© 2026
गुल्मी ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर –२ मा यस पटक रोचक र कडा चुनावी प्रतिस्पर्धा देखिएको छ ।
प्रमुख दलका प्रभावशाली नेता तथा नयाँ अनुहारबिचको चुनावी भिडन्तले पछिल्लो समयमा यस क्षेत्रको निर्वाचनलाई पनि निकै चासोका रूपमा हेरिएको छ । तर अन्यत्र जस्तै यस पटक यस क्षेत्रका मतदाता भने अन्तिम क्षणसम्म मौन देखिएका छन् ।
यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट गोकर्णराज विष्ट छैटौँ पटक पुनः उम्मेदवार बनेका छन् । उनी एमालेका केन्द्रीय उपाध्यक्ष तथा निवर्तमान सांसदसमेत हुन् ।
विष्ट २०५६ सालदेखि २०६४ बाहेक निरन्तर २०७९ सम्म यस क्षेत्रबाट निर्वाचित हुँदै आएका एक अनुभवी नेता हुन् । सङ्गठनात्मक पकड, लामो राजनीतिक अनुभव र निर्वाचन व्यवस्थापनमा राम्रो दक्षता र क्षमता उनका बलिया पक्ष मानिन्छन् ।
त्यसै गरी नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदबार बनेका भुवनप्रसाद श्रेष्ठ पनि बिष्टसँगै चुनावी मैदानमा छन् ।
श्रेष्ठ लुम्बिनी प्रदेशका उपसभापति तथा लामो समयदेखि काँग्रेसको सङ्गठनात्मक राजनीतिमा सक्रिय नेता हुन् । सरल स्वाभाव र स्पष्ट विचारका उनी परिवर्तनको सन्देश बोकेर परम्परागत सोंच भन्दा फरक नयाँ उर्जा र दृष्टिकोण प्रस्तुत गर्न सक्ने एक वैचारिक र सङ्गठनात्मक अनुभव भएका नेताका रूपमा जिल्लामा परिचित मानिन्छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोविन्द पन्थीले उम्मेदवारी दिएका छन् । उनी जिल्लावासीका लागि नयाँ अनुहार हुन् । पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) पन्थी सुशासन र नयाँ राजनीतिक संस्कृतिको एजेन्डा लिएर उनी मतदातामाझ पुगेका छन् । प्रशासनिक पृष्ठभूमि भएका कारण उनले सेवा प्रवाह सुधारलाई मुख्य मुद्दा बनाएका छन् ।
त्यसै गरी नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका श्रीराम महत पार्टीको केन्द्रीय सदस्य तथा युवा नेताका रूपमा चिनिन्छन । युवाहरू माझ लोकप्रिय रहेका उनी सरल र स्पष्ट वक्ताका रूपमा परिचित छन् ।
वैकल्पिक वाम धारको प्रतिनिधित्व गर्दै उनले यस पटकको निर्वाचनमा सुशासन र स्थानीय मुद्दालाई सशक्त रूपमा उठाइरहेका छन् ।
गोकर्णराज विष्ट बाहेक अन्य सबै उम्मेदवारहरू प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् । यसै कारण यस क्षेत्रको निर्वाचनलाई अर्थपूर्ण रूपमा पनि हेरिएको छ ।
बिष्टले विगतका विकास आयोजनाहरू, संघीय सरकारमा आफ्नो पहुँच र निरन्तर जितको इतिहासलाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै मत मागिरहेका छन् भने अन्य उम्मेदवारहरू नयाँ अनुभवसँगै परिवर्तन र उर्जाका साथ मतदाताहरूको घरघरमा पुग्ने गरेका छन् ।
तर पछिल्लो राजनीतिक घटनाक्रम, दलप्रतिको बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनाले चुनावी समीकरणलाई अनिश्चित बनाएको बताइएको छ ।
यतिबेला सबै उम्मेदवारहरू गाउँगाउँमा घरदैलो, टोलसभा र कोणसभा गर्दै आ–आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन् । उनीहरू मतदातासँग प्रत्यक्ष भेटघाट गरी आ–आफ्ना एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् ।
ग्रामीण क्षेत्रमा बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका समस्या पुरानै रूपमा दोहोरिएका छन् । युवा पुस्ता वैदेशिक रोजगारीतर्फ पलायन भइरहँदा गाउँमा जनशक्ति अभाव र घरहरू रित्तिदै गएको, वन्यजन्तुको बढ्दो समस्या जस्ता विषय मतदाताहरूले उठाएका छन ।
मतदाताहरू भने यस पटक खुलेर आफ्नो धारणा सार्वजनिक गर्न इच्छुक देखिँदैनन् । उनीहरू घरदैलोमा पुग्ने उम्मेदवारलाई ‘हुन्छ हजुर’, ‘सोचौँला’, ‘समर्थन छ’ जस्ता सामान्य प्रतिक्रिया दिने गरेका छन् ।
तर वास्तविक मतदानको बारेमा भने उनीहरू प्रस्ट हुन र खुलेर भन्न चाहँदैनन् । यसले दलहरूलाई झस्काइरहेको छ । जसका कारण यसै हुन्छ भनेर चुनावी आंकलन गर्न उनीहरूलाई कठिन बनाएको छ ।
परम्परागत दलहरूको संगठन प्रभावशाली रहे पनि वैकल्पिक शक्तिले पनि उनीहरूलाई पछ्याई रहेको देखिन्छ । विशेष गरी युवा र पहिलोपटक मतदान गर्ने मतदाताबिच नयाँ अनुहारप्रति रुचि देखिएको बताइन्छ ।
अर्कोतर्फ, अनुभवी पार्टी नेतृत्व र केन्द्रीय पहुँचका कारण पुराना शक्तिहरू पनि मतदातामाझ राम्रै मानिन्छन ।
२०७९ को निर्वाचनमा एमालेका गोकर्ण विष्ट २८ हजार ४७३ मत ल्याएर विजयी भएका थिए भने माओवादीसहितको गठबन्धनबाट रामकुमारी झाँक्रीले २६ हजार ४११ मत ल्याएकी थिइन् ।
समानुपातिक मतपरिणाम अनुसार, एमालेको २५ हजार १३०, कांग्रेसको १८ हजार ४५१, माओवादीको पाँच हजार ४३७, रास्वपाको चार हजार २६३ र एकीकृत समाजवादीको एक हजार ६०२ मत थियो ।
यस क्षेत्रबाट उज्यालो नेपाल पार्टीका कर्णबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जनक सेन, नेसनल रिपब्लिक नेपालका पदम थापामगर, मंगोल नेसनल अर्गनाइजेसनका बेदबहादुर थापा, राष्ट्रिय जनमोर्चाका ताराबहादुर थापा क्षेत्री र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सन्त नेपाली उमेदवार छन् ।
त्यसै गरी स्वतन्त्र उमेदवारहरू भागीरथ थापा, भूमिराज सापकोटा, महेश्वर घिमिरे, मालता घिमिरे, रामप्रसाद घिमिरे, खुवीराम आचार्य, लोकबहादुर पुन, सरस्वती लम्साल, सुरेन्द्र पाण्डे, कुमारी हरिकला श्रीस मगर, नरेन्द्रप्रसाद रिजाल र फर्सुराम कँडेल चुनावी प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रको निर्वाचन परिणामले अनुभव र निरन्तरताको पक्ष बलियो हुने कि परिवर्तन र नयाँ नेतृत्वको चाहनाले जित हात पार्ने भन्ने प्रश्नको जवाफ यही फागुन २१ गतेको मतदानले दिने नै छ ।
मतदाताको मौनताका कारण अहिले नै चुनावी परिणाम यसै हुन्छ भनेर आंकलन गर्न सकिने अबस्था भने छैन । यस क्षेत्रमा ५४ हजार ४२३ पुरुष, ५२ हजार ९३८ महिला र अन्य २ गरी कुल एक लाख ७ हजार ३६३ मतदाता रहेका छन् ।