Butwal Today

वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

६ मंसिर २०८३, आइतबार
अ
अ+
अ-
काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारी प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलो, हरियाली विस्तार र प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका रणनीतिक कार्यक्रम उक्त क्षेत्रअन्तर्गत रहेका कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
प्रमुख राईले भनिन्, “कामपाले सहरको वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ मस्यौदासमेत तयार गरिसकेको छ ।” विभागले तयार पारेको कार्ययोजनामा सडकको धुलो र सवारीसाधनबाट निस्कने धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार तथा जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ ।
“कामपा नसर्ने रोग (गैर सङ्क्रामक) र चोटपटकबाट नागरिकलाई बचाउन प्रतिबद्ध रहेका विश्वका सहरहरूको सञ्जालको सदस्य पनि हो । सोही कारणले विश्व स्वास्थ्य सङ्गठन, विश्वव्यापी स्वास्थ्य सङ्गठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिज (परोपकार र सामाजिक विकास संस्था)सँगको सहकार्यमा कार्यक्रम सञ्चालन हुने गरेका छन् । यसरी सञ्चालन हुने कार्यक्रममध्ये वायु प्रदूषण नियन्त्रण एउटा महत्वपूर्ण हो । भौगोलिक बनावटका कारण वायु प्रदूषणको असर हामीले पनि भोग्नु परेको छ । साझा प्रयत्नबाट हामी यसलाई घटाउन चाहन्छौँ”, प्रमुख राईले भनिन् ।
कार्ययोजनाले वायु प्रदूषण रोकथाम तथा न्यूनीकरणका लागि नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्ने पहिलो उद्देश्य राखेको छ । यसअन्तर्गत कामपाका विद्यमान नीति, नियम, कार्यविधि तथा मापदण्डको समीक्षा र परिमार्जन गर्ने, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ पुनरवलोकन गर्ने तथा विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रलाई लक्षित गरी विशेष व्यवस्था गर्ने उल्लेख छ । विद्युतीय सवारीसाधन र विद्युतीय चुलोजस्ता स्वच्छ प्रविधिलाई प्रोत्साहन गरिनेछ ।
सबै काम एउटै विभागबाट सञ्चालन गर्न नसकिने भएकाले विषयगत प्रकृतिअनुसार कामपाको ३२ वटै वडा कार्यालयलाई पनि जिम्मेवारी दिइएको प्रमुख राईले जानकारी दिनुभयो । यसमा यातायात तथा सडक सुरक्षा योजना, सार्वजनिक निर्माण विभाग, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, स्वास्थ्य विभाग, शिक्षा विभाग, सूचना प्रविधि विभाग, वडा कार्यालयहरूका जिम्मेवारी तोकिएका छन् ।
कार्ययोजनामा केही काम तत्काल तथा निरन्तर, केही महिनाभित्र, केही एक वर्षभित्र र केही दुईदेखि पाँचवर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको कामपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?