© 2026
बुटवल ।
विषय प्रवेश
नेपालको संघीय शासन प्रणालीले स्थानीय सरकारलाई नागरिकको सबैभन्दा नजिकको अभिभावकका रूपमा स्थापित गरेको छ ।
संविधानले आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई सुम्पिएसँगै धेरै स्थानीय सरकारहरूले शिक्षा क्षेत्रमा नवीन प्रयोगहरू गरिरहेका छन् । यसै सन्दर्भमा, ऐतिहासिक, व्यापारिक र पर्यटकीय सहरको रूपमा परिचित रूपन्देहीको बुटवल उपमहानगरपालिकाले पछिल्लो समय आफूलाई एक ‘शैक्षिक हव’ (शैक्षिक केन्द्र) को रूपमा स्थापित गर्न जुन लगानी र सक्रियता देखाएको छ, त्यो देशभरका ७५३ स्थानीय तहका लागि एक अनुकरणीय दृष्टान्त बनेको छ ।
बुटवलले केवल भौतिक संरचनामा मात्र होइन, शिक्षाको गुणस्तर, पहुँच, आधुनिक प्रविधि र समन्यायिक वितरणमा केन्द्रित भई बहुआयामिक योजनाहरू कार्यान्वयनमा ल्याएको छ ।
उपमहानगरले शिक्षालाई विकासको मुख्य मेरुदण्ड मान्दै आफ्नो कुल बजेटको करिब २२ प्रतिशत हिस्सा यस क्षेत्रमा परिचालन गरेको छ । यो लगानीको नतिजास्वरूप यहाँका सामुदायिक विद्यालयहरू निजी विद्यालयसँग शैक्षिक र भौतिक दुवै रूपमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा पुगेका छन् ।
शिक्षामा गरिने लगानी कुनै उपभोग्य खर्च नभई दीर्घकालीन ‘उत्पादनमूलक मानव पुँजी’ निर्माणको आधार हो । बुटवल उपमहानगरपालिकाले यही अवधारणालाई आत्मसात गर्दै शिक्षालाई विकासको मुख्य सूचक मानेको छ ।
स्थानीय तहले शिक्षामा गर्ने लगानीले समाजमा व्याप्त आर्थिक–सामाजिक असमानता कम गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र समग्र सामाजिक रूपान्तरणमा मद्दत पु-याउँछ ।
बुटवलको सन्दर्भमा, यहाँका विभिन्न विद्यालयमा अध्ययनरत करिब ७८ हजार विद्यार्थीहरूको भविष्य सुरक्षित र गुणस्तरीय बनाउनु नै नगरको समृद्धिको आधार मानिएको छ । लगानीको यो नवीन अवधारणाले विद्यार्थीहरूलाई केवल साक्षर मात्र बनाउने नभई, उनीहरूलाई बजारमा बिक्ने र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने सीपयुक्त नागरिक बनाउने लक्ष्य राखेको छ ।
शिक्षामा गरिएको यही लगानीले नै भविष्यको बुटवललाई बौद्धिक र आर्थिक रूपमा सम्पन्न बनाउने सुनिश्चितता प्रदान गर्दछ ।
बुटवल उपमहानगरपालिकाले “शिक्षामा अब्बल, हाम्रो बुटवल” भन्ने दूरगामी परिकल्पनाका साथ आफ्ना शैक्षिक कार्यक्रमहरूलाई संस्थागत गरेको छ । यस परिकल्पनालाई मूर्त रूप दिन उपमहानगरले पञ्चवर्षीय शिक्षा योजना (२०८१/८२ – २०८५/८६) निर्माण गरेको छ, जसले नगरको शिक्षालाई स्पष्ट मार्गचित्र प्रदान गरेको छ ।
नगर प्रमुख शैक्षिक विकास कार्यक्रम अन्तर्गत विद्यालयहरूको शैक्षिक र भौतिक स्तर सुधारलाई सर्वोच्च प्राथमिकता दिइएको छ । उपमहानगरको मुख्य प्राथमिकतामा प्राविधिक शिक्षाको विस्तार, सामुदायिक विद्यालयको गुणस्तरमा गुणात्मक सुधार, संस्थागत विद्यालयहरूको प्रभावकारी नियमन र शिक्षामा सूचना प्रविधिको उच्चतम् प्रयोग रहेका छन् ।
नगरले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी संस्कार, संस्कृति, खेलकुद र नेतृत्व विकास जस्ता जीवनोपयोगी सीपहरूलाई पनि पाठ्यक्रमको अभिन्न हिस्सा बनाएको छ ।
भौतिक पूर्वाधार बिना गुणस्तरीय शिक्षा र सिकाइको उचित वातावरण सम्भव छैन ।
यही मान्यताका साथ बुटवलले ‘नगरप्रमुख विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम’ मार्फत ठुलो लगानी गरिरहेको छ । यस अन्तर्गत विद्यालय भवन, आधुनिक शौचालय, व्यवस्थित खेलमैदान र विद्यालय हाताको सुरक्षा (कम्पाउन्ड निर्माण) का लागि वार्षिक १५ करोड रुपैयाँभन्दा बढी लगानी हुँदै आएको छ ।
नगरका सबै विद्यालयहरूलाई बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री बनाउने लक्ष्यका साथ सुधारका कार्यहरूलाई तीव्रता दिइएको छ । कालिका मानव ज्ञान माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा विज्ञान विषय प्रवर्तन कार्यक्रम अन्तर्गत अत्याधुनिक प्रयोगशाला, ई–लाइब्रेरी र बहुउद्देश्यीय हलहरूको निर्माणले बुटवलको शैक्षिक पूर्वाधारको बदलिँदो स्वरूपलाई झल्काउँछ ।
शिक्षाको गुणस्तर केवल भौतिक पूर्वाधारमा मात्र नभई त्यसलाई सञ्चालन गर्ने मानव संसाधनको सक्षमतामा निर्भर हुन्छ । यसै तथ्यलाई आत्मसात् गर्दै बुटवल उपमहानगरपालिकाले शिक्षक र प्रशासनिक नेतृत्वको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।
विद्यालयको नेतृत्वमा नवीनता र उत्तरदायित्व सुनिश्चित गर्न शिक्षा नियमावली, २०५९ को व्यवस्था बमोजिम योग्यता र क्षमताका आधारमा प्रधानाध्यापक छनोट गर्ने प्रक्रिया अवलम्बन गरिएको छ । यसले विद्यालय प्रशासनमा च्ष्नजत Right Man in Right Place को अवधारणालाई चरितार्थ गर्दै संस्थागत सुधारमा टेवा पुर्याएको छ ।
त्यसै गरी, सिकाइको जग मानिने बाल विकास केन्द्रहरूलाई सुरक्षित, बाल–मनोविज्ञान अनुकूल र प्रविधियुक्त बनाउन उपमहानगरले ठुलो लगानी गरेको छ । विद्यालयहरूमा रहेको शिक्षक–विद्यार्थी अनुपातको खाडललाई कम गर्न आवश्यकताका आधारमा थप शिक्षक दरबन्दीको व्यवस्था गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्ने प्रयास गरिएको छ ।
शिक्षक तथा कर्मचारीहरूको पेसागत दक्षता अभिवृद्धिका लागि नियमित तालिम, पुनर्ताजगी कार्यक्रम र विशेष गरी प्रविधिमैत्री शिक्षण सिकाइका लागि आवश्यक डिजिटल सीप विकासमा नगरले लगानी बढाएको छ । यस प्रकारको रणनीतिक मानव स्रोत विकासले कक्षाकोठाको सिकाइलाई थप जीवन्त र परिणाममुखी बनाएको छ ।
आधुनिक विश्वको प्रतिस्पर्धामा विद्यार्थीहरूलाई खरो उतार्न बुटवलले परम्परागत शिक्षण पद्धतिलाई डिजिटल रूपान्तरण गर्ने साहसिक कदम चालेको छ । यसैको सफल उदाहरणका रूपमा ‘मेरो शिक्षा’ डिजिटल लर्निङ पोर्टललाई लिन सकिन्छ ।
यो पोर्टल मार्फत १३ वटा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ सम्मका करिब १० हजार विद्यार्थीहरूलाई उच्च गुणस्तरको डिजिटल शैक्षिक सामग्रीमा पहुँच दिइएको छ । उपमहानगरको ठुलो लगानीमा सञ्चालित यो परियोजनाले प्रति विद्यार्थी वार्षिक मात्र १५० रुपैयाँ लागतमा अडियो–भिडियो सामग्री उपलब्ध गराई शिक्षालाई किफायती र पहुँचयोग्य बनाएको छ ।
यस आ.व. मा डिजिटल पूर्वाधार र कम्प्युटर शिक्षाको समग्र सुधारका लागि मात्र नगरले १ करोड रुपैयाँको बजेट विनियोजन गरी सूचना प्रविधिलाई विद्यालयको अभिन्न अङ्ग बनाएको छ । नवप्रवर्तनतर्फ एक कदम अगाडि बढ्दै, स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न ‘पढाइ सँगै रोजगार’ ( OJT ) कार्यक्रम सुरु गरिएको छ ।
यस अन्तर्गत ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरी १०० जना विद्यार्थीहरूलाई ट्राफिक व्यवस्थापन जस्ता सामाजिक कार्यमा खटाउने नीति लिएको छ, जसले उनीहरूमा कार्यगत अनुभव र नागरिक जिम्मेवारीको बोध गराएको छ । साथै, विद्यालय र क्याम्पसहरूमा विद्यार्थीहरूको रचनात्मकता र अनुसन्धान गर्ने क्षमतालाई प्रवर्द्धन गर्न ‘इनोभेसन ल्याब’ स्थापना गर्ने नीतिले बुटवललाई प्रविधि र आविष्कारको केन्द्र बनाउने लक्ष्य राखेको छ ।
बुटवल उपमहानगरपालिकाले “कोही पनि शिक्षाको उज्यालोबाट वञ्चित हुनु नपर्ने” भन्ने समन्यायिक सिद्धान्तलाई व्यवहारमा उतार्न बहु आयामिक सामाजिक सुरक्षा र सहुलियतका कार्यक्रमहरू एकीकृत रूपमा अगाडि बढाएको छ ।
यसै सिलसिलामा, आर्थिक रूपमा विपन्न र असहाय वर्गका विद्यार्थीहरूको शैक्षिक निरन्तरता सुनिश्चित गर्न ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरिएको छ । यस कोषमार्फत छात्रवृत्ति, विद्यालय पोसाक र शैक्षिक सामग्री उपलब्ध गराइँदै आएको छ, जसका लागि उपमहानगरले ५० लाख रुपैयाँ विनियोजन गरी शिक्षामा आर्थिक अवरोध हटाउने प्रयास गरेको छ ।
महिला सशक्तीकरण र प्राविधिक क्षेत्रमा लैङ्गिक सन्तुलन कायम गर्न ‘छोरी पढाऔँ, समाज बनाऔँ’ अभियान अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युट (BTI) मा ४० जना छात्राहरूलाई मेकानिकल र इलेकट्रिकल इन्जिनियरिङमा पूर्णतः निःशुल्क अध्ययनको व्यवस्था गरिएको छ ।
यस्तै, संस्थागत विद्यालयहरूमा हुने शिक्षाको व्यापारी करणलाई नियमन गर्दै हरेक कक्षामा १० प्रतिशत छात्रवृत्ति अनिवार्य रूपमा लागू गरी त्यसको विवरण सार्वजनिक गर्ने पद्धतिलाई कडाइका साथ कार्यान्वयन गरिएको छ ।
विद्यार्थीको स्वास्थ्य र सिकाइलाई सँगसँगै लैजान दिवा खाजाको रकम वृद्धि गरी २५ रुपैयाँ पु-याइएको छ भने छात्राहरूको नियमितता र स्वास्थ्यका लागि निःशुल्क सेनेटरी प्याड वितरणलाई प्रभावकारी बनाइएको छ । ‘एक विद्यार्थी, एक बैंक खाता’ जस्ता नीतिहरूले बालबालिकामा सानै उमेरदेखि वित्तीय साक्षरता र बचत गर्ने संस्कारको जग बसाल्न मद्दत पु-याएको छ ।
शिक्षा क्षेत्रमा उपमहानगरले गरेको निरन्तर र योजनाबद्ध लगानीकै परिणामस्वरूप बुटवलका शैक्षिक संस्थाहरूले राष्ट्रिय स्तरमा उत्कृष्ट पहिचान स्थापित गर्न सफल भएका छन् ।
विशेष गरी सामुदायिक तर्फ कालिका मानव ज्ञान माध्यमिक विद्यालय, कान्ति माध्यमिक विद्यालय, नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालय लगायत अन्य विद्यालयहरूले प्राप्त गरेको राष्ट्रिय ख्याति र शैक्षिक नतिजाले बुटवलको गरिमालाई उँचो बनाएको छ ।
सार्वजनिक शिक्षाको गुणस्तरमा आएको गुणात्मक सुधारकै कारण पछिल्लो समय निजी विद्यालय छोडेर सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीहरूको चाप बढ्नुले राज्यको लगानी र व्यवस्थापनप्रति जनविश्वास बढेको प्रस्ट पार्छ ।
विशेष गरी प्राविधिक शिक्षा र व्यावसायिक तालिमका नवीन अवसरहरूका कारण बुटवल यति बेला देशभरिकै एक आकर्षक र भरोसायोग्य शैक्षिक गन्तव्यको रूपमा उदाएको छ ।
प्राप्त उपलब्धिहरू उत्साहजनक भए तापनि बुटवलको शिक्षा क्षेत्रमा केही संरचनागत र नीतिगत चुनौतीहरू अझै विद्यमान छन् । सामुदायिक विद्यालयहरूप्रति बढेको अत्यधिक आकर्षणका कारण विद्यार्थीको चाप थेग्न भौतिक संरचना र कक्षाकोठाको पर्याप्तता सुनिश्चित गर्नु उपमहानगरका लागि मुख्य चुनौती बनेको छ ।
निजी विद्यालयहरूको शुल्क संरचनालाई वैज्ञानिक बनाउने र गुणस्तरको निरन्तर अनुगमन गर्ने कार्यलाई थप पारदर्शी र प्रभावकारी बनाउनु पर्ने आवश्यकता देखिन्छ ।
त्यसै गरी, शिक्षक दरबन्दी मिलान र जनशक्ति व्यवस्थापनमा देखिएका कानुनी तथा प्रशासनिक जटिलताहरू हल गर्न सङ्घीय सरकारसँगको उच्चस्तरीय समन्वय अपरिहार्य छ ।
अर्कोतर्फ, विद्यालय र कलेजबाट उत्पादित दक्ष जनशक्तिलाई स्थानीय श्रम बजार र रोजगारीका अवसरहरूसँग प्रत्यक्ष जोड्नु बुटवलको आगामी यात्राको सबैभन्दा महत्त्वपूर्ण कार्यभार रहने देखिन्छ । यी चुनौतीहरूलाई अवसरमा बदल्न सके मात्र बुटवलको ‘शैक्षिक हब’ बन्ने सङ्कल्पले पूर्णता पाउनेछ ।
बुटवल उपमहानगरपालिकाले आफ्नो वर्तमान सफलतालाई आधार मान्दै भविष्यका लागि अझ महत्त्वाकाङ्क्षी र रणनीतिक योजनाहरू तय गरेको छ । नगरको अबको मुख्य लक्ष्य बुटवललाई केवल सामान्य शिक्षाको केन्द्र मात्र नभई ‘प्राविधिक शिक्षाको विशिष्ट केन्द्र’ (Technical Hub) का रूपमा स्थापित गर्नु हो ।
यसै परिकल्पनालाई मूर्त रूप दिन ऐतिहासिक बुटवल टेक्निकल इन्स्टिच्युट (BTI) लाई उपमहानगरको मातहतमा ल्याई यसको सुदृढीकरण गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ ।
उच्च शिक्षालाई स्थानीय आवश्यकता र व्यावसायिक सम्भाव्यतासँग जोड्न उपमहानगरले थप विशिष्टीकृत शैक्षिक संस्थाहरूको खाका तयार पारेको छ । बुटवल–१६ मा कृषि विज्ञान (BSc Ag) कलेज स्थापना गर्ने र अटो भिलेज क्षेत्रमा स्नातक तहको अटो इन्जिनियरिङ अध्ययन प्रारम्भ गर्ने योजनाले यहाँको औद्योगिक र कृषि क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति स्थानीय स्तरमै उत्पादन गर्नेछ ।
यसका साथै, स्थानीय पाठ्यक्रम परिमार्जनकाले बुटवलको ऐतिहासिक पहिचान, सामाजिक चेतना, र संस्कारयुक्त नैतिक शिक्षालाई विद्यालय तहदेखि नै जग बसाल्नेछ । यी दूरगामी र बहु आयामिक प्रयासहरूले बुटवललाई नेपालको एक नमुना शैक्षिक गन्तव्यका रूपमा उभ्याउने ठोस आधार तयार पारेका छन् ।
बुटवल उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा अङ्गीकार गरेको दूरगामी दृष्टिकोण, पर्याप्त लगानी र साहसिक अभ्यासले मुलुकका अन्य स्थानीय तहका लागि एक अनुकरणीय मार्गचित्र (Roadmap) प्रस्तुत गरेको छ ।
‘शिक्षामा अब्बल, हाम्रो बुटवल’ भन्ने सङ्कल्प केवल एक आकर्षक राजनीतिक नारामा मात्र सीमित नरही आज विद्यालयका कक्षाकोठा, विद्यार्थीका सिकाइ उपलब्धि र समुदायको फेरिएको मनोविज्ञानमा प्रष्टसँग प्रतिबिम्बित हुन थालेको छ । भौतिक पूर्वाधारको आधुनिकीकरण, डिजिटल प्रविधिको व्यापक विस्तार, प्राविधिक शिक्षामा विशेष जोड र समावेशी पहुँच सुनिश्चित गर्ने उपमहानगरको सन्तुलित रणनीतिक लगानीले बुटवललाई वास्तविक अर्थमा देशकै एक गौरवशाली ‘शैक्षिक हब’ का रूपमा स्थापित गरेको छ ।
अन्ततः, स्थानीय सरकारसँग स्पष्ट इच्छाशक्ति, जनउत्तरदायी नीति र स्रोतको सही परिचालन हुने हो भने दशकौँदेखि जकडिएको सार्वजनिक शिक्षाको अवस्थालाई छोटो समयमै कायापलट गर्न सम्भव छ भन्ने कुरालाई बुटवल उपमहानगरपालिकाले एक जीवन्त र सफल दृष्टान्तका रूपमा प्रमाणित गरिदिएको छ ।
बुटवलको यो शैक्षिक क्रान्तिले दक्ष जनशक्ति उत्पादन मात्र गर्ने छैन, बरु समृद्ध नेपाल निर्माणको जगलाई समेत थप मजबुत बनाउने निश्चित छ ।