Butwal Today

आफ्नै भोट नपाउने उम्मेदवार

२८ फाल्गुन २०८२, बिहीबार
अ+
अ-
बुटवल ।  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशका केही उम्मेदवारको मत परिणाम शून्य देखियो । प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएका ८ जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेनन् ।
उनीहरूको मत परिणाम शून्य देखिएपछि कतिपय उम्मेदवारले आफैँले पनि आफ्नै चुनाव चिन्हमा मत नहालेको देखिएको छ ।
निर्वाचन आयोगका अनुसार लुम्बिनी प्रदेशमा शून्य मत पाउनेमध्ये धेरैजसो उम्मेदवार रुपन्देही क्षेत्र नं. २ का छन् । उक्त क्षेत्रमा पाँच जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेनन् ।
प्रेसर कुकर चुनाव चिन्ह पाएका विष्णुप्रसाद बस्याल, कप–प्लेट चुनाव चिन्ह पाएकी विमला भट्टराई, क्याप चुनाव चिन्ह पाएका बालकृष्ण ज्ञवाली, स्टुल चुनाव चिन्ह पाएका दिलीपकुमार सुनार तथा क्यामेरा चुनाव चिन्ह पाएका टिका बहादुर क्षेत्रीले एक मत पनि प्राप्त गर्न सकेनन् ।
रुपन्देही क्षेत्र नं. २ मा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल भारी मतान्तरसहित विजयी भएका छन् । उनले पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पराजित गरेका हुन् ।
उक्त क्षेत्रमा कुल १ लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ३०३ जनाले मतदान गरेका थिए । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा मात्र ६३ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।
यसै गरी गुल्मी क्षेत्र नं. १ बाट पनि दुई जना उम्मेदवारले शून्य मत प्राप्त गरेका छन् । बकुल्लो चुनाव चिन्ह पाएका विमल ज्ञवाली र प्रेसर कुकर चुनाव चिन्ह पाएका प्रेमप्रसाद श्रेष्ठले एक मत पनि नपाएको निर्वाचन आयोगले जनाएको छ ।
उक्त क्षेत्रमा २३ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल २९ हजार ६४२ मतसहित निर्वाचित भएका छन् ।
कपिलवस्तु जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४९ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका थिए । तीमध्ये स्वतन्त्र उम्मेदवार आशिष् शर्माले १५ हजार ८६० मत प्राप्त गरेका छन्, जुन लुम्बिनी प्रदेशका स्वतन्त्र उम्मेदवारमध्ये सम्भवतः सबैभन्दा धेरै मत हो ।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनलाल आचार्य ३४ हजार १४८ मतसहित विजयी भएका छन् । यहाँ कुल १ लाख ४७ हजार ६५९ मतदातामध्ये ९२ हजार १७ मत खसेको थियो ।
त्यसै गरी दाङका तीन निर्वाचन क्षेत्रमा १८ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा थिए । दाङ क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले ‘आँप’ चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।
उनले १ हजार ३८४ मत प्राप्त गरेका छन् । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक ४२ हजार ६०२ मतसहित विजयी भएका छन् । अन्य जिल्लामा पनि स्वतन्त्र उम्मेदवारको सङ्ख्या उल्लेख्य देखिएको छ ।
बाँकेमा ९, बर्दियामा ३, अर्घाखाँचीमा ३, नवलपरासीका दुई निर्वाचन क्षेत्रमा २३ तथा पाल्पामा ६ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । तर रुकुम पूर्व, रोल्पा र प्युठानमा भने कसैले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिएनन् ।
समग्रमा लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा निर्वाचनका लागि १९४ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका थिए । तर कपिलवस्तु क्षेत्र नं. १ का आशिष् शर्मा बाहेक अन्य १९३ जनाले आवश्यक मत प्राप्त गर्न नसक्दा उनीहरूको जमानत जफत भएको छ ।
यसबाट सङ्कलित करिब १९ लाख ३० हजार रुपैयाँ राज्य कोषमा जम्मा हुने निर्वाचन आयोगले जनाएको छ ।
कतिपय स्वतन्त्र उम्मेदवार केवल औपचारिकता पूरा गर्न, प्रचार पाउन वा अन्य राजनीतिक रणनीतिका लागि मात्र उम्मेदवारी दिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?