Butwal Today
१४ औँ वार्षिकोत्सव (शिक्षा विशेष)

सामुदायिक विद्यालयका असल अभ्यासले चिनाउँदै बुटवल

सही नेतृत्व, नवीन सोच र निरन्तर प्रयास भए सामुदायिक विद्यालय पनि उत्कृष्ट बन्न सक्छन् भन्ने तथ्य बुटवलले प्रमाणित गरेको छ । आज बुटवल केवल व्यापार र उद्योगको सहर होइन, सामुदायिक विद्यालय सुधारको प्रेरणादायी गन्तव्य बन्दै गएको छ ।
२२ माघ २०८२, बिहीबार
अ+
अ-

बुटवल ।

बुटवल भन्ने बित्तिकै केही समय अघिसम्म निजी विद्यालयको वर्चस्व, सामुदायिक विद्यालयप्रतिको अविश्वास र अभिभावकको निजी विद्यालयतर्फको आकर्षण स्वाभाविक रूपमा सम्झिन्थ्यो । तर समय फेरिएको छ ।

अहिले बुटवलका सामुदायिक विद्यालयहरू आफ्ना असल अभ्यास, गुणस्तरीय शिक्षा, शैक्षिक अनुशासन र व्यवस्थापन क्षमताका कारण उदाहरणीय बन्दै गएका छन् । यही कारण बुटवल आज सामुदायिक विद्यालय सुधारको नमुना सहरका रूपमा चिनिन थालेको छ ।

कान्ति माध्यमिक विद्यालय: विश्वास जितेको शैक्षिक केन्द्र

बुटवल बजार नजिकै अवस्थित कान्ति माध्यमिक विद्यालय पछिल्ला वर्षहरूमा देशभर चर्चामा छ ।

यहाँ अध्ययन गर्न टाढा–टाढाबाट विद्यार्थी आउने क्रम बढ्दो छ । गुणस्तरीय शिक्षासँगै दैनिक जीवनसँग जोडिएका विषयहरूलाई प्राथमिकता दिँदै अध्यापन गराइने भएकाले यो विद्यालय अभिभावक र विद्यार्थी दुवैको रोजाइमा परेको हो ।

वि.सं. २००८ सालमा गणेश विद्या प्राइमरीका रूपमा स्थापना भएको यो विद्यालय आज विशाल शैक्षिक केन्द्रमा रूपान्तरण भइसकेको छ । विद्यालयको निरन्तर उकालो लागेको शैक्षिक नतिजाले यसको प्रगति स्पष्ट देखाउँछ ।

प्रधानाध्यापक गोविन्द ज्ञवालीका अनुसार विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापलाई सिकाइको अभिन्न अङ्ग बनाएको छ । विद्यालयले शैक्षिक सुधारका लागि विषयगत विभाग बनाएर काम गरिरहेको प्रधानाध्यापक ज्ञवाली बताउँछन् ।

हाल बुटवल–५ मा रहेको कान्ति माविमा ५ हजार ९ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । वि.सं. २०६४ सालदेखि कक्षा ११ र १२ सञ्चालन गर्दै आएको यस विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा समूहमा पठनपाठन हुँदै आएको छ ।

नर्सरीदेखि कक्षा १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा अध्ययन हुने व्यवस्था गरिएको छ । विद्यालयले सुधारका लागि सुझाव पेटिका राखी प्राप्त भएका सकारात्मक सुझावलाई कार्यान्वयन गर्दै आएको छ ।

विद्यालय बगैँचा, छात्रावास, खेलमैदान, प्रविधिमैत्री कक्षा र शैक्षिक गुणस्तरमा उल्लेखनीय प्रगति भएको छ । आईएसओ प्रमाणपत्र प्राप्त गर्ने नेपालकै पहिलो सामुदायिक विद्यालय बन्नु कान्तिको अर्को ऐतिहासिक उपलब्धि हो ।

नवीन औद्योगिक कदरबहादुर–रिता मावि: प्रविधिमैत्री सिकाइ

बुटवलको देविनगरमा रहेको नवीन औद्योगिक कदरबहादुर–रिता माध्यमिक विद्यालय पनि शैक्षिक र भौतिक दुवै हिसाबले सशक्त बन्दै गएको छ । वार्षिक नतिजाले विद्यालयको निरन्तर सुधार देखाइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार विद्यालयमा गरिब तथा सुकुम्वासी क्षेत्रका विद्यार्थीको सङ्ख्या धेरै रहेकाले चुनौतीका बिच पनि विद्यालयले सकारात्मक यात्रा तय गरेको छ ।

यहाँ मन्टेश्वरीदेखि कक्षा १० सम्म साधारण शिक्षा सञ्चालन हुँदै आएको छ भने कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ, कक्षा ११ र १२ विज्ञान समूह पूर्ण अङ्ग्रेजी माध्यममा र व्यवस्थापन समूह दुवै माध्यममा पढाइ हुँदै आएको छ ।

विद्यार्थी–केन्द्रित शिक्षण विधिलाई प्राथमिकता दिँदै विद्यालयले बालमैत्री वातावरण निर्माण गरेको छ ।

गणित ल्याब, कम्प्युटर प्रयोगशाला र पुस्तकालयलाई थप व्यवस्थित गर्ने योजना अघि बढाइएको छ । हाल विद्यालयमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् । “प्रधानाध्यापक बस्नेत भन्छन्–“प्रविधिमैत्री सिकाइले विद्यार्थीलाई आत्मनिर्भर उन्मुख बनाउँछ, आगामी दिनमा विद्यालयले यसलाई अझ बिस्तार गर्ने योजना बनाएको छ ।”

उनले सबैको साथ र सहयोगले विद्यालय सकारात्मक बाटोमा अगाडि बढिरहेको प्रतिक्रिया दिए । विद्यालयमा व्यवस्थित कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशालाले विद्यार्थीहरूलाई अध्ययनमा रुचि जगाएको छ ।

सिद्धेश्वर लालकुमारी मावि: सङ्घर्षभित्रको सफलता

बुटवलको मध्य भागमा अवस्थित सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय आर्थिक र सामाजिक चुनौतीका बाबजुद पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । प्रधानाध्यापक दिनानाथ गिरीका अनुसार विद्यालयमा बिहान–साँझ अरूको घरमा काम गरेर पढ्ने विद्यार्थीहरूको सङ्ख्या उल्लेख्य छ, जसले नतिजामा असर पारेको छ ।

तर शिक्षकहरूको अथक मेहनत, विद्यार्थीको लगनशीलता र अभिभावकको विश्वासका कारण विद्यालयले पछिल्लो एसइईमा एक जना विद्यार्थी ४ जिपिए सहित शतप्रतिशत उत्तीर्ण गराउन सफल भयो ।

विद्यालयले गुरुयोजना निर्माण गरी कार्यान्वयन गरेको छ । प्रविधिमैत्री शिक्षण, व्यवहारिक ज्ञान र नवीन सिकाइ विधि अपनाउनु नै सफलताको मुख्य कारण रहेको प्रधानाध्यापक गिरी बताउँछन् । नयाँ नयाँ शिक्षण सिकाइका क्रियाकलापहरूलाई सबै शिक्षकहरूले आत्मसात् गरिरहेका कारण सफलता मिलेको उनको भनाइ छ । उनी भन्छन्–“विद्यार्थीहरूलाई किताबीसँगै व्यवहारिक ज्ञान पनि सिकाएका छौ ।”

हाल विद्यालयमा ८ सय ५० विद्यार्थी अध्ययनरत छन् । आगामी दिनमा स्थानीय र प्रदेश सरकारको सहयोगमा भौतिक संरचना थप सुदृढ बनाउने लक्ष्य लिइएको छ ।

कालिका मानव ज्ञान मावि: विशालता र गुणस्तरको सन्तुलन

बुटवल उपमहानगरपालिकामा रहेको कालिका मानव ज्ञान माध्यमिक विद्यालय विद्यार्थी सङ्ख्याका हिसाबले देशकै सबैभन्दा ठुलो विद्यालयमध्ये पर्छ । करिब ८ हजार विद्यार्थी अध्ययनरत यो विद्यालयले विशाल विद्यार्थी सङ्ख्याबिच पनि शैक्षिक व्यवस्थापन, पारदर्शिता र अनुशासनमा उदाहरणीय अभ्यास अपनाएको छ ।

प्रधानाध्यापक दिनेश थापाका अनुसार विद्यालयले विद्यार्थीहरूकै सहभागितामा विद्यार्थी आचारसंहिता निर्माण र कार्यान्वयन गरेको छ । शिक्षक–कर्मचारी आचारसंहिता पनि सामूहिक सहभागितामै तयार गरिएको छ । विद्यालयले विद्यार्थीको रुचि र चाहनाअनुसार सङ्गीत, साहित्य र खेलकुद क्लब सञ्चालन गरेको छ ।

गृहकार्यलाई कक्षाकोठाभित्रै सीमित गर्ने अभ्यास, विद्यार्थी–आयोजनामा कार्यक्रम सञ्चालन, अभिभावकलाई शिक्षण प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने नीति विद्यालयको अर्को विशेषता हो । १६ वटा ब्लकमा फैलिएको विद्यालयमा १२८ कक्षाकोठा, ४४ प्रोजेक्टर, ५४ स्मार्ट बोर्ड, २० स्मार्ट टेलिभिजन र प्रशस्त शिक्षण सामग्री उपलब्ध छन् ।

भौतिक पूर्वाधारका हिसाबले पनि यो विद्यालय सुविधा सम्पन्न छ । जसले विद्यार्थीलाई थप असल अभ्यासतर्फ प्रेरित गर्न मद्दत पुगेको प्रधानाध्यापक थापा बताउँछन् ।

गुणस्तरीय शिक्षाका लागि विद्यालयले विद्यार्थी आयोजनामा कार्यक्रमहरू गर्ने, त्यसको सहजीकरण र मूल्याङ्कन गरेर नतिजा निकाल्ने कार्यहरू गरिरहेको छ । त्यसका साथै शिक्षण प्रक्रियामा अभिभावकलाई पनि प्रत्यक्ष जोडेर अध्यापन गराइरहेको प्रअ थापाको भनाइ छ ।

विशाल विद्यार्थी सङ्ख्याका बाबजुद विद्यालयले व्यक्तिगत अनुगमन प्रणाली अपनाउँदै कमजोर, औसत र उत्कृष्ट विद्यार्थीका लागि फरक–फरक शैक्षिक रणनीति लागू गरेको छ ।

नियमित मूल्याङ्कन, परामर्श कक्षा र शिक्षक–विद्यार्थीबिचको नजिकको सम्बन्धले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको छ । यही व्यवस्थापन क्षमताले ठुलो विद्यालय हुँदाहुँदै पनि कालिका मानव ज्ञानलाई अनुशासित, परिणाममुखी र विश्वासिलो शैक्षिक केन्द्रका रूपमा स्थापित गरेको छ ।

सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण बदलिँदै

बुटवलका यी विद्यालयहरूको सफलताले सामुदायिक विद्यालयप्रतिको समाजको धारणा परिवर्तन गरिदिएको छ ।

निजी विद्यालयको विकल्प होइन, सामुदायिक विद्यालय नै गुणस्तरीय शिक्षाको केन्द्र बन्न सक्छ भन्ने सन्देश यी विद्यालयहरूले दिएका छन् । शिक्षकको समर्पण, विद्यालय व्यवस्थापन समितिको सक्रियता, अभिभावकको सहभागिता र स्थानीय सरकारको सहयोगले बुटवलका सामुदायिक विद्यालयहरू उज्यालो उदाहरण बनेका छन् ।

सही नेतृत्व, नवीन सोच र निरन्तर प्रयास भए सामुदायिक विद्यालय पनि उत्कृष्ट बन्न सक्छन् भन्ने तथ्य बुटवलले प्रमाणित गरेको छ । आज बुटवल केवल व्यापार र उद्योगको सहर होइन, सामुदायिक विद्यालय सुधारको प्रेरणादायी गन्तव्य बन्दै गएको छ ।

यी विद्यालयका असल अभ्यासहरूलाई संस्थागत गर्दै अन्य सामुदायिक विद्यालयमा विस्तार गर्न सके बुटवल मात्र होइन, लुम्बिनी प्रदेश र सिङ्गो देशका सामुदायिक विद्यालयहरूको मुहार फेरिन सक्छ ।

शिक्षामा लगानी भनेको भविष्यमा लगानी हो भन्ने तथ्यलाई यी विद्यालयहरूले व्यवहारमै प्रमाणित गरेका छन् । अब आवश्यकता छ– नीति, स्रोत र इच्छाशक्तिको एकीकृत प्रयास । सामुदायिक विद्यालयको सबलीकरणबाटै समतामूलक र गुणस्तरीय शिक्षाको लक्ष्य हासिल गर्न सकिन्छ ।