© 2026
सर्सर्ती हेर्दा यतिबेला देश घन्टीमय देखिएको छ । पुराना दलहरूप्रति भोट मार्फत जनताले बदला लिएको देखिन्छ । नचिताएको चुनावी परिणम रास्वपा नामको दलमा प्राप्त हुन पुगेको छ ।
यसो हो भने के नेपाली जनतामा सबै भोटर्सले राजनीति गरेका हुन ? रास्वपा छनौट के राजनीतिक छनौट हो ? के यो बाहिर भनिएजस्तै सुझबुझकै मत र छनौट हो ? के साँच्चै रास्वपाले जितेकै हो ?
रास्वपा पार्टीलाई अत्यधिक मत बिभिन्न कारणले परेकोमात्र हो । रास्वपाको जित र हारको कसी त बाँकी नै छ । जब यो सत्तामा जान्छ, सरकार बनाउँछ । काम गर्न शुरु गर्छ, अनि थाहा लाग्छ जित र हार ।
नेपाली जनताको चाहना अनुसार कुसल ढंगले सफल भयो भने बल्ल हुन्छ यो दलको जित । नामै नसुनेको उम्मेदवारले जितेको छ । राजनीति नै नगरेकोले बिजय लिएको छ ।
पार्टीको नामै थाहा नभएतापनि घण्टीलाई भोट हाल्ने अत्यधिक छन् । हाल विश्व समाज फेक ढङ्गले चलिरहेको छ । सामाजिक सतहमा जे जे देखापरिरहेका छन् । जुन–जुन ढंगले देखापरेका छन् । त्यो करीब सबै सत्य होइनन् । जे सत्य हो त्यो सामाजिक सतहमा देखिँदैनन् । देखा पर्दैनन् वा देखिन पाउँदैनन् वा देखिन दिइँदैन ।
समाज हावाको भरमा हुँइकिरहेछ । कुनैपनि क्षेत्रमा गहन लेखाजोखा, चिरफार, विमर्श, बुद्धि, विवेक र सत्य तथ्यको प्रयोग भएको देखिँदैन । यो अवस्था सबैभन्दा बढी राजनीतिमा देखिँदै आएको छ ।
यतिबेला रास्वपा नाम गरेको पार्टीमा ठूलो जनमत देखिन्छ । यो रास्वपालाई जिताएको भन्दा पनि अरू पुराना दलहरूलाई हराएका हुन । पुराना दलहरूप्रतिको कडा आक्रोश हो । यस्ता मतको थुप्रोहरू सधै फेरबदल भैरहन्छ ।
मतको थुप्रोमा अचेत, अर्धचेत, सचेत सबै हुन्छन् । यसर्थ यो टिकाउ हुँदैन । यो देशमा यस अघिपनि नजितेको पार्टी कुन छ त ? सबैले जितेकै हुन । तसर्थ रास्वपा पनि अहिले जित्ने ठुलो कुरा होइन । टिक्ने ठूलो र महत्वपुर्ण कुरा हो । यसमा पार्टीको स्वरूपदेखि धेरै कमजोरीहरू र अभावहरू अवश्य छन् ।
पार्टी बन्ने सर्त:
रास्वपा, घन्टी र बालेन–रवि त्यो पार्टीको पर्यायवाची जस्तो बनेको देखिन्छ । दुनिया भ्रममा दौडिरहेको छ । पार्टी मान्छेको थुप्रोले बन्ने होइन । पार्टी अल्गोरिदमको प्रभावले र डिजिटल माध्यमले बन्ने होइन ।
पार्टी फेसबुक र युट्युबको भिडियो फोटो र फेक सामग्रीमा निकै ठूलो संख्याको लाइक, कमेन्ट र भ्युजले बन्ने होइन । जति धेरै यो शैलीले पार्टीको नाममा पार्टी बन्छ । उति धेरै खोक्रो भयो भनेर बुझे हुन्छ । यद्यपी मान्छेको भीडभाड हुनसक्छ ।
पार्टी वा राजनीतिक दल त सिद्धान्तले बन्छ । विचारले बन्छ । दर्शनले बन्छ । बौद्धिक तथा वैचारिकीको कार्यनीति तथा रणनीतिले बन्छ । सहि र परिपक्क विवेकको नेतृत्व वा नेताहरू र क्रिटिकल ढंगले अध्ययन, अनुसन्धान, विश्लेषण र संश्लेषण गर्ने नेताहरूले वा नेतृत्वले बन्छ । पार्टी त्यही तहका कार्यकर्ताले बन्छ पार्टी ।
पार्टी बन्नलाई निकै ठूलो त्याग, तपस्या, लगानी र कठिन संघर्ष, खटाई र सिद्धान्त र दर्शनप्रतिको निरन्तर लक्ष्य चाहिन्छ । रास्वपा नामको पार्टीमा यो कुनै पक्षहरू छैन । न त नेता नै छन् । जनता, भूगोल, बस्ती, क्षेत्र, लिङ्ग, भाषा, समुदाय, संस्कृति, हावापानी, रहनसहन आदिसँग कहिल्यै कुनै अन्तरक्रिया नभएको मान्छेको सतही थुप्रोले पार्टी बन्छ ?
ती पक्षहरूसँग परिचित नभएको, अनुभवले नखारिएको, सम्पर्क नभएको, देखाभेट नभएको संगठनले पार्टी बन्छ ? यो कुनै अज्ञान ढंगले जम्मा भएको केही उद्देश्य प्राप्तको मनोविज्ञान बोकेको एउटा संगठन हुन सक्छ ।
राजनीतिक पार्टी हुन सक्दैन । अन्य पार्टीहरूका कमजोरीले, असन्तुष्टीले र बिभिन्न कारणले अहिले ठुलै जमात यसमा देखिएको हुनु सधैको नहुन सक्छ । राजनीतिक समालोचकहरूका अनुसार कुनै मुल्य मान्यता, नीति र दर्शनहरूको साझा सेटमा एकताबद्ध सदस्यहरू पार्टी निर्माणको सर्त हो ।
यो मान्यता नबोकेको रास्वपा केवल चुनावी संगठन भन्न मिल्दछ । एकपटक नयाँलाई हेरम, यो पटक पुरानो छोडम भनेको भरमा थुप्रिएका मान्छेका थुप्रो संख्याको बहुमत मात्र हो, समाधान नै हो भन्न सकिदैन ।
देशको माटो, गाउँबस्ती वा भूगोलमा गएर समर्थक, शुभचिन्तक कार्यकर्ता, नेता बनाउनको लागि कुनै प्रक्रिया नै नचालेको, दुःखै नगरेको, राजनीतिक अभ्यास नै नगरेको नामको पार्टी कसरी पार्टी हुन्छ ? प्राकृतिक प्रक्रियाबाट भएको जन्म र अप्राकृतिक वा आधुनिक मेसिनरी प्रक्रियाबाट र वा बतासे जन्ममा आकाश जमिन फरक हुन्छ । प्राकृतिक जन्ममा वंशाणु गुण हुन्छ । परम्पराको सुगन्ध हुन्छ । संस्कार हुन्छ । व्यवहार हुन्छ ।
धर्म, अनुशासन र सहिष्णुता हुन्छ । भावना, प्रेम, सम्मान हुन्छ । तर, अप्राकृतिक जन्ममा केही मिल्दैन । यो क्षणिक आवेग, आक्रोश, बदलाभाव, आत्मभ्रम र अधैर्यतामात्र हुन्छ । हामी रास्वपामा यहि देख्छौ। कुनै आधारभूत राजनीतिक दुःख, अभ्यास, त्याग, प्रक्रिया र जनतासँगको लामो क्रियाकलाप बिना डिजिटल, मिडिया, एप्स र अल्गोरिदमको भरमा सुखै सुखको प्रक्रियाले मान्छेको थुप्रो लागेको छ । दुःखले आर्जेको धेरै टिक्छ ।
विवेक, बुद्धि, कठिन लगानी दीर्घकालीन हुन्छ । तर, सजिलो र हावाको भरमा देखापरेको केहि पनि टिक्दैन । सिग्मण्ड फ्राइडको मनोबिश्लेषणात्मक थेउरी अनुसार लिंदा यो अचेतन र अर्धचेतन तहको थुप्रो हो । भीड हो ।
चेतनतहको अभाव देखिन्छ । कुनै किटानी निर्णय भन्दा पनि हचुवा अनुमान र अनुसारको भरमा देश, विदेशबाट समर्थन वर्षेको देखिन्छ । राजनीतिक भन्दा गैर राजनीतिकहरूको संगठन र एकता छ यसमा ।
पार्टी सदस्य नै नभएकाहरूको पार्टी बनिरहेको छ, रास्वपा । पत्रकारिता गरेको, फिल्म खेलेको, प्राविधिकको रूपमा पेशा गरेको, कलाकार भएको, वैदेशिक रोजगारी गरेको, सामाजिक कारबाही भोगेका, अन्य दलहरूबाट कारबाही भएका, बिभिन्न अवसरबादीहरू आदि आदिले पार्टीको रूपमा रास्वपा संगठित र सञ्चालित छ ।
राष्ट्रिय राजनीतिक नेता र नेतृत्वमा खारिएको नेतृत्वको अभाव छ । हुन त पुराना भनिएका पार्टीहरूले पनि विचार सिद्धान्तबाट पलायन भएर पार्टी र पोलिटिक्स दुवै नभएको अवस्था हो ।
चुनावकै प्रश्न:
हुन त निर्वाचन आफैमा समाधान होइन । नेपालमा भएको पनि छैन । चुनाव झन थपिने द्वन्द्व र समस्याको नयाँ अनुमोदन हो । चुनाव भ्रष्टाचारको गेट पास मात्र हुँदै आएको छ । नहोस् । यसो छनक र चालढङ्ग बुझ्दा निर्वाचनले मुलुकमा विद्यमान राजनीतिक थेसिसको निरूपण गर्ने देखिँदैन । हामी सोच्छौ मत पेटिकामा हरेक व्यक्तिको मत जम्मा हुन्छ ।
तर त्यसो होइन । मतपेटिकामा आशा, भरोसा, निराशा, शङ्का, डर, त्रास, घृणा, प्रेम, सम्मान, अपमान, लोभ, पक्ष, विपक्ष, नियत, बदनियत, बदला, आकांक्षा, सबै जम्मा हुन्छ । मतपेटिकाभित्र लिंग, धर्म, संस्कृति, जात, क्षेत्र, कृपा, नाता, चेतना, अचेतना, अर्धचेतना, खर्च, बेखर्च, लगानि, प्रतिफल आदि सबै जम्मा हुन्छन् ।
तसर्थ मतपेटिकाबाट बाहिर निस्केपछि ती पक्षहरू विभिन्न ढंगले देखापर्छन् । सरकार चलाउँछन् । सत्तापक्ष र प्रतिपक्ष बन्छन् । विरोधी बन्छन् । कित्ताहरूमा बाँडिन्छन् । विभिन्न खेलहरू सुरु हुन्छन् । द्वन्द्व र टकराव फस्टाउँदै जान्छन् ।
देश पुनः सुन्यताको नतिजामा पुग्दै आएको इतिहास छ । पञ्चायतकाललाई छोडेर बहुदलीय व्यवस्थामा मुलुक होमिएपछि संसदीय र स्थानीय धेरै चुनाव भए । सबै दलीय घोषणापत्रमा राम्रै राम्रा कुरा थिए ।
देश बनाउने, विकास गर्ने, समृद्धि ल्याउने र सुशासन दिने नै थियो । आजसम्म निरन्तरता त्यही छ । मतलब कसैको घोषणापत्रमा पनि भ्रष्टाचार गर्छौं, अवान्छित गतिविधि गर्छौं भन्ने हुँदैन छैन ।
तर चुनाव सकिएर सरकार बनाउने सत्ताको खेल सुरु हुने बित्तिकै भ्रष्टाचारको यात्रा सुरु हुन्छ । यति बेला चेतनाको अभाव होस् वा बौद्धिक लेखाजोखाले निर्णय लिने क्षमताको अभाव होस् अर्थात् विभिन्न कारण र मनोविज्ञानले ठूलै हुल देखियो रास्वपामा । चुनाव राम्रै जितेको छ । पुरानाका सट्टा अर्को नामको नयाँ रोजे ।
एकपटक नयाँलाई हेरौं भने । सामान्य वा दुई तिहाई बहुमतको एकल सरकार गठन हुँदैछ । तत्पश्चात् सरकार चलाउने बेला परिक्षण हुँदैछ । आजसम्मका घट्नाक्रमहरूलाई साक्षी राख्ने हो भने चुनाव विश्वमै समाधान भएको देखिन्न ।
यो बडो जटिल र गम्भीर प्रश्न हो । एन्टी–इलेक्सन विचारकहरूको जिकिर छ, चुनाव समस्याको चक्रिय प्रक्रियामात्रै हो । जेनुइन, अर्थपूर्ण र उत्तरदायी प्रतिनिधित्व चयन गर्न चुनाव असफल हुन्छ ।
चुनावी भीडले सत्ताधारीहरू फेर बदलमात्र गर्ने हो । शक्तिको सार संग्रहबादमात्रै हो । समालोचकहरूले भनेजस्तो भोटिङको ब्युरोक्र्याटीक प्रकृति जनतालाई आफ्नै राजनीतिक शक्तिबाट छुट्याएर एक्लो बनाइदिने हो ।
प्रत्यक्ष सहभागीमूलक रूपको प्रजातन्त्रबाट वेवास्ता गराउने हो । क्रिटिकल थिङ्करहरू करोल प्याटम्यान, जीन बौड्रिलार्डको भनाइ अनुसार मास मिडिया र चुनावले छनौटको नक्कल सिर्जना गर्दछ ।
जहाँ पहिले नै त्यसको नतिजा अन्तनिहित वा उपलक्षित हुन्छ । केवल राजनितिक सार्वजनिक घोषणाले भोटर्सहरू तर्कहिन चेतनहिन हुन्छन् । जसले गर्दा लोकतन्त्र केवल एलिट (उच्च विशिष्ट, कुलिनवर्ग) को प्रतिस्पर्धात्मक संघर्ष मात्रै हो । विचारक जोसेफ स्कुमपेटेरको एलिटिस्ट थेउरीको अनुसार भोटिङले जनतालाई शक्तिहीन गराएर राज्य प्रशासकको पुजारी वर्ग तय गर्दछ ।
आधुनिक निर्वाचन प्रक्रिया आधारभूत रूपमै त्रुटिपूर्ण र खास क्षमतावान प्रतिनिधि छनोटमा असक्षम छ । चुनाव र मतदान प्रक्रियाले नागरिकलाई शक्तिशाली बनाउने भन्दापनि पावर संरचनालाई वैधता दिने मात्र हो । अनि कसरी हुन्छ समाधान ?
रास्वपाकै नेतृत्व सरकारले राज्यलाई सही दिशामा हाक्न परिपक्व छ ?
राष्ट्रिय अन्तर्राष्ट्रिय आवश्यक नीति, कुटनीति, रणनीति, कार्यनीति र राजनीतिमा पोख्त छ ? जबकि राजनीतिक दर्शन, विचार र गाइड लाइनको सिद्धान्त नै छैन । यसले कुन ढङ्गले अर्थनीति लागू गर्ला, पुँजीवादी, समाजवादी, युरो मोडेलको वा नयाँ प्रयोगको ? राज्य संरचना कस्तो बनाउने भन्नेमै क्लियर छैन । चुनाव जित्ने संख्याले हो ।
ब्यक्ति मतको डंगुरले हो । तर राज्य चलाउने, सरकार चलाउने र सत्ता सफल ढंगले सम्पादन गर्ने रिजन, भिजन र परिपक्क वैचारिकीले हो । चुनाव जित्नु ठूलो कुरा होइन । ठूलो थुप्रो बनाउनु महत्वपूर्ण कुरा होइन । त्यो कति टिक्छ, कति सफल हुन्छ र कति सार्थक र अस्तित्वमा रहिरहन्छ भन्ने प्रश्न महत्वपूर्ण हो । यो अब परीक्षा हलभित्र बल्ल प्रबेश गर्दैछ ।
पार्टी दुनियाभरका आए । क्षणिक विजय र हल्लाखल्ला तमामले देखाए । तर खपाउ र टिकाउ भएको देखिँदैन । दिल्लीमा केजरीवाल यस्तै रूपमा थियो दशक पहिला । बाबुराम भट्टराईले पनि नयाँ दल नयाँ शक्ति खोले । तर आज बेहाल छ । एउटा भनाइ छ जेठा मामाको त यो गति कान्छा मामाको कुन गति ?
पुराना राजनीतिक दलहरूले जीवनको धेरै लगानी गरे । त्याग तपस्या गरे । बुद्धि विवेक खियाए । घर छोडेर देशैभरि संगठन निर्माणमा खुल्ला हिँडे । भूमिगत भए । घरपरिवार त्यागे । नातागोता छोडेर लागे । कठिन संघर्ष र चरम यातना भोगे । जेल नेल खाए । समाजको सबै समेटिने विभिन्न जनवर्गीय र भातृ संगठन बनाए ।
तैपनि आज आएर यस्तो मति र गति छ । दुर्दशा र दुर्गति छ । यो केहिपनि विशेषता नभएको, चरण पार नगरेको र त्याग तपस्या तथा बलिदान नभएको रास्वपामा कुन गति होला ? के गर्ला ? कति टिक्ला ?