Butwal Today
१४ औँ वार्षिकोत्सव (शिक्षा विशेष)

उच्च शिक्षाको हब बुटवल

१८ माघ २०८२, आइतबार
अ+
अ-

बुटवल । 

बुटवलका शैक्षिक संस्थामा देखिएको विद्यार्थीको आकर्षणले पनि यो क्षेत्र शिक्षाको केन्द्रमा रूपमा विकास भइरहेको देखाउँछ ।

लुम्बिनी प्रदेशको मुख्य व्यापारिक केन्द्र बुटवल शैक्षिक हबका रूपमा विकसित हुँदै गएको छ । प्रदेशको आर्थिक केन्द्र रहेको बुटवल पछिल्लो समय शिक्षाको पनि हब बन्दै गएको हो ।

उत्कृष्ट विद्यालयदेखि विश्वविद्यालय, प्रविधि, स्वास्थ्य, कृषि, व्यवस्थापनदेखि अनुसन्धानसम्मका शैक्षिक आयामहरू बिस्तार हुँदै गएकोले बुटवल प्रदेशको मात्रै होइन, देशकै प्रमुख शैक्षिक केन्द्रको रूपमा स्थापित हुँदै गरेको छ ।

उच्च लगानी, भौतिक पूर्वाधारको विकास र दक्ष जनशक्तिको उपलब्धताका कारण बुटवल उच्च शिक्षाको गन्तव्य बनेको हो । माध्यमिक शिक्षा परीक्षा (एसइई) देखि स्नातकोत्तर तहसम्मका नतिजामा बुटवलका विद्यार्थीहरू देशै भरी अब्बल देखिँदै आएका छन् ।

बुटवलका शैक्षिक संस्थामा देखिएको विद्यार्थीको आकर्षणले पनि यो क्षेत्र शिक्षाको केन्द्रमा रूपमा विकास भइरहेको देखाउँछ । खास गरी पश्चिम नेपालकै सबैभन्दा पुरानो सरकारी क्याम्पस– बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, कालिका मानव ज्ञान क्याम्पसका साथै निजी क्षेत्रको न्यूहोराईजन क्याम्पस, अक्सफोर्ड, एभरेस्ट लगायत उच्च शिक्षा प्रदान गर्ने स्थापित शैक्षिक संस्थाहरू हुन् ।जहाँ हरेक वर्ष हजारौँ विद्यार्थीले शिक्षा प्राप्त गरिरहेका छन् ।

बुटवलमा सञ्चालित विभिन्न क्याम्पसहरूमा स्वास्थ्य, व्यवस्थापन, मानविकी र प्रविधि क्षेत्रमा ३० हजार भन्दा बढी विद्यार्थीहरू स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन् । बुटवलको शैक्षिक विकासको प्रभाव अब रुपन्देही जिल्लाभित्र मात्र सीमित छैन ।

पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया, प्युठान, रुकुम र रोल्पाका विद्यार्थीहरू उच्च शिक्षाको लागि बुटवल आउने गरेका छन् । विद्यालय शिक्षा अध्ययनका लागि पनि बर्दघाटदेखि कपिलवस्तुसम्मका विद्यार्थीहरू आउने गरेका छन् ।

विगतमा काठमाडौँ, भारतको दार्जिलिङ, देहरादुन वा अन्य सहरहरू जाने विद्यार्थी अहिले अध्ययनका लागि बुटवल आउने गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय बताउँछन् । देशभर विद्यार्थी सङ्ख्या धेरै भएका सामुदायिक विद्यालयमध्ये कालिका मानव ज्ञान मावि, नवीन औद्योगिक कदरबहादुर रिता मावि र कान्ति मावि बुटवलमा छन् ।

यी विद्यालयहरूले शैक्षिक उपलब्धिमा मात्र होइन, भौतिक पूर्वाधार, प्रविधि प्रयोग र सामाजिक उत्तरदायित्वमा पनि उदाहरणीय भूमिका निर्वाह गर्दै आएका छन् । नगरप्रमुख पाण्डेय बुटवललाई मुलुककै आकर्षक शैक्षिक हब बनाउने गरी काम भइरहेको बताउँछन् । शिक्षा क्षेत्रको व्यापक सुधारका लागि नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ

बुटवल बहुमुखी क्याम्पस

बुटवल बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशमा ‘क’ वर्गको क्याम्पसका रूपमा स्थापित संस्था हो । यसमा लुम्बिनी प्रदेशका जिल्लाहरूबाहेक पनि स्याङ्जा, पर्वत लगायतबाट विद्यार्थीहरू आएका छन् । यो क्याम्पस विभिन्न सङ्काय र विषयका पठनपाठन, प्राप्त नतिजा, उत्पादित जनशक्ति तथा विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक केन्द्रका रूपमा स्थापित छ ।

यहाँ विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत बिएस्सी र कानुन सङ्कायमा स्नातक तथा मानविकी, शिक्षा शास्त्र र व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहका कक्षा सञ्चालन हुँदै आएका छन् । कुनै बेला राजनीतिक दलका नेता उत्पादनको नर्सरीका रूपमा चिनिने यो क्याम्पस पश्चिम नेपालमा उच्च शिक्षाको ढोका खोल्ने सरकारी शैक्षिक प्रतिष्ठान हो ।

सरकारी क्याम्पस खोज्दै दुरदराजबाट आउने विद्यार्थीका लागि अझै पनि पहिलो रोजाई यही क्याम्पस हो । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने प्रवृत्ति बढे पनि यस कलेजमा विद्यार्थी सङ्ख्या नघटेको प्राध्यापक जीवनारायण अधिकारी बताउँछन् । अहिले क्याम्पसमा दश हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

कालिका मानव ज्ञान मावि

नेपालमै सबैभन्दा बढी विद्यार्थी रहेको बुटवलको कालिका मानव ज्ञान माविले २०७० सालमा क्याम्पस स्थापना गरेको हो । सामुदायिक विद्यालय भएर पनि विद्यार्थीहरूको पहिलो रोजाइमा पर्न सफल कालिका क्याम्पसले पनि त्यही पदचाप पच्छाएको छ ।

यो क्याम्पस मानविकी तथा विज्ञान शिक्षाको प्रमुख केन्द्र बनेको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसमा हाल चार हजार भन्दा बढी विद्यार्थी छन् । न्यून शुल्क, सहज पहुँच र शान्त अध्ययन वातावरण यसका प्रमुख विशेषता हुन् ।

यो विद्यालयमा करिब ५० जिल्लाका विद्यार्थी रहेको प्राचार्य धनश्याम पाठक बताउँछन् । उनी भन्छन्, “सामुदायिक भएकाले विद्यार्थीहरूलाई आर्थिक भार नपर्ने तथा बुटवल बजारमा सानोतिनो काम गरेर पनि पढ्न सकिने भएकोले विद्यार्थीहरूको आकर्षण बढी छ ।”

आर्थिक रूपमा कमजोर तथा ग्रामीण पृष्ठभूमिका विद्यार्थीका लागि यो क्याम्पस उच्च शिक्षा हासिल गर्ने भरपर्दो माध्यम बनेको छ ।
परीक्षा नतिजाको दृष्टिले पनि कालिका मानव ज्ञान क्याम्पस उत्कृष्ट छ ।

पछिल्ला वर्षहरूमा त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षामा क्याम्पसको उत्तीर्ण दर औसत ८० प्रतिशतको हाराहारीमा रहेको छ । केही विद्यार्थीले विषयगत रूपमा उत्कृष्ट नतिजा ल्याउँदै क्याम्पसको शैक्षिक छवि मजबुत बनाएका छन् ।

सिद्धार्थ गौतम बुद्ध क्याम्पस

२०४८ सालमा स्थापना भएको यो सामुदायिक क्याम्पस मध्यम तथा निम्न वर्गका विद्यार्थीको पहिलो रोजाइको क्याम्पस हो । यहाँ करिब २२ सय विद्यार्थी छन् ।

यो क्याम्पस तत्कालीन समयमा काँग्रेस नेताहरू बालकृष्ण खाँण र सूर्यप्रसाद प्रधानको प्रत्यक्ष संलग्नतामा खुलेको हो । ‘जस्तो लगानी गरिन्छ त्यस्तै प्रतिफल’ भनेजस्तै सिद्धार्थ गौतम बुद्धले पनि लगानी अनुसारको प्रतिफल दिएको कलेजका सहप्राध्यापक तारा ज्ञवालीको भनाइ छ ।

आफ्नै भौतिक पूर्वाधार भएकोले नियमित पठनपाठनमा समस्या नभएको उनले बताए । कक्षा ११ देखि स्नातकोत्तरसम्मको पढाइ हुने भएकोले यो कलेजमा अन्यत्रबाट पढेर आएका विद्यार्थीहरूको सङ्ख्या बढी छ । पछिल्लो समय देखिएको विद्यार्थीहरूको विदेश पलायनको असर भने यो कलेजमा पनि परेको छ ।

न्यु होराइजन कलेज

न्यु होराइजन कलेज पश्चिम नेपालकै एक अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित छ । यसले छुट्टाछुट्टै चार वटा कलेजमार्फत शिक्षा दिँदै आएको छ, जहाँ करिब चार हजार विद्यार्थी छन् ।

विषयगत दक्षता, अनुभव र नियमित प्रशिक्षणमार्फत शिक्षकहरूको क्षमता अभिवृद्धि गरिँदै आएको कलेज प्रशासनको भनाइ छ । विद्यार्थी–शिक्षक अनुपात सन्तुलित राखी प्रभावकारी पठन–पाठनमा जोड दिइएको छ ।

भौतिक पूर्वाधारतर्फ कलेजमा पर्याप्त कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब तथा डिजिटल शिक्षण सामग्रीको व्यवस्था गरिएको छ । पुस्तकालयमा ५ हजार भन्दा बढी पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री उपलब्ध छन् ।

शैक्षिक गतिविधिसँगै कलेजले सेमिनार, कार्यशाला, शैक्षिक भ्रमण, प्रस्तुति कार्यक्रम र आन्तरिक प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्दै आएको छ । साथै खेलकुद, सांस्कृतिक कार्यक्रम र सामाजिक सेवा गतिविधिमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा ध्यान दिइएको छ ।

परीक्षा नतिजाका दृष्टिले पनि न्यु होराइजन कलेजको उपस्थिति निकै सन्तोषजनक देखिन्छ । पछिल्ला वर्षहरूमा कलेजको उत्तीर्ण दर औसत ८५ प्रतिशतभन्दा माथि छ ।

कलेज व्यवस्थापन पक्षले अनुशासन, समय पालन र पारदर्शी प्रशासनलाई प्राथमिकतामा राखेको छ । अभिभावक–शिक्षक अन्तरक्रिया, नियमित मूल्याङ्कन र विद्यार्थी परामर्श प्रणालीमार्फत शैक्षिक गुणस्तर सुधार गर्ने प्रयास निरन्तर भइरहेको क्याम्पस प्रमुख लोकनाथ उपाध्यायको भनाइ छ ।

२०४६ सालमा स्थापना भएको होराइजन राष्ट्रिय रूपमै स्थापित शैक्षिक प्रतिष्ठान हो । प्राचार्य उपाध्याय बुटवलको शिक्षाको विकासका लागि होराइजन स्कुल निजी क्षेत्रको गहना रहेको बताउँछन् ।

लुम्बिनी वाणिज्य क्याम्पस

लुम्बिनी वाणिज्य क्याम्पस पश्चिम नेपालकै पुरानो तथा प्रतिष्ठित सामुदायिक क्याम्पस हो । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस क्याम्पसले वाणिज्य तथा व्यवस्थापन शिक्षामा लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

न्यून शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यो क्याम्पस आर्थिक तथा व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित छ । यहाँ हाल करिब चार हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायको भनाइ छ ।

क्याम्पसमा लेखा, वित्त, अर्थशास्त्र, व्यवस्थापन, मार्केटिङ र मानव संसाधन व्यवस्थापन जस्ता विषयमा दक्ष प्राध्यापकहरूले अध्यापन गराउँदै आएका छन् । विद्यार्थी–शिक्षक अनुपात सन्तुलित राखी नियमित कक्षा, आन्तरिक मूल्याङ्कन, सेमिनार र प्रस्तुति कार्यक्रममार्फत शिक्षण सिकाइलाई प्रभावकारी बनाइँदै आएको छ ।

सामुदायिक क्याम्पस भएकाले आर्थिक रूपमा कमजोर तथा मध्यम वर्गीय विद्यार्थीका लागि यो क्याम्पस उच्च शिक्षा हासिल गर्ने महत्त्वपूर्ण माध्यम बनेको छ ।

शैक्षिक संस्थाहरूको विविधता र बिस्तार

बुटवलमा हाल त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयअन्तर्गतका २५ वटा क्याम्पसहरू छन् । लुम्बिनी विश्वविद्यालय अन्तर्गतका कलेजहरू पनि खुलिसकेका छन् ।

यी क्याम्पसहरूमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, समाजशास्त्र, ग्रामीण विकास, होटल म्यानेजमेन्ट, कानुन, सामाजिक मनोविज्ञान जस्ता विषयहरूमा पढाइ हुँदै आएको छ । बुटवलमा दुई वटा सरकारी प्राविधिक शिक्षालय–कोरिया नेपाल प्राविधिक शिक्षालय र बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) बाट अटो मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इञ्जिनियरिङतर्फ हजारौँ प्राविधिक जनशक्ति उत्पादन भइरहेको छ ।

स्वास्थ्य शिक्षाको क्षेत्रमा फार्मेसी, अनमी, नर्सिङ, ल्याब असिस्टेन्ट र हेल्थ असिस्टेन्ट उत्पादन हुने १५ वटा शिक्षण संस्था छन् । निजीस्तरका स्वास्थ्य प्राविधिक कलेजहरू पनि छन् । शिक्षाविद् डा. बाबुराम ज्ञवालीका अनुसार बुटवल शिक्षा क्षेत्रको हब हुनुमा नीति निर्माताको योजनाबद्धता, शिक्षालयहरूको गुणस्तरीय प्रतिस्पर्धात्मक सेवा र आम जनमानसको विश्वास प्रमुख कारण हुन् ।

उहाँले अहिलेको पाठ्यक्रममा सीपमूलक र रोजगारमुखी विषय समावेश गरी विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

चुनौती र सुधारको आवश्यकता

लोकसेवा, शिक्षक सेवा, अनुसन्धान तथा तालिमका लागि देशभरका विद्यार्थीहरू बुटवल आउने गरेका छन् । अध्ययन अवलोकन गर्न विदेशी शैक्षिक विज्ञहरू आउने क्रम पनि बढ्दो छ । यसले बुटवलमा शैक्षिक बहस, अन्तरक्रिया  र नवप्रवर्तनको वातावरण सिर्जना गरेको आर्थिक विश्लेषक मनिकर कार्कीको भनाइ छ ।

सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डेटा साइन्स, वेब/मोबाइल एप विकास जस्ता नयाँ सीपमूलक विषयहरू समावेश गर्नुपर्नेछ । उद्यमशीलता विकास, स्टार्टअप इनक्युबेसन केन्द्र स्थापना, कृषि तथा ग्रामीण उद्यमतर्फ लक्षित कार्यक्रमको खाँचो देखिएको छ ।

विद्यालय र क्याम्पसमा ‘इन्नोभेशन ल्याब’ स्थापना गरी विद्यार्थीलाई अनुसन्धानप्रति आकर्षित गराउन सकिन्छ । युवाहरू कक्षा १२ पास भएपछि विदेश जाने प्रवृत्ति व्यापक मात्रामा रहेको छ । यसलाई रोक्न कमाउँदै पढ्दै कार्यक्रम ल्याउन जरुरी छ ।

कामका लागि विदेश जानुपर्ने बाध्यतालाई कम नगरेसम्म युवालाई विदेश जाने विकल्प दिन सकिन्न । पछिल्लो समय सूचना प्रविधिको प्रयोग शिक्षा क्षेत्रमा बढ्दै गएको छ । बुटवलका धेरै विद्यालय तथा कलेजहरूमा स्मार्ट कक्षा, अनलाइन कक्षा, डिजिटल लाइब्रेरी र इन्टरनेट सुविधा उपलब्ध छन् । कोभिड–१९ महामारीपछि अनलाइन शिक्षाप्रति बढेको रुचिले पनि प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गरेको छ ।

यद्यपि, सरकारी विद्यालयमा भौतिक पूर्वाधारको कमी, दक्ष शिक्षकको अभाव र निजी तथा सरकारी विद्यालयबिचको गुणस्तर अन्तर प्रमुख समस्याका रूपमा रहेका छन् । साथै, ग्रामीण क्षेत्रबाट आउने विद्यार्थीहरूका लागि आवास र आर्थिक समस्या पनि चुनौतीका रूपमा रहेको छ ।

यहाँका केही स्वास्थ्य प्राविधिक कलेजहरूलाई बन्द गराइएपछि ती विषयमा पठनपाठन हुने गरी सीमा पारी भारतीयले थुप्रै कलेज सञ्चालन गरेका छन् । जहाँ हजारौँ नेपाली विद्यार्थीहरू स्वास्थ्य प्राविधिक विषयको अध्ययनका लागि गइरहेका छन् ।

यो यसअघिको सङ्घीय सरकारले ल्याएको गलत नीतिका कारणले भएको हो । यसमा तत्कालै सुधारको खाँचो छ ।