Butwal Today

मर्यादित निर्वाचनकालागि आचारसंहिताको पूर्ण पालना अनिवार्यः आयुक्त तुलाधर

१ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

लमही ।

‎ निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर ले निर्वाचन आचारसंहिताको पूर्ण पालनाले मात्र स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गर्न सकिने बताएकी छिन् ।

‎निर्वाचन आयोग, नेपाल र नेपाल कानून समाजले संयुक्त रूपमा लुम्बिनी प्रदेशको भालुबाङमा शुक्रबार आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आचारसंहिताको अक्षरशः पालना अनिवार्य भएको स्पष्ट पारेकी हुन् ।

‎निर्वाचन आयुक्त तुलाधरले निर्वाचन केवल मतदानको प्रक्रिया मात्र नभई लोकतन्त्रको आत्मा भएको बताईन । लोकतन्त्रलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने आधार नै निर्वाचन आचारसंहिता भएको उनको भनाइ थियो । ‘निर्वाचन आचारसंहिता २०८२ को मूल उद्देश्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्नु, राज्य स्रोतको दुरुपयोग रोक्नु, समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्नु, मतदाताको स्वतन्त्र निर्णयको अधिकार संरक्षण गर्नु र निर्वाचन प्रक्रियाप्रति जनविश्वास अभिवृद्धि गर्नु हो’ उनले भनिन्, ‘आचारसंहिता सबैका लागि समान हुने भएकाले राजनीतिक दल, उम्मेदवार, सरकार, कर्मचारी, सञ्चारमाध्यम र सरोकारवाला सबै यसको पालक हुनुहुन्छ ।’

‎लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड निर्वाचन भएकाले यसलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन् । आचारसंहिता केवल कानुनी दस्तावेज नभई लोकतान्त्रिक मर्यादा, राजनीतिक नैतिकता र सुशासनप्रतिको साझा प्रतिबद्धताको प्रतिबिम्ब भएको उनको भनाइ थियो ।

‎निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता २०८२ माघ ४ गते राति १२ बजेदेखि लागू भइसकेको जानकारी दिइन । कार्यक्रममा सरकारी स्रोत–साधनको दुरुपयोग रोक्ने, मर्यादित प्रचारप्रसार सुनिश्चित गर्ने, घृणात्मक अभिव्यक्ति नियन्त्रण गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सम्मान र संरक्षण गर्ने विषयलाई विशेष महत्व दिइएको थियो ।

‎डिजिटल युगमा सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म तथा कृत्रिम बुद्धिमत्ताको दुरुपयोग निर्वाचनको विश्वसनीयताका लागि चुनौती बन्दै गएको भन्दै भ्रामक सूचना, हेट स्पिच, झुटा समाचार र अवैध मत सर्वेक्षणले मतदाताको निर्णय प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भन्दै सबै सरोकारवालाबाट उच्च सतर्कता आवश्यक रहेको उनको भनाइ थियो ।

‎निर्वाचन खर्चमा पारदर्शिता अर्को महत्वपूर्ण विषय भएको उल्लेख गर्दै बैंकमार्फत खर्च व्यवस्थापन, खर्च विवरण सार्वजनिक गर्ने र स्रोत नखुलेको आर्थिक सहयोग रोक्ने व्यवस्था प्रभावकारी रूपमा लागू हुनुपर्ने बताइएको छ । राजनीतिक दल र उम्मेदवारले मर्यादित प्रचारप्रसार गर्ने, खर्च सीमा पालना गर्ने र भ्रामक वा उत्तेजक अभिव्यक्ति प्रयोग नगर्ने विषयमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।

‎कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको विषयमा आयोगले सूक्ष्म ढंगले अनुगमन गर्नुपर्ने र आचारसंहिता विपरीत गतिविधि रोक्न कठोर बन्नुपर्ने बताए । दलहरू चुनावी दौडमा रहेकाले आयोगले तोकेको समयअगाडि भइरहेका गतिविधि आचारसंहिताले छुन्छ कि छुँदैन भन्ने विषयमा सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।

‎कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले निर्वाचनलाई सफल बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य भएको बताए ।

पूर्व अर्थसचिव शिशिर कुमार ढुंगाना ले निर्वाचन खर्चका विषयमा धारणा राखे । निर्वाचन आयोगका सहसचिव ज्ञानहरी घिमिरे ले प्रचार–प्रसार र आचारसंहिताबारे स्पष्ट पारे । नागरिक संवाद केन्द्रकी प्रमुख हेमा न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने सहजीकरण प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले गरेका थिए ।

‎‎कार्यक्रममा सहभागी राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सरोकारवाला पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अनुगमन प्रभावकारी बनाउनुपर्ने र आचारसंहिता उल्लङ्घन गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?