Butwal Today

बाँके–२ बाट एमालेका मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी

२३ फाल्गुन २०८२, शनिबार
अ+
अ-

नेपालगञ्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित विजयी भएका छन् । यससँगै जारी मत परिणाममा नेकपा एमालेले आफ्नो जितको खाता पनि खोलेको छ ।

सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार विजयी उम्मेदवार राईले २४ हजार ६ सय २६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । विजयी राई र श्रेष्ठबिच ६ हजार ४५ मतको फराकिलो अन्तर रहेको छ ।

यसै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार सुधांशु कोइराला १७ हजार ५ सय ९० मतसहित तेस्रो स्थानमा रहेका छन् । रास्वपाका श्रेष्ठ र काँग्रेसका कोइरालाबिचको मतान्तर भने निकै झिनो रहेको देखिएको छ ।

त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ऋषिराज देवकोटाले १ हजार २ सय ८६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्टले १ हजार १५ मतसहित पाँचौँ स्थान हासिल गरेका छन् ।

तेस्रो पटक संसद् यात्रा

यस जितसँगै मोहम्मद इश्तियाक राई बाँके क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभामा निर्वाचित हुन सफल भएका छन् । उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट उम्मेदवार बनेर यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

निर्वाचन जितेको दुई वर्षपछि २०६७ सालमा झालनाथ खनाल नेतृत्वको सरकारमा उनी श्रम तथा यातायात व्यवस्था मन्त्री बनेका थिए। तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनले पराजय व्यहोर्नु परेको थियो ।

त्यसपछि २०७४ सालको संसदीय निर्वाचनमा पुनः बाँके–२ बाट निर्वाचित भएका राई केपी शर्मा ओली नेतृत्वको सरकारमा शहरी विकास मन्त्री बनेका थिए ।

संसद् विघटनपछि सर्वोच्च अदालतको आदेशले संसद् पुनः स्थापना भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनले केही समय भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । २०७९ सालको निर्वाचनमा भने राई जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।

चार पटक पार्टी परिवर्तन

राजनीतिक यात्रा सुरु गरेको तीन दशकको अवधिमा राईले विभिन्न पार्टी परिवर्तन पनि गरेका छन् । उनले २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए ।

२०६२–६३ को जनआन्दोलनताका उनी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए। त्यसपछि उनी पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिवसम्मको जिम्मेवारीमा पुगे।

प्रतिनिधिसभा निर्वाचन २०८२ अघि राई नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेको छोटो समयमै उनले बाँके–२ बाट चुनाव जित्दै तेस्रो पटक संसद् यात्रा तय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?