© २०२३
१८०९ जनवरी ४ विश्वका लागि ऐतिहासिक र त्यसमा पनि दृष्टिविहीनहरुले उज्यालो प्राप्त गरेको दिन हो।
हाम्रो महान मार्गदर्शक अन्तर्राष्ट्रिय व्यक्तित्व मानवलाई जीवन प्रदान गर्नमा उच्च प्रकारको भूमिका खेलेका विश्व प्रख्यात सम्सार भरिका दृष्टिबिहिनका पिता लुइज ब्रेल जन्म फ्रान्समा १८०९ जनवरी ४ का दिनमा पेरिसनजिकै कोउपभ्रेमा भयो ।
लुइज जन्मदा राम्रै अवस्थामा जन्मेका र ३ वर्षको उमेरमा धारिलो चिजले उनको आँखामा घाउ भयोस र, ५ वर्षको उमेरमा पूर्ण दृष्टिविहीन हुन पुगे । त्यति बेला बिस्वका देशमा दृष्टिविहीनलाई शिक्षा हासिल गर्ने कुनै कुराको पनि आविष्कार भएको थिएन तरपनि उनका परिवार उनलाई शिक्षित वनाउन चाहन्थे । १० वर्षको उमेरसम्म उनलाई नजिकै गाउँको स्कुलमा भर्ना गरी सुनेरै पढ्ने व्यवस्था मिलाइयो ।१८१९ मा नेसनल इन्स्टिच्युट फर ब्लाइन्ड चिल्ड्रेन पेरिसमा छात्रवृत्तिमा अध्यन गर्न थाले । त्यति बेलासम्म पनि सुनेकै भरमा अध्ययन गरेर ५ वर्षपछि उक्त इन्स्टिच्युटमा १८२४ मा लुइज ब्रेलले दृष्टिविहीनलाई पढाउन थाले । १८२४ मा नै उनले ब्रेललिपिको आविष्कार गरे ।
ब्रेललिपिको आविष्कार हुनुभन्दा अघि दृष्टिविहीनले सुनेरै शिक्षा प्राप्त गर्थे भन्ने कुरा उनको जीवनीवाट प्रष्ट हुन्छ ।
उक्त समयलाई वस्तुवादी रूपबाट हेर्दा र सत्य तथ्यको खोजी गर्दा तिनीको शिक्षा भर्खरै मात्र बामे सर्ने प्रयत्न गरेको थियो भन्ने कुरा निम्न आधारबाट विश्लेषण गर्न सकिन्छ। प्रथम आधार किनोट सिस्टम भन्नुको अर्थ डोरी गाँठो पारेर गन्न वा छाम्न लगाउने दितिय आधार लुकास सिस्टम काठका साना साना टुक्रा बनाएर छाम्न वा गन्न लगाउने तृतीय आधार मोन्ड सिस्टम छाम्ने अक्षरको विकास मैनबत्तिका थोपावाट बनेका आकृतिलाई छाम्न लगाउने गर्दै सुरुमा १२ थोप्लाको ब्रेललिपिको विकास भयो ।यो ब्यबहारिक देखिएन। पुनः ९ थोप्लाको लिपि प्रयोगमा ल्याइयो । समयक्रमसँगै यो लिपि फेरि ५ थोप्लाको लिपिको विकास गरियो । यो पनि सफल हुन सकेन । अभ्यासको क्रममा ६ थोप्लाको लिपि उपयुक्त भएकाले विश्वले ६ थोप्लालाई हालसम्म प्रचलनमा ल्याएको छ ।१८५२ जनवरी ६ मा लुइज ब्रेलको देहावसान पेरिसमा भयो ।
नेपालमा लुइज ब्रेलको मृत्यु भएको करिब ११३ वर्षपछि वि.सं.२०२१ सालमा लेबोटरी स्कुलमा ब्रेललिपिको पठनपाठन गर्नका लागी जङ्गबहादुर बोगटीले आरम्भ गरेका हुन् । बोगटिलाइ नेपालमा ब्रेल लिपि भित्र्याउने प्रथम ब्यक्तिको रुपमा लिइन्छ।ब्रेलले आविष्कार गरेको लिपि वैज्ञानिकका साथै प्रभावकारी देखिएकाले जनवरी ४ को दिनलाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय ब्रेलदिवसको घोषणा गरेको छ । यसै प्रावधानमा टेकेर हिँड्डुलको सहजीकरण गर्ने उद्देश्यले अक्टोबर १५ का दिनलाई सेतोछडी दिवस मान्दै आएको छ ।
लुइज दृष्टिविहीनका मात्र व्यक्तित्व होइनन्,समस्त विश्वका व्यक्तित्व हुन् । उनको ज्ञानबाट नै विश्वले दृष्टिविहीनलाई विकासको मूलप्रवाहमा ल्याउन,दृष्टिबिहिनले आन्तरिक संसार चिन्ने अवसर पाएका छन् । यो सबैको लागी खुसीको कुरा हो ।
लुइज प्रतिपादीत ब्रेललिपि ज्ञान यति प्रबल छ कि ६ वटा थोप्लालाई विश्वका विकसित सवै भाषाले अपनाएर ब्रेललिपिको निर्माण गरेका छन् । १८०९ जनवरी ४ मा फ्रान्समा ऐतिहासिक व्यक्तित्व ज्ञानलाई फराकिलो र व्यापक वनाउने लुइज ब्रेलको जन्मजयन्ती पर्छ ।
नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हक उल्लेखित छ । उक्त धाराले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने, नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था स्थापना र सञ्चालन गर्न पाउने हक हुनेजस्ता शिक्षासम्बन्धी मौलिक हकको प्रत्याभूत गरेको छ ।
यो संवैधानिक प्रावधानलाई कार्यान्वयन गर्न सुदृढ राष्ट्रिय शिक्षा प्रणालीको विकास जरुरी भएको छ । त्यस्तै नेपालको संविधान २०७२ ले शिक्षाको माध्यम ब्रेललिपि हुने छ भनी संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को बुँदा नम्बर ४ मा स्पष्ट किटान गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७६ कार्तिक १८ मा स्वीकृत राष्ट्रिय शिक्षा नीति–२०७६ को नीति १०।२६।१ मा देशभरि सञ्चालित सामुदायिक तथा सार्वजनिक पुस्तकालय तथा वाचनालयलाई राष्ट्रिय प्रणालीमा आबद्ध गरी तिनीहरूको संरक्षण, सुदृढीकरण एवम् विकास गर्ने र पुस्तकालय तथा वाचनालयको पहुँच नपुगेका स्थानमा योजनाबद्ध रूपमा विस्तार गर्दै लगिने छ भन्ने उल्लेख भएको छ ।
नीतिको १०।२८।७ मा अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूको शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक पाठ्यक्रम, पाठ्यपुस्तक तथा श्रव्य दृश्य र सहयोग सामग्रीमा विविधीकरण गरिने छ भन्ने उल्लेख भएको छ ।
नीतिको १०।२८।८ मा सुस्तश्रवण भएका बालबालिकालाई साङ्केतिक भाषा तथा दृष्टिविहीन र न्यूनदृष्टि भएका बालबालिकालाई ब्रेललिपिमा मात्र सीमित नगराई अन्य उपकरणको प्रयोगबाट सिक्न सक्ने सम्भाव्य विकल्पको खोजी गरी उपयुक्त अवसर प्रदान गरिने छ भन्ने उल्लेख भएको छ ।
त्यस्तै अपाङ्गता भएका ब्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ पनि बनिसकेको छ।यस ऐनको परिच्छेद–५ को उपदफा–६ मा नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई शिक्षा हासिल गर्न सहज बनाउन उनीहरूको आवश्यकताबमोजिम ब्रेल वा वैकल्पिक लिपि साङ्केतिक भाषा, सूचना प्रविधिको साधन र दौतरीवाट सिक्नेजस्ता एकभन्दा बढी माध्यमवाट शिक्षा दिने व्यवस्था मिलाउनुपर्ने छ भन्ने उल्लेख छ भने यसैको उपदफा–७ मा नेपाल सरकारले दृष्टिविहीन, बहिरा, सुस्तश्रवण, श्रवण दृष्टिविहीन भएका अपाङ्गता भएका व्यक्तिलाई उपयुक्त भाषा तरिका, लिपि, पाठ्यक्रम, पाठ्यपुस्तकलगायतका पहुँचयुक्त सूचना प्रविधिको माध्यमबाट तोकिएबमोजिम शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन सकिने छ भन्ने उल्लेख छ । अपाङ्गता भएका व्याक्तिहरूको अधिकारसम्बन्धी महासन्धि ९कन्भेन्सन अन द राइट्स अफ पर्सन विथ डिसेबिलिटिज एन्ड अप्सनल प्रोटोकल.यू.एन.सी.आर.पी.डी.–२००६० को अनुमोदनसमेत भइसकेको र नेपाल त्यसको पक्षराष्ट्र भएको छ ।
यसको धारा २४ को दफा ३ क मा ब्रेल वैकल्पिक लिपि सम्बद्र्धनात्मक तथा वैकल्पिक तरिका साधन र ढाँचा तथा पूर्वाभास र गमनशील सिप सिक्न सहज तुल्याउने साथै दौतरीबाट सिक्ने कला र परामर्स सहज बनाउने उल्लेख छ भने यसै धाराको दफा ३ ग मा दृष्टिविहीन, बहिरा वा श्रवण दृष्टिविहीन व्यक्ति, खासगरी बालबालिकालाई सबैभन्दा उपयुक्त भाषा र तरिका तथा सञ्चार माध्यमवाट एवम् प्राज्ञिक र सामाजिक विकासलाई अधिकतम बनाउने वातावरणमा शिक्षा प्रदान गरिएको सुनिश्चित गर्ने उल्लेख छ ।
निस्कर्शमा भन्नू पर्दा लुइज ब्रेलले प्रतिपादन गरेको ब्रेल लिपि दृष्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुको लागि अझ आवस्यक छ।नेपाल सरकारका तीन तहका सरकारले दृष्टिबिहिनहरुको एकिन तथ्यांक बाहिर ल्याइ,हाल सन्चालनमा रहेका दृष्टिबिहिन श्रोत बिधालयहरुलाइ दृस्टिबिहिन मैत्रीपुर्ण बनाउइ,दृष्टिबिहिनहरुलाई शैक्षिक सामाग्रीम,सायक सामाग्री पर्याप्तत उपलब्ध गराइ,दृष्टिबिहिनहरुको निम्ति नियमित स्वास्थ्य परिक्षण गरि,आवासीयमा रहेका दृष्टिबिहिनहरुको पोस्टिक आहार उपलब्ध गराइ,लुइज ब्रेलले प्रतिपादन गरेको ब्रेल लिपिका आधारमा उत्पदन गरेका नया प्रबिधिको उपलब्ध गराइ,विभिन्न सचेतना तथा जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गरेर मात्र लुइज ब्रेलले दिएको योगदानको कदर गर्न सकिन्छ ।
(लेखक पौडेल नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष तथा युवा अपाङ्गता अभियान्ता हुन ।)