्टीलाई नै मत बदल्छन् त ?
अहिले मत बदल्ने शुभचिन्तक वा समर्थकहरूलाई मन नबदल्ने र पुनः आफ्नै पार्टीप्रति मतदान गर्न सक्ने कसरी बनाउन सकिएला त ? छ यसको कुनै अचूक उपाय वा औषधी पुराना भनिएका पार्टीहरूसँग ?
पुराना भनिएका पार्टीका नीति, नेतृत्व बदलिएमा मतदाताहरूले मत फेरे पनि मन नफेर्लान् त ? उनीहरूले आम शुभचिन्तक र समर्थकहरूसँग लम्पसार परेर माफी मागेमा मन नबदल्लान् त ? आइन्दा गल्ति दोहोराउने छैनौ भनेर कान समाएर उठबस गरेमा शुभचिन्तक र समर्थकहरूले मत फेरे पनि मन नफेर्लान् त ?
जनताले कि यो सरकारको हनिमुन अवधि अवलोकन गरेपछि वा एक वर्षको वजेट अनि त्यसको कार्यान्वयनपछि मन बदल्ने वा नबदल्ने निर्णय लिने छन् ? यीनै विषयमाथि केन्द्रीत भई ठण्डा दिमाख लगाएर लिइने निर्णयले पक्कै पनि केही निचोड दिने छ । यतिबेला जनताले मतमात्र फेरेका हुन् ! मन फेरेका होइनन् भन्ने हो भने प्रमाण के छ ?
मन नफेरिएको नाप्ने कुनै यन्त्र छ ? आगामी निर्वाचनमा मत फर्काउने कुनै विधि, प्रक्रिया वा पद्धति छ ?
मन, माया बदल्ने कठिन हुन्छ । मत त समय अनुसार बदलिन सक्दो रहेछ । पार्टीप्रतिको मन र माया त्यति छिटो फेरिन कठिन छ । कारण लगाव, लगानी ठूलो छ । भावना र इच्छाले कहिलेकाँही मत फेर्ने बनाउन सक्छ तर मन फेर्न अन्तर्मनमा आँधीबेरी आउनैपर्छ । विचारले पखेटा हाल्नै पर्छ । विश्वासले घडेरी जमाउनै पर्छ ।