Butwal Today

बुटवलमा शिक्षा सुधारको बहस

बुटवलमा आयोजित शैक्षिक बहसले शिक्षा प्रणालीलाई सीपमूलक, प्रविधिमैत्री र रोजगारोन्मुख बनाउनुपर्ने निष्कर्ष निकालेको छ । नगरले शिक्षामा उल्लेख्य लगानी गर्दै आधारभूत विद्यालयलाई नमुना बनाउने र गुणस्तर सुधार गर्ने योजना अघि बढाएको छ । शिक्षाविद्हरूले विद्यार्थीलाई अनुसन्धान, सीप र बजारसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।
१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

बुटवल । बुटवललाई शैक्षिक ‘हब’ का रूपमा अझ सुदृढ बनाउँदै समृद्धिसँग जोड्ने हो भने शिक्षा प्रणालीलाई सीपमूलक, प्रविधिमैत्री र रोजगारोन्मुख बनाउनु पर्ने निष्कर्ष निकालिएको छ ।

बुटवल पब्लिकेशन प्रालिद्वारा मंगलबार आयोजित “समृद्ध बुटवलको आधार: उत्कृष्ट शिक्षा” विषयक शैक्षिक बहस कार्यक्रममा सहभागी सरोकारवालाले नीतिगत सुधार, विद्यालय–उद्योग सहकार्य र व्यवहारिक शिक्षाको विस्तार अपरिहार्य भएको औँल्याएका छन् ।

परम्परागत घोकन्ते शिक्षाबाट बाहिर निस्कँदै विद्यार्थीलाई “गरेर सिक्ने” वातावरण सिर्जना गर्नुपर्ने, स्थानीय तहले पूर्वाधार र नीतिगत सहजीकरण गर्नुपर्ने तथा निजी–सामुदायिक दुवै क्षेत्रबिच सहकार्य बलियो बनाउनुपर्ने निष्कर्ष बहसका क्रममा निकालिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवलको समग्र विकासमा शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर काम भइरहेको बताए । उनका अनुसार नगरले शिक्षामा कुल बजेटको करिब २७ प्रतिशत (करिब ३४ करोड रुपैयाँ) लगानी गर्दै आधारभूत तहदेखि गुणस्तर सुधार अभियान अघि बढाएको छ ।

उनले आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने लक्ष्यसहित १३ विद्यालयलाई स्तरोन्नति गर्ने योजना रहेको उल्लेख गरे । “शिक्षा केवल प्रमाणपत्र दिने माध्यम होइन, जीवन उपयोगी सीप र नैतिकता सिकाउने माध्यम हुनुपर्छ,” उनले भने, “आजको समयले सीपसहितको शिक्षा मागेको छ, जसले युवालाई स्वदेशमै रोजगारी र उद्यमतर्फ आकर्षित गर्न सकोस् ।”

पाण्डेले बुटवललाई देशकै शिक्षा नीतिको ‘मोडेल’ बनाउने लक्ष्य रहेको बताउँदै उद्योग, व्यवसायी र शिक्षण संस्थाबिच समन्वय गरी स्थानीय स्तरमै अवसर सिर्जना गर्नुपर्ने धारणा राखे । “यदि हामीले शिक्षा र रोजगारीबिच सम्बन्ध जोड्न सकेनौँ भने दक्ष जनशक्ति बिदेसिने क्रम रोकिन्न,” उनले चेतावनी दिए ।

उपप्रमुख साबित्रा अर्यालले बुटवलमा एमबीबीएसबाहेक प्रायः सबै विषय अध्ययन गर्न सकिने वातावरण बनेको दाबी गरिन् । उनले विद्यार्थीलाई आफ्नै रुचि र क्षमता अनुसार विषय छनोट गर्न सक्ने अवसर विस्तार भएको उल्लेख गर्दै बुटवललाई शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न स्थानीय तहले निरन्तर अनुगमन र सुधारका काम गरिरहेको बताइन् ।

“सामुदायिक र संस्थागत विद्यालयबिच सन्तुलन कायम गर्दै गुणस्तर अभिवृद्धि गर्नु हाम्रो प्राथमिकता हो,” उनले भनिन्, “शुल्क व्यवस्थापनदेखि पाठ्यक्रम कार्यान्वयनसम्म हामीले नीतिगत स्पष्टता ल्याएका छौँ ।”

अर्यालले विदेश अध्ययनलाई नकारात्मक रूपमा मात्र नहेरी, सीप र अनुभव हासिल गरेर फर्किने वातावरण बनाउनुपर्ने बताइन् । साथै, प्रदेश स्तरमा स्पष्ट शिक्षा ऐन अभाव हुँदा स्थानीय तहलाई नीतिगत निर्णय लिन केही जटिलता रहेको पनि उनले औँल्याइन् ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले अहिलेको शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण नगरेसम्म अपेक्षित उपलब्धि हासिल नहुने बताए । उनका अनुसार अब शिक्षकको भूमिका ‘पढाउने’ भन्दा ‘पढ्न लगाउने’ दिशामा रूपान्तरण भइसकेको छ ।

“प्रत्येक विद्यार्थी अनुसन्धानकर्ता हो, उसलाई प्रश्न गर्न, खोज्न र सिर्जना गर्न सिकाउनुपर्छ,” उनले भने, “प्राविधिक ज्ञान सबैका लागि आवश्यक छ, तर त्यो ज्ञान बजारसँग जोडिएन भने उपयोगहीन हुन्छ ।”कोइरालाले विद्यालय स्तरमै साना–साना सीप सिकाउने, उद्यमशीलता विकास गर्ने र बचत–संस्कृति निर्माण गर्ने कार्यक्रम ल्याउन सुझाव दिए । “एआई, शिक्षक, पाठ्यक्रम र समाज–यी चार वटालाई एकसाथ जोड्न सके मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ,” उनले थपे ।

उनले बहुभाषिक समाजको रूपमा रहेको बुटवलमा भाषा–संस्कृतिको आदानप्रदानलाई पनि शिक्षासँग जोड्नुपर्नेमा जोड दिए । बहसमा सहभागी विभिन्न विद्यालयका प्राचार्यहरूले खेल–आधारित र प्रविधिमैत्री शिक्षण पद्धति अपनाउँदै बालबालिकालाई रमाइलो वातावरणमा सिकाइ गरिरहेको बताएका थिए ।

प्राविधिक शिक्षालयका प्रतिनिधिहरूले दक्ष जनशक्ति उत्पादन भए पनि रोजगारी अभावका कारण विदेश पलायन बढिरहेको बताए । उद्योगी व्यवसायीहरूले प्रयोगात्मक शिक्षा अभावले दक्ष कामदारको कमी भइरहेको गुनासो गरे । अभिभावक सङ्घका प्रतिनिधिले विद्यालय भर्नामा चाप बढेको र सबैलाई अवसर दिन थप व्यवस्थापन आवश्यक रहेको औँल्याए भने निजी विद्यालय सञ्चालकहरूले शुल्क व्यवस्थापन नीतिगत बाध्यताभित्रै रहेको स्पष्ट पारे ।

कार्यक्रमका बुटवल पव्लिकेशन प्रालिका अध्यक्ष हरिप्रसाद पौडेलले बदलिँदो समयअनुसार सबैमा शिक्षा पहुँच पु¥याउने लक्ष्यका साथ यस्तो बहस कार्यक्रमले सार्थकता पाएको बताए । उनले बुटवलले विभिन्न क्षेत्रमा जस्तै शिक्षामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी पहल आवश्यक रहेको धारणा राखे ।

संस्थाका प्रवन्ध निर्देशक नवराज कुँवरले शिक्षा क्षेत्रको समग्र विकासका लागि सरोकारवाला सबै पक्षबीच सहकार्य अपरिहार्य रहेकोले यस्तो बहस कार्यक्रम गरिएको बताए । उनले यस्ता बहसले नीति निर्माणदेखि कार्यान्वयनसम्म सकारात्मक दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

बहसका क्रममा बुटवलको शिक्षा क्षेत्रले उल्लेखनीय प्रगति गरे पनि अबको मुख्य चुनौती “शिक्षालाई सीप, बजार र समृद्धिसँग जोड्नु” रहेको निष्कर्ष निकालिएको हो । नीति, पूर्वाधार, प्रविधि र व्यवहारिक अभ्यासबीच समन्वय गर्दै अघि बढेमा बुटवलले राष्ट्रियस्तरमै शिक्षा सुधारको नमुना प्रस्तुत गर्न सक्ने सहभागीहरूको साझा निष्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?