© 2026
गुल्मी ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा गुल्मीमा निर्वाचन तयारीले तीव्रता पाएको छ ।
जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला स्थित चार वटै सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी अन्तिम चरणमा पु¥याएका छन् ।
निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारहरू यति बेला गाउँ गाउँमा घरदैलो अभियानमा सक्रिय छन् । मतदाताका घरघरमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै मत माग्ने क्रम चलिरहेको छ । हालसम्म जिल्लामा चुनावी गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।
दलहरूबिच कुनै प्रकारको आवेश, उत्तेजना वा आचारसंहिता विरुद्धको अवस्था नदेखिएको प्रशासनले जनाएको छ । सामान्य मौखिक उजुरी बाहेक आचारसंहिताको पूर्ण रूपमा पालना गरेको बताइएको छ ।
जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल चार लाख ९९ हजार मतपत्र आइपुगेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेका अनुसार दुई निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ दुई लाख ४६ हजार र समानुपातिकतर्फ दुई लाख ५३ हजार मतपत्र जिल्लामा आइपुगेका हुन् ।
निर्वाचन क्षेत्र नम्बर–१ का लागि दुई लाख ६९ हजार मतपत्र (प्रत्यक्ष एक लाख ३१ हजार र समानुपातिक एक लाख ३८ हजार) र क्षेत्र नम्बर–२ का लागि दुई लाख ३० हजार मतपत्र (प्रत्यक्ष र समानुपातिक दुवै एक लाख १५ हजार) उपलब्ध भएका छन् ।
प्राप्त सबै मतपत्र रुजु गरी सुरक्षित गरिएको छ । निर्वाचनका लागि आवश्यक ३६ प्रकारका सामग्रीसमेत जिल्लामा आइसकेका छन् ।
यस पटक गुल्मीमा कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन् । तीमध्ये महिला एक लाख १५ हजार २१०, पुरुष एक लाख १४ हजार ३३७ र अन्य दुई जना छन् ।
निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ र क्षेत्र नम्बर–२ मा एक लाख सात हजार ३६३ मतदाता रहेका छन् । जिल्लामा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र तोकिएका छन् भने जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचनका दिन आकस्मिक स्वास्थ्य समस्या समाधान गर्न प्रत्येक मतदान स्थलमा प्राथमिक उपचार डेस्क राखिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको पहलमा सबै स्थानीय तहलाई स्वास्थ्यकर्मी, औषधि र आवश्यक सामग्रीसहित तयारी अवस्थामा रहन पत्राचार गरिएको छ । एम्बुलेन्सलाई पनि मतदान स्थल नजिकै तयारी अवस्थामा राखिने जनाइएको छ ।
निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन फागुन १६ गतेदेखि २१ गतेसम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवनमा पूर्ण रोक लगाइने निर्णय गरिएको छ ।
सर्वदलीय बैठक तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू हुने उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त सुरक्षा गस्ती परिचालन गरिने प्रजिअ गैह्रेले बताए ।
होलीलाई मर्यादित बनाउन आग्रह
जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा (होली) पर्वलाई सांस्कृतिक मर्यादाभित्र रही सानो समूहमा मनाउन आग्रह गरेको छ । जबरजस्ती रङ लगाउने, दुर्गन्धित पानी वा सामग्री प्रयोग नगर्न तथा ठुलो जमघट नगर्न अनुरोध गरिएको छ । होलीका नाममा सामाजिक सद्भाव खलबलिने गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन तीन तहको सुरक्षा व्यवस्था मिलाइएको छ । १४५ मतदानस्थलमध्ये ४८ अति संवेदनशील, ५७ संवेदनशील र ४० सामान्य रूपमा वर्गीकरण गरिएको छ । भौगोलिक कठिनाइ, विगतका गतिविधि, सुरक्षा संवेदनशीलता लगायत आधारमा वर्गीकरण गरिएको जनाइएको छ । अति संवेदनशील स्थलको निरीक्षण समेत गरिसकिएको छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले आचारसंहिता पालनालाई निर्वाचन सफलताको मुख्य आधार भएको बताएका छन् । सदरमुकाम तम्घासमा आयोजित अभिमुखीकरण कार्यक्रममा सबै दल र उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।
निर्वाचन व्यवस्थापनका लागि जिल्लामा एक हजार ७१६ कर्मचारी परिचालन गरिएका छन् । २८५ मतदान केन्द्रमा २८५ मतदान अधिकृत, २८५ सहायक मतदान अधिकृत, ८५५ सहायक कर्मचारी र २८५ सहयोगी कर्मचारी खटाइएको छ ।
यस पटक गुल्मीमा दुई मतदान केन्द्र पूर्ण रूपमा महिलाको नेतृत्वमा सञ्चालन हुने भएका छन् । रेसुङ्गा नगरपालिका–८ स्थित सिद्ध बाबा माध्यमिक विद्यालयको “क” केन्द्र र रेसुङ्गा–५ भुवनपानीस्थित जनसहयोग माध्यमिक विद्यालयको “ख” केन्द्रमा मतदान अधिकृत सहित सबै कर्मचारी महिला रहने व्यवस्था गरिएको छ ।
यो अभ्यासले निर्वाचन प्रक्रियामा लैङ्गिक समानता र महिला सशक्तीकरणको सन्देश दिएको सरोकारवालाहरूको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले निर्वाचन अवधिमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेको अध्यक्षतामा बसेको बैठकले खाद्यान्न, औषधी, पेट्रोलियम पदार्थ लगायत सामग्रीको अभाव हुन नदिने जनाएको छ ।
व्यवसायीलाई अत्यावश्यक सामग्री मौज्दात राख्न र समस्या आएमा प्रशासनसँग समन्वय गर्न आग्रह गरिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको खुला बिक्रीमा निगरानी गरिने तथा होटल–लजमा बस्नेको विवरण अनिवार्य राख्न निर्देशन दिइएको छ ।
यसरी समग्र तयारी र समन्वयलाई हेर्दा गुल्मीमा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, व्यवस्थित र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास गरिएको छ ।