Butwal Today

बाँकी छ– सहिदका सपना पूरा गर्ने दायित्व

७ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

सहिद शब्द नै काफी छ, जसको स्मरणमा श्रद्धाले शिर निहुरिन्छ ।

सहिदको त्याग र बलिदानकै कारण आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा छौं । २००७ सालको प्रजातन्त्र होस कि २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलन । ती सवै कालखण्डमा सहिदले गरेको त्याग र बलिदानको जति नै व्याख्या गरेपनि कम हुन्छ ।

सहिदले जुन त्याग र बलिदान गरे आज त्यसको जगमा हामी फागुन २१ को निर्वाचनको संघारमा छौं । जेनजी पनि हाम्रो देशका सहिद हुन । जसले गत भदौ २३ र २४ गते मुलुकको खातिर आहुती दिए । तर, अझैपनि जनताको समुन्नतिको चाहना अपूरै छ ।

जेनजी युवाको माग मुलुकमा कुशासनको अन्त्य, भ्रष्टाचार निर्मूलको सपना अझै कहिले पूरा हुने हो थाहा छैन । पटकपटकका आन्दोलन, त्यसका बलमा भएको परिवर्तन, जनतालाई प्राप्त हक अधिकारजस्ता सवाललाई संस्थागत गर्न सक्दामात्र सहिदप्रति सच्चा सम्मान हुन्छ ।

तर, राजनीतिक दल तथा तिनका नेतृत्वमा दृढ इच्छाशक्ति नहुँदा मुलुकको राजनीति निष्कलंक हुन सकेको छैन । सहिदको त्यागबाट प्राप्त नयाँ संविधान कार्यान्वयन हुन सकिरहेको छैन । जनताको समुन्नतिको चाहना अपूरै छ ।

उन्मादमा गरिएको राजनीतिले देशलाई कहीँ पनि पु¥याउँदैन, बरु रसातलमा पु¥याउँछ । मुलुकको अवको मार्ग भनेको दीर्घकालीन चिन्तनसहितको समुन्नति हो । यही सोच र चिन्तनले नै मुलुकले अग्रगमनको बाटो तय गर्नेछ । यसैमा सहिद दिवस मनाउनुको सार्थकता झल्कन्छ, सहिदको सपना साकार पार्नु भनेको पनि यही हो ।

आजको दिन त्यसैपनि महत्वपूर्ण दिन हो । त्यो किनभने नेपालमा पहिलोपटक निरङ्कुश राणा शासन अन्त्य गर्न चार शहिदको शहादत र बलिदान स्वरूप प्रजातन्त्र प्राप्ति भएको दिन ।

ती चार शहिद नै आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भ हुन । चार सहिदले देशमा प्रजातन्त्र ल्याउन शहादत नगरेको भए सायद देशको अवस्था अहिले के र कस्तो अवस्थामा हुन्थ्यो कल्पना पनि गर्न सकिदैन् । त्यसकारण ती चार बीर सपुतको उच्च सम्मान अहिलेपनि छ र इतिहासले पछिसम्म सम्झिरहने छ ।

यो देशमा पहिलोपटक देशमा प्रजातन्त्र आएको दिन फागुन ७ नै हो । प्रजातन्त्र ल्याउन योगदान दिने ती चार सहिदको सम्मान हुन सकेको छैन् । सहिदको नाममा बनाईएका शालिक समेत भत्काउने काम भएको छ ।

साँचो अर्थमा देशमा प्रजातन्त्रकै लागि भनेर सहिद हुनेको संख्या औलामा गन्न सकिन्छ । आजभन्दा ७५ बर्ष अगाडि राणा शासनको चरम जगजगीको बेला प्रजातन्त्रका लागि आन्दोलन सानो चुनौति थिएन ।

त्यतिबेला राणा शासनको विरोध गर्नु भनेको आफैलाई सुलीमा चढाउनु थियो । राणा शासनको विरोधमा कसैले चुँसम्म पनि गर्ने अवस्था थिएन । स्वयं राजापनि राणा शासनको दवदवाबाट त्रसित थिए । राजाले पनि खुलेर राणाहरूको विरोध गर्न नसकिरहेको त्यो कठोर दिनमा आन्दोलनका माध्यमबाट प्रजातन्त्र प्राप्तिको संखघोष गर्नु ठूलो चुनौति थियो ।

तर, त्यो चुनौतिको सामना गर्दै चार सहिदले ज्यानको परवाह नगरि प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । आज ती शहिदप्रति देश नतमस्तक छ । चारजनाको सेरोफेरोमा अरू सयौं नेपालीले राणाहरूबाट ठूलो पीडा सहे । कैयौंलाई राणाशासनको विरोध गरेकोमा चार भञ्ज्याङ कटाइएको इतिहास ताजै छ ।

साँच्चै देश आज ती सहिदप्रति नतमस्तक छ । अव प्रजातन्त्र र त्यसका खातिर बलिदानी गर्ने सहिदको स्मरण हाम्रो जीवनपद्धति बन्नु आवश्यक छ । सहिदका सपना अझै पूरा भएका छैनन् ।

जेनजी आन्दोलनको मर्म र भावनाको आत्मसाथ गर्दै अनि २००७ सालमा प्रजातन्त्रका लागि सहिदले गरेको बलिदानको जगमा मुलुकलाई रूपान्तरण गर्ने संकल्पको बेला आएको छ । आजको दिनले त्यो प्रेरणा र साहस प्रदान गरोस् । सहिदका सपना पूरा गर्ने ऐतिहासिक दायित्व हामी सवैले निर्वाह गरौं ।

अनिमात्र सहिदको सम्मान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?