© 2026
गुल्मी २२ फागन । गुल्मीमा हुने मतगणनालाई व्यवस्थित, पारदर्शी र विवादरहित बनाउन सर्वदलीय बैठकले विभिन्न निर्णय गरेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको बैठकले मतगणना प्रक्रिया, मतपत्रको वैधता तथा बदरसम्बन्धी मापदण्ड, प्रतिनिधि व्यवस्थापन लगायत विषयमा सहमति गरेको हो।
निर्णयअनुसार मतगणना प्रतिनिधिका लागि प्रत्येक उम्मेदवारका तर्फबाट बढीमा छ वटा पास उपलब्ध गराइनेछ भने स्वतन्त्र उम्मेदवारका हकमा अधिकतम पाँच जनासम्म प्रतिनिधि बस्न पाउने व्यवस्था गरिएको छ ।
समानुपातिकतर्फ प्रत्येक दललाई छ वटा पास दिइने भए पनि मतगणना स्थलभित्र एक पटकमा एक जना मात्र प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
बैठकले मतपत्रको वैधता सम्बन्धमा पनि स्पष्ट मापदण्ड तय गरेको छ। उम्मेदवार वा दलको निर्वाचन चिन्ह रहेको कोठाभित्र स्वस्तिक छाप लगाइएको मतपत्र सदर मानिनेछ।
स्वस्तिक छापको केही भाग कोठाभित्र परेको अवस्थामा पनि मत मान्य हुने निर्णय गरिएको छ। दुई वटा चिन्ह भएको कोठामा छाप परेको भए आधाभन्दा बढी भाग जुन चिन्हतर्फ परेको छ, सोही उम्मेदवारलाई मत गणना गरिनेछ।
यस्तै, छापको छाया अर्को कोठामा परेको भए पनि स्पष्ट रूपमा परेको चिन्हलाई मत मान्यता दिइने निर्णय भएको छ। मसी सरेको वा केही भाग कोठाबाहिर परेको अवस्थामा समेत स्पष्ट मत सङ्केत भएको देखिएमा त्यस्ता मतपत्रलाई सदर मानिने व्यवस्था गरिएको छ।
तर, एउटाभन्दा बढी कोठामा मत सङ्केत गरिएको, चिन्ह बाहिर मत दिएको, चिन्ह पहिचान नहुने गरी सङ्केत गरिएको, मतपत्रमा अन्य चिन्ह वा टाँसिएको वस्तु भेटिएको तथा निर्वाचन आयोगले जारी गरेको बाहेक अन्य मतपत्र प्रयोग गरिएको अवस्थामा त्यस्ता मतपत्र बदर मानिने निर्णय गरिएको छ।
त्यस्तै सम्बन्धित मतदान अधिकृतले सही नगरेको मतपत्र, मतपत्रको कोठाबाहिर सङ्केत गरिएको मत तथा कुन चिन्हमा मत दिएको स्पष्ट नदेखिने गरी सङ्केत गरिएको मतपत्र पनि बदर हुने जनाइएको छ।
बैठकले पालिकाको एक वडामा रहेका सबै मतदान स्थलका मतपेटिकामा रहेका मतपत्र मिसाएर गणना गर्ने तथा मत सङ्केत भएका निर्वाचन चिन्हअनुसार छुट्टाएर क्रमशः मतगणना गर्ने निर्णय पनि गरेको छ ।
उक्त विषयमा मतपत्र सदर–बदर गर्ने क्रममा उठ्ने विवादमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको निर्णय अन्तिम हुने बैठकले जनाएको छ ।