Butwal Today

आम निर्वाचन: कमजोर नतिजाका मुख्य कारणहरू

२६ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

नेपालको पछिल्लो निर्वाचन परिणामले देशको राजनीतिक मनोविज्ञानमा गहिरो परिवर्तन आएको सङ्केत गरेको छ ।

लामो समयदेखि राजनीतिक क्षेत्रको नेतृत्व गर्दै आएका परम्परागत दलहरूले अपेक्षित परिणाम हासिल गर्न सकेनन् भने नयाँ राजनीतिक शक्तिले उल्लेखनीय जनसमर्थन प्राप्त गरेका छन् ।

यो परिणामलाई केवल चुनावी अङ्कगणितको आधारमा मात्र बुझ्न सकिँदैन । यसको पछाडि राजनीतिक असन्तुष्टि, सामाजिक चेतनाको उभार, दलभित्रको संरचनात्मक कमजोरी र मतदाताको मनोवैज्ञानिक परिवर्तन जस्ता बहु आयामिक कारणहरू सक्रिय देखिन्छन् ।

जेनजी आन्दोलन र त्यसको प्रभावः

भदौ २३ बाट सुरु भएको भनिएको जेनजी युवा आन्दोलन प्रारम्भमा सामाजिक–राजनीतिक चेतनाको सकारात्मक अभिव्यक्तिका रूपमा देखिएको थियो । १२ देखि २८ वर्ष उमेर समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी, सुशासन र सामाजिक न्यायका मुद्दा उठाउँदै आन्दोलन सुरु गरेका थिए ।

आन्दोलनको सुरुवात प्रतीकात्मक रूपमा प्रहरीलाई फूल दिने कार्यक्रमबाट भएको थियो, जसले शान्तिपूर्ण प्रतिरोधको सङ्केत दिएको थियो । तर, घटनाक्रम छिट्टै जटिल बन्दै गयो । आन्दोलनका क्रममा केही युवा विद्यार्थीको ज्यान गयो र धेरै घाइते भए, जसले समाजमा गहिरो भावनात्मक प्रतिक्रिया पैदा ग¥यो ।

भदौ २४ मा आन्दोलन हिंसात्मक मोडतर्फ गएको घटनाले जनधनको ठूलो क्षति निम्त्यायो । प्रहरीको मृत्यु भयो, सर्वसाधारणले ज्यान गुमाए र सार्वजनिक सम्पत्तिमा व्यापक क्षति पुग्यो ।

सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत जस्ता राज्यका संवेदनशील संरचनामाथि आक्रमण हुनु राज्य व्यवस्थाका लागि गम्भीर चुनौतीका रूपमा देखियो । कैदी बन्दी छुट्नु, व्यापारिक क्षेत्र तहसनहस हुनु र विभिन्न राजनीतिक दलका कार्यालय तथा नेताहरूका घरमा तोडफोड हुनु जस्ता घटनाले आन्दोलनभित्र संगठित घुसपैठ वा विध्वंसकारी तत्वको संलग्नता रहेको आशंका पनि जन्मायो ।

यस घटनापछि देश एक प्रकारको राजनीतिक शून्यताको अवस्थातर्फ गयो । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने प्रश्न प्रमुख विषय बन्यो । यही बहसका क्रममा संसद विघटन गरी नयाँ जनादेशमा जाने प्रस्ताव अघि आयो र अन्ततः निर्वाचनमार्फत जनमत परीक्षण गर्ने निष्कर्षतर्फ देश अघि बढ्यो ।

दलभित्रको असन्तुष्टि र संगठनात्मक कमजोरीः 

चुनावको पूर्व सन्ध्यामा प्रमुख राजनीतिक दलहरूभित्र देखिएको असन्तुष्टि पनि कमजोर परिणामको एउटा महत्त्वपूर्ण कारण बन्यो । विशेष गरी नेकपा एमालेको महाधिवेशन र नेपाली कांग्रेसको विशेष महाधिवेशन जस्ता आन्तरिक प्रक्रियाले धेरै कार्यकर्ताको अपेक्षा सम्बोधन गर्न सकेनन् ।

यसले संगठनभित्र उत्साह घटायो र धेरै कार्यकर्तामा चुनावी अभियानप्रति उत्साहभन्दा बढी द्विविधा देखियो । जब दलभित्र शक्ति–सन्तुलन स्पष्ट हुँदैन, त्यसको प्रत्यक्ष असर चुनावी अभियान, मतदाता परिचालन र संगठनात्मक गतिशीलतामा पर्छ ।

रणनीतिक अस्पष्टता र राजनीतिक द्विविधाः 
यस चुनावमा केही दलहरूको राजनीतिक रणनीति पनि स्पष्ट देखिएन । उदाहरणका लागि संसद पुनर्स्थापनाको माग राख्दै चुनावमा सहभागी हुनु राजनीतिक रूपमा द्विविधापूर्ण सन्देश जस्तो देखियो ।

यसले मतदातामा एउटा तार्किक प्रश्न जन्मायो—यदि संसद पुनस्र्थापना नै समाधान हो भने चुनाव किन ? यदि चुनावमार्फत नयाँ जनादेश लिने हो भने संसद पुनर्स्थापनाको माग किन ? यस्तो दोहोरो सन्देशले दलहरूको रणनीतिक विश्वसनीयता कमजोर बनायो ।

गलत राजनीतिक अनुमान: 
कतिपय दलहरूले राजनीतिक परिस्थितिको मूल्याङ्कनमा गम्भीर भूल गरे । भदौ २४ को हिंसात्मक घटनालाई प्रमुख चुनावी मुद्दा बनाएर जनतामाझ जाँदा राम्रै मत प्राप्त हुने अनुमान गरिएको थियो ।

केही विश्लेषणमा यसले करिब ४० प्रतिशतसम्म मत प्राप्त गर्ने अपेक्षा गरिएको थियो । तर चुनावी परिणामले यस्तो अनुमान यथार्थसँग मेल नखाने देखायो । यसले एउटा महत्त्वपूर्ण राजनीतिक सङ्केत दियो—नेपालको मतदाता अब स्थिर राजनीतिक ब्लकमा सीमित रहने अवस्थामा छैन । मतदाताहरू परिस्थिति, मुद्दा र नेतृत्वको विश्वसनीयताको आधारमा विकल्प खोज्ने दिशामा उन्मुख देखिन्छन् ।

नेतृत्वको प्रश्न र आन्तरिक शक्ति–सन्तुलन

नेपाली काङ्ग्रेसभित्र पनि नेतृत्वको प्रश्नले राजनीतिक प्रभाव पारेको देखियो । आन्दोलनको म्यान्डेटसहित नयाँ नेतृत्वलाई अघि सार्ने प्रयास भए पनि संस्थापन पक्षको पुरानो नेतृत्वको विरासतलाई पर्याप्त सम्मान नगरिएको सन्देश गएको विश्लेषण भइरहेको छ ।

विशेष गरी शेरवहादुर देउवाको राजनीतिक लेगेसीलाई अलग गरिएको जस्तो देखिनुले पार्टीभित्रै आन्तरिक असन्तुलनको सङ्केत दिएको तर्क पनि गरिएको छ ।

पुरानो नेतृत्वप्रति बढ्दो असन्तोष
जनतामा पुराना दल र नेतृत्वप्रति बढ्दो असन्तोष यस चुनावमा स्पष्ट रूपमा देखियो । राजनीतिक स्थिरता, सुशासन, रोजगारी र जवाफदेहिताका मुद्दाहरू लामो समयसम्म समाधान नहुँदा मतदातामा निराशा बढेको थियो । यसले “नयाँ अनुहार” र “नयाँ राजनीतिक शैली” खोज्ने प्रवृत्तिलाई बलियो बनायो ।

आन्दोलन र पार्टीबीचको सम्बन्धको भ्रमः 
जेनजी आन्दोलन मूलतः सामाजिक–राजनीतिक चेतनाको अभिव्यक्ति थियो । तर धेरै मतदाताले यसलाई सीधै नयाँ राजनीतिक शक्तिसँग जोडेर हेरेका देखिन्छन् । परिणामस्वरूप कतिपय स्थानमा मतदाताको निर्णय भावनात्मक प्रभावमा आधारित भएको देखिन्छ ।

यस परिस्थितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय राजनीतिक लाभ लिन सफल भयो । युवाहरूको असन्तुष्टि, परिवर्तनको आकांक्षा र पुरानो राजनीतिक संरचनाप्रतिको निराशालाई आफ्नो पक्षमा रूपान्तरण गर्दै उक्त दलले व्यापक जनसमर्थन प्राप्त ग¥यो ।

मधेसवादी दलहरूको कमजोर अवस्थाः
यो निर्वाचनको अर्को महत्त्वपूर्ण पक्ष भनेको मधेसवादी दलहरूको कमजोर प्रदर्शन पनि हो । लामो समयदेखि मधेसको अधिकार, प्रतिनिधित्व र पहिचानका मुद्दा उठाउँदै आएका दलहरू चुनावी परिणाममा उल्लेखनीय रूपमा कमजोर देखिए ।

यसको एउटा कारण के पनि मानिएको छ भने ती दलहरू सत्ता बाहिर हुँदा मधेसका मुद्दा जोडदार रूपमा उठाउने तर सत्ता प्राप्त गरेपछि ती मुद्दा ओझेलमा पार्ने प्रवृत्ति देखिएको आरोप जनस्तरमा बलियो बन्दै गएको थियो । परिणामस्वरूप मधेसकै मतदाताले वैकल्पिक राजनीतिक शक्तितर्फ झुकाव देखाएको विश्लेषण पनि गरिएको छ ।

वैकल्पिक राजनीतिबारे मूल प्रश्नः 
यद्यपि नयाँ नाम वा नयाँ अनुहार मात्रले दीर्घकालीन वैकल्पिक राजनीति निर्माण हुँदैन । वास्तविक राजनीतिक विकल्प बन्नका लागि केही संरचनात्मक प्रश्नहरूको स्पष्ट उत्तर आवश्यक हुन्छ । ती यस प्रकार छन ।

संघीय संरचनामा के सुधार गर्ने ? प्रदेश र स्थानीय तहको अधिकार कसरी पुनःपरिभाषित गर्ने ? समानुपातिक प्रणालीको दुरूपयोग कसरी रोक्ने ? प्रधानमन्त्री र संसदबीचको शक्ति सन्तुलन कसरी सुनिश्चित गर्ने ?

संवैधानिक निकायलाई दलगत प्रभावबाट कसरी मुक्त गर्ने ? यी प्रश्नहरूमा स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोण बिना कुनै पनि राजनीतिक शक्ति स्थायी विकल्प बन्न सक्दैन । यस निर्वाचनले नेपाली समाजमा परिवर्तनको गहिरो आकांक्षा रहेको देखाएको छ । तर, परिवर्तन केवल सत्ता परिवर्तनबाट मात्र सम्भव हुँदैन ।

राजनीतिक संस्कृति, संस्थागत सुधार, नीति स्पष्टता र जवाफदेहितामूलक शासन प्रणाली निर्माण गर्न सके मात्र लोकतान्त्रिक अपेक्षा पूरा हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?