Butwal Today

कपिलवस्तु–१ को प्रतिनिधि सभा निर्वाचन: मुख्य दललाई नयाँको ‘टक्कर’

१२ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु) ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी सरगर्मी उच्च बिन्दुमा पुगेको छ ।

घरदैलो, टोलसभा, युवा भेटघाटदेखि सामाजिक सञ्जालसम्म उम्मेदवारहरूको सक्रियता बाक्लिएको छ । यस क्षेत्रको प्रतिस्पर्धा परम्परागत राजनीतिक प्रभाव र नयाँ विकल्पबिचको टकराबका रूपमा हेरिएको छ ।

यस पटक मैदानमा उत्रिएका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि, दलगत समीकरण, जातीय–सामाजिक सन्तुलन र युवा मतदाताको बढ्दो प्रभावले कपिलवस्तु–१ लाई चासोको केन्द्र बनाएको छ ।

पुराना दलहरू आफ्नो परम्परागत मताधार जोगाउन र विस्तार गर्न रणनीतिक रूपमा जुटेका छन् भने नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरूले परिवर्तन, सुशासन र पारदर्शिताको एजेन्डा अघि सारेका छन् ।

एमालेको सङ्गठनात्मक बल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संविधानसभा सदस्य भइसकेका विश्राम प्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । एमालेले आफ्नो बलियो संगठन, सक्रिय कार्यकर्ता परिचालन र गाउँ–गाउँमा स्थापित संरचनालाई मुख्य आधार मानेको छ ।

पार्टीका स्थानीय नेताहरूका अनुसार यस पटक एमालेले असन्तुष्ट मतदातालाई लक्षित गर्दै विकासका ठोस कार्यक्रमसहित चुनावी अभियान सञ्चालन गरिरहेको छ ।

उम्मेदवार विश्राम प्रसाद चौधरी भन्छन्, “एमाले नेतृत्वमा मात्रै स्थायित्वसहित विकास सम्भव छ, अधुरा योजना पूरा गर्नु मेरो प्राथमिकता हुनेछ ।”

काँग्रेसको अनुभव र निरन्तरताको सन्देश

नेपाली काँग्रेसका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका अतहर कमल मुसलमान पुनः मैदानमा छन् ।

लामो राजनीतिक अनुभव, बलियो जनसम्पर्क र पार्टीको परम्परागत प्रभाव क्षेत्रलाई काँग्रेसले आफ्नो मुख्य आधारका रूपमा प्रस्तुत गरेको छ । विकास, सामाजिक समावेशिता, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विस्तार उनका प्रमुख एजेन्डा हुन् ।

अतहर कमल मुसलमानको भनाइ छ, “मैले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन र क्षेत्रको समावेशी विकासका लागि पुनः जनताको मत चाहेको हुँ ।”

वाम मतको समीकरण
वाम राजनीतिक धाराबाट नेकपाका कृष्ण बहादुर कुँवर पनि प्रतिस्पर्धामा छन् । वाम मत एकीकृत हुने कि विभाजित हुने भन्ने प्रश्न चुनावी विश्लेषणको केन्द्रमा छ ।

बहुकोणीय प्रतिस्पर्धाका कारण सानो मतान्तरले पनि परिणाम प्रभावित हुन सक्ने देखिन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार वाम मत विभाजित भए काँग्रेस वा नयाँ शक्तिलाई लाभ पुग्न सक्छ, तर एकीकृत भए परिणाम फरक हुन सक्छ ।

कृष्ण बहादुर कुँवर भन्छन्, “वाम शक्तिहरूबिच वैचारिक स्पष्टता र जनताको पक्षमा दृढ अडान नै हाम्रो बल हो, परिवर्तनका लागि सचेत मत आवश्यक छ ।”

रास्वपाको ‘परिवर्तन’ अभियान

यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहन आचार्यको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ ।

परम्परागत दलप्रति निराश मतदातालाई लक्षित गर्दै उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । विशेष गरी शिक्षित युवा र पहिलो पटक मतदान गर्न लागेका मतदाताबिच रास्वपाको प्रभाव बढ्न सक्ने आङ्कलन गरिएको छ ।

मोहन आचार्यले भने, “पुराना राजनीतिक शैलीले जनताको अपेक्षा पूरा गर्न सकेन, अब पारदर्शी र जबाफदेही नेतृत्वको आवश्यकता छ ।”

स्वतन्त्र उम्मेदवारको सक्रियता

स्वतन्त्र उम्मेदवार आशिष शर्माले घरदैलो अभियान, सामाजिक सञ्जाल र प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन् । सीमित स्रोत–साधनका बाबजुद स्थानीय मुद्दा, युवा रोजगारी र कृषि सुधारका विषयमा उनले मतदाता माझ प्रभाव जमाउने प्रयास गरिरहेका छन् ।

आशिष शर्मा भन्छन्, “दलभन्दा माथि उठेर क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धताका साथ म चुनावी मैदानमा आएको हुँ ।”
त्यसै गरी राष्ट्रिय जनमोर्चा पार्टी तथा मधेसवादी दलका उम्मेदवारहरू पनि आ–आफ्नो एजेन्डासहित सक्रिय छन् । यद्यपि मुख्य प्रतिस्पर्धा एमाले, काँग्रेस, नेकपा र रास्वपाबीच केन्द्रित देखिएको छ ।

कपिलवस्तु–१ मा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, शिक्षा–स्वास्थ्य सेवा सुधार, सडक तथा औद्योगिक पूर्वाधार विकास र युवापलायन रोक्ने विषय प्रमुख एजेन्डाका रूपमा उठेका छन् ।

उम्मेदवारहरूले विकास र सुशासनको प्रतिबद्धता दोहो¥याए पनि मतदाताले व्यवहारिक योजना र परिणाममुखी नेतृत्व खोजिरहेको स्थानीयको भनाइ छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार युवा मतदाताको निर्णायक भूमिका रहने सम्भावना छ ।

परम्परागत राजनीतिक निष्ठा क्रमशः कमजोर बन्दै जानु र मुद्दा–आधारित मतदानको प्रवृत्ति बढ्नुले अन्तिम परिणाममा नयाँ समीकरण जन्माउन सक्छ । बहुकोणीय प्रतिस्पर्धाका कारण मत विभाजन निर्णायक बन्ने देखिएको छ ।

सानो मतान्तरले पनि नतिजा उल्ट्याउन सक्ने भएकाले सबै दल अन्तिम समयसम्म रणनीति परिमार्जनमा जुटेका छन् ।
समग्रमा, कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिस्पर्धा केवल दलगत प्रतिस्पर्धा नभई राजनीतिक संस्कार, नेतृत्वको विश्वसनीयता र मतदाताको बदलिँदो मनोविज्ञानको परीक्षा बनेको छ ।

फागुन २१ को मत परिणामले यहाँ पुरानो प्रभाव कायम रहन्छ कि नयाँ शक्तिले स्थान बनाउँछ भन्ने स्पष्ट पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?