© 2026
कहिलेकाही लाग्छ जिवनमा पैसा भन्दा ठुलो कुरा केही रहेनछ । मेरी हजुरआमाले भन्नुहुन्थ्यो , एक पैसा कमाए पनि आफुले कमाए जस्तो हुदैन नानी । आज पनि यो कुरा म झलझल्ती सम्झिन्छु । मलाई लाग्थ्यो हजुर आमाले के भनेको होला । हजुरवुवा पल्टनको लाहुरे ।
घरखर्च ,छोरा छोरी पढाउन आफुलाई खर्च गर्न पुगेकै त छ होला यसै दुखेसो गर्ने । महिलाको काम नै गुनासो गर्ने मात्रै होकी क्या हो जस्तो लाग्थ्यो। पल्टनमा परिवार छोडेर जान संघर्ष गर्न पनि त सुख छैन नी मनमनै भन्थे । तर यस्ता कुरा गर्न बुझ्न मलाई असाध्यै मन पथ्र्यो ।
समयले कोल्टो फेर्यो हजुरआमाको संघर्ष संगै गुनासो गर्ने उमेरमा म पनि आईपुगेछु । विवाह भएपछि सबै जिम्मेवारी पुरुषले उठाउछन् भन्ने मानसिकता म मा पनि हावी थियो । पढे । मास्टर गरेकी पनि छु् । तर आर्थिक उपार्जनको संघर्ष गर्नतिर मेरो मन गएन ।
छोरा छोरी पाए, हुर्काए । यि कामको कुनै मुल्यांकन छैन । दिनभरी कामको काम हुन्छ । हात एकछिन खाली हुदैन। तर काम देखिदैन । आवश्यक परेको बेला खर्च गर्न पैसा माग्यो हिसाब बुझाउन पर्छ । मन लागेको खान लाउन साथीभाईलाई उपहार दिन मैले ७ पटक सोच्न पर्छ । अनि हिसाव मिलान गर्नसक्नुपर्छ । आजभोली मैले मेरी हजुरआमालाई पटक पटक सम्झिन्छु । कमाई त आफ्नो हातको प्यारो हुदो रैछ ।
मैले किन पैसा कमाउनुपर्छ भन्नेतिर अलिकति पनि ध्यान दिन सकिनहोला ? तिमी त जागिरे छौ, आफ्नो मनलागेको खर्च गर्न त कुनै रोकतोक हुदैन होला ? यतिकुरा गर्दै आखा रसिला बनाईन् करिब १३ बर्षपछि भेटिएकी साथी सरिताले । ल यस्ताकुरा जति गरेपनि सकिदैनन् आफ्नो दुख आफैसंग छ । छोरीलाई चाही पैसा कमाउन सक्ने बनाएर मात्रै विवाह गरिदिने विचारमा छु । तिमी नि आउनुपर्छ । अहिले गए है ।
फेरि भेटेर गफ गर्ने बाचा सहित सरिता आप्mनो बाटो लागेपछि मेरो मनमा अनेक कुराहरु खेल्नथाले । यो त सरिताको मात्रै दुखको कुरा होईन आज पनि महिलाहरु आर्थिक संकटबाट गुज्रिएकै छन् । सम्पत्तिमाथिको अधिकार स्वीकार गर्न न समाजले सकेको छ न परिवारले नै सकेको छ । हिजो हजुरआमाहरु बोल्न सक्नुभएन तर आज नातिनीहरु बोल्न सक्नेहुदा पनि अझै थिचोमिचोमा रुमलिन बाध्य छन् ।
सरिताको कुराले सम्पत्ती जीवनमा कति महत्वपुर्ण छ भन्ने भाव झल्किन्छ । आज पनि महिलाले गर्ने हरेक कामको लेखाजोखा नै छैन भन्दा पनि फरक पर्देन । केही मात्रामा महिला आर्थिक उपार्जनमा लागेका छन् । सफल पनि भएका छन् ,तर आर्थिक समानताका कुरा गरिरहदा घरायसी कामको समानता हुन सकेको छैन । आर्थिक उपार्जनमा लागेका महिलाहरु दोहोरो तेहोरो भुमिकामा बाधिएका छन् ।
बिहान ४ बजे उठेर छोराछोरी स्कुल पठाएर ,आफुले गर्ने दैनिक काम सकेरमात्रै भएपनि उनीहरु आफ्नो काममा निस्किने गरेका छन् । यसले महिलाहरुमा शारीरिक थकान बढीहुन्छ । आर्थिक मितव्ययीताका लागि यो बाध्यात्मक परिस्थिती हो । नेपालका सबै परिवारमा त भन्न नमिल्ला तर अधिकांश परिवारमा महिलाले भोग्ने नियती यही नै हो ।
यो प्रसंग आजै उठान गर्नुको उदेश्य भने आज मनाउन लागिएको अन्र्तराष्ट्रिय महिला दिवस वा ८ मार्च बिशेष भएर पनि हो । हो, अन्र्तराष्ट्रिय महिला दिवस, ८ मार्च महिलाको श्रम ,आर्थिक शसक्तीकरण र मताधिकार संग जोडिएको छ ।
आज देश बिदेशमा ११६ औं महिला दिवस मनाईरहदा पनि हामी महिला हिंसाको अन्त्य , महिला समानता , लैगिंक बिभेदको अन्त्यको माग गरिरहेका छौ , बिडम्बना आज भन्दा ११६ बर्षदेखि उठाएको मुद्धा वा समस्या अझै समाधान उन्मुख छैनन् भन्दा फरक नपर्ला । न्याय र समानताका कुरा महिलाले मात्रै नभएर राज्यले पनि उठाउने बिषय हो ।
यस बर्ष २०८२ का लागी नेपालमा “सबै महिला र बालिकाको लागि अधिकार,न्याय र कार्य सहितको अवसर” भन्ने नारा सहित यो दिवस बिभिन्न कार्यक्रम गरि मनाईदै छ । यही नाराको सारलाई हेर्दा पनि अब नेपालका महिला र बालिकालाई न्याय र कार्य सहितको अवसर चाहिएको हो, नकी कागजमा मात्रै आएको अधिकारको कुनै अर्थ देखिदैन ।
आजको २१ औं शताब्दीमा आईपुग्दा पनि पितृसत्तात्मक सोच,अशिक्षा, गरिबी विभेदपुर्ण कानुनका कारण पनि प्रताडित छन् महिला । जबरजस्ती करणी , यौन दुर्वयवहार , घरेलु हिंसा ,सामाजिक हिंसा,दाईजो प्रथा ,जस्ता अमानवीय व्यवहार सहन बाध्य छन् नेपाली महिला । कोही सहन सक्ने जति सहेर पछिमात्रै बाहिर आउने गरेका छन् , कोही त समाजमा इज्जत जाने डरले आफ्नो सुन्दर जीवनलाई अभिसाप बनाईरहेका छन् ।
कहिलेदेखि मनाउन थालियो अन्तराष्ट्रिय महिला दिवस:
अमेरिकाको न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै: काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो ।
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरिको अन्तिम आइतबारको दिन मनाउन थालियो।
१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तराष्ट्रिय मान्यता प्राप्त भयो। त्यस समय यसको प्रमुख उदेश्य महिलाहरूलाई मताधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन।
सन् १९१० मा भएको महिलावादी आन्दोलन संगै १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो।
महिला दिवस सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डमा मनाइएको थियो। जर्मनीकी क्लारा जेटकिन अन्तर्राष्ट्रिय नारी दिवसकी प्रणेता मानिन्छिन्। सन् १९१० मा कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा उनले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने प्रस्ताव राखिन्। उनको प्रस्ताव सर्वसम्मत स्वीकृत भयो। १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउन थालिएको पाइन्छ।
यसपछि विभिन्न देशले आआफ्नै तरिकाले ८ मार्चमा नारी दिवस मनाउन थाले। नारी दिवस औपचारिक रूपमा अन्तर्राष्ट्रिय बन्न पुगेकोचाहिँ सन् १९७५ मा हो। त्यस वर्ष संयुक्त राष्ट्रसंघले उक्त दिवस मनाउन थालेको थियो। राष्ट्रसंघले नारी दिवसको पहिलो नारा ‘सेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् ‘विगतलाई उत्सवका रूपमा मनाउने र भविष्यको योजना बनाउन’ भन्ने राखेको थियो।
सन् १९११ देखि अमेरिकाबाहेकका विश्वका अन्य देशमा र सन् १९७५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो। श्रम, मताधिकार र राजनिति बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।
नेपालमा शुरुवात:
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय नारी दिवस भने प्रजातन्त्र आएको ८ वर्षपछि अर्थात् २०१५ फागुन (सन् १९५९ को मार्च ८) मा मनाइएको थियो। त्यतिबेला ‘अखिल नेपाल महिला संघ’ र ‘वुमेन भोलिन्टियर्स सर्भिस’ र अन्य नारी संघसंस्थाहरूले समेत अलगअलग ठाउँमा कार्यक्रम आयोजना गरी पहिलोपटक अन्तर्राष्ट्रिय नारी दिवस मनाएका थिए।
नारी दिवस मनाउन थाालेपछि महिलाहरुको बिभिन्न कार्यक्रमहरुमा सहभागिता बढ्न थालेको पाईन्छ । नेपालले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी महासन्धी,१९८१लाई अनुमोदन गरिसकेको छ।
त्यसो त नेपालको इतिहासमै पहिलो पटक संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ ले केन्द्रदेखि स्थानीय तहसम्मको संघीय संरचनामा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच स्थापित गरेको छ। तर स्थापित पहुँचको पनि महिलाले स्व निर्णय गर्न सकेका छैनन,् यहाँ पनि बाधा देखिएका छन् ।
संविधानको धारा ३८ मा महिलाको हक संरक्षित गरी सो हक हनन भएको खण्डमा संवैधानिक उपचारको व्यवस्था समेत गरेको छ। व्यवहारगत रुपमा हुने हिंसालाई नियन्त्रण गर्न मुलुकी फौजदारी अपराध संहिता २०७४ मा महिला विरुद्धका कसूरलाई जघन्य कसूकोको रुपमा स्थापित गरेको छ। घरेलु हिंसा कसूर र सजाय ऐन, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन, राष्ट्रिय महिला आयोग ऐन यसका केही प्रतिनिधि ऐनहरु हुन्, जुन ऐनमा महिलाका हक अधिकार र उनीहरु विरुद्धका कार्य कसूरजन्य हुने भनी उल्लेख गरेको छ । तर पनि महिलाहरुको बिशेष अवस्थाहरु छन्। त्यतातिर राज्यको ध्यान अझै पुग्न सकेको छैन ।
नेपालको संविधान २०७२ पछि महिलाका लागि अवसर:
नेपालको इतिहासमै पहिलो पटक संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ ले केन्द्रदेखि स्थानीय तहसम्मको संघीय संरचनामा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच स्थापित गरेको छ।
संविधानको धारा ३८ मा महिलाको हक संरक्षित गरी सो हक हनन भएको खण्डमा संवैधानिक उपचारको व्यवस्था समेत गरेको छ। व्यवहारगत रुपमा हुने हिंसालाई नियन्त्रण गर्न मुलुकी फौजदारी अपराध संहिता २०७४ मा महिला विरुद्धका कसूरलाई जघन्य कसूकोको रुपमा स्थापित गरेको छ।
घरेलु हिंसा कसूर र सजाय ऐन, मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन, राष्ट्रिय महिला आयोग ऐन यसका केही प्रतिनिधि ऐनहरु हुन जुन ऐनमा महिलाका हक अधिकार र उनीहरु विरुद्धका कार्य कसूरजन्य हुने भनी बोलेको देखिन्छ।
नेपालमा नेपालको संविधान २०७२ जारी भएपछि महिलाको अधिकार, प्रतिनिधित्व र अवसरको क्षेत्रमा महत्वपूर्ण परिवर्तन आएका छन्। तर अझै पनि केही चुनौतीहरू कायम छन्। यसलाई मुख्यतः परिवर्तन र चुनौती का रूपमा हेर्न सकिन्छ।
महिलामा आएको सकारात्मक परिवर्तन,राजनीतिक प्रतिनिधित्व बढेकोसंविधानले संघ, प्रदेश र स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ। अहिले संसद र स्थानीय तहमा महिलाको संख्या पहिलेभन्दा धेरै बढेको छ।
संविधानले महिलालाई पुरुषसरह समान अधिकार दिएको छ। शिक्षा, रोजगारी, सम्पत्ति र सामाजिक सहभागितामा महिलाको अधिकार कानुनी रूपमा सुनिश्चित गरिएको छ।महिला विरुद्ध हुने हिंसा रोक्नका लागि कानुनी व्यवस्था कडा बनाइएको छ। घरेलु हिंसा, दाइजो, बालविवाह जस्ता प्रथाविरुद्ध कानुन लागू भएका छन्।
संविधानपछि सरकारी तथा गैरसरकारी क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको छ। शिक्षामा पहुँच पनि बढेको छ।राज्यका विभिन्न निकायमा महिलालाई समावेश गर्ने नीति अपनाइएका छन्, जसले निर्णय प्रक्रियामा महिलाको भूमिका बढाएको छ।
चुनौतीहरु:
तर कानुनले समान अधिकार दिए पनि व्यवहारमा महिलाले अझै विभेद भोगिरहेका छन् । घरेलु हिंसा, यौन हिंसा, दाइजो प्रथा, मानव बेचबिखन जस्ता समस्या अझै पनि चुनौतीका रूपमा रहेका छन्।धेरै महिलाहरू अझै पनि आर्थिक रूपमा आत्मनिर्भर बन्न सकेका छैनन्।
रोजगारी र आयका अवसर सीमित छन्।राजनीतिमा महिलाको संख्या बढे पनि निर्णय गर्ने तहमा प्रभावकारी भूमिका अझै सीमित देखिन्छ । परम्परागत सोच, पितृसत्तात्मक समाज र सामाजिक दबाबले महिलाको स्वतन्त्रता र अवसरलाई अझै पनि सीमित बनाइरहेको छ ।
अन्त्यमा
नेपालको संविधान २०७२ ले महिलाको अधिकारलाई कानुनी रूपमा मजबुत बनाएको छ र धेरै सकारात्मक परिवर्तन ल्याएको छ। तर वास्तविक समानता प्राप्त गर्न अझै पनि सामाजिक सोच परिवर्तन, प्रभावकारी कार्यान्वयन र महिलाको सशक्तिकरण आवश्यक देखिन्छ । अहिले सम्म स्थापित महिला अधिकार कार्यान्वयनका लागि यस्ता दिवस कोशेढुंगा सावित हुन सकुन् । ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको सबैलाई शुभकामना ।