Butwal Today

जनार्दनलाई संकेत गर्दै प्रचण्डले भने: रुकुमका जनता भगौडाको पछि लाग्दैनन्

२६ पुष २०८२, शनिबार
अ+
अ-

 काठमाडौं, २६ पुस ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमका जनताले कुनै पनि भगौडाको पछि नलाग्ने कुरा प्रमाणित गरेको टिप्पणी गरेका छन् । रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेपछि उत्पन्न अवस्थालाई संकेत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

रुकुमका केही नेताहरू विचलित भएर पार्टी छाडेर गएको उल्लेख गर्दै प्रचण्डले त्यसले रुकुममा पार्टीको जनमत खस्किएको हो कि भन्ने चिन्ता आफूलाई लागेको पनि बताए ।

“यहाँको एक जना तपाईंहरूले अघि सारेको नेता पलायन भए, विचलित भएर गए । कहाँ गए भने कम्युनिस्ट र मार्क्सवाद छाड्नेतिर गए,” उनले भने, “यसको पछाडि षड्यन्त्र छ । निकै ठूलो षड्यन्त्रअन्तर्गत ती मान्छेलाई विचलित बनाइएको छ ।”

उनले थपे, “पहिला–पहिला जस्तो सभामा उपस्थिति नहुने हो कि भन्ने मलाई कताकता लागेको थियो । तर आज यो सभामा आउँदा रुकुमका जनता महान छन्, कुनै भगौडाको पछि लाग्दैनन् भन्ने कुरा तपाईंहरूले सावित गरिदिनुभयो ।”

जनार्दन शर्मालाई संकेत गर्दै प्रचण्डले नामै लिएर भने, “पहिला प्रभाकर थियो र प्रचण्डलाई ल्याउँथ्यो । अब त प्रभाकर छैन, प्रचण्ड आउँछ कि आउँदैन भन्ने कुरा उठाइयो । म झन् बढी रुकुम आउँछु अब ।”

उनले जनार्दन शर्माको अभावमा पार्टीको ‘हेडक्वार्टर’ कमजोर हुन्छ कि भन्ने चिन्ता नगर्नसमेत आग्रह गरे ।

“मैले मध्यपहाडी लोकमार्ग अभियानका क्रममा चौरजहारीमा बोलेको कुरा धेरैले सुन्नुभएको होला,” प्रचण्डले भने, “मैले रुकुमका पार्टीका जनता र कार्यकर्तालाई सलाम गरेको थिएँ । रुकुममा पहिला जसलाई नेता मानिन्थ्यो, उनीहरू पलायन भए ।

उनीहरू विचलित भए । तर रुकुमका जनता विचलित भएनन्, पलायन भएनन् । नेता–कार्यकर्ता कहिल्यै पनि विचलित हुनेहरूको पछि लागेनन् ।”