© 2026
बुटवल, १३ पुस ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, देवीनगर–११, बुटवलमा स्वर्ण महोत्सवको तयारी तीव्र पारिएको छ। विद्यालयले स्वर्ण महोत्सवका अवसरमा विविध शैक्षिक, सामाजिक तथा रचनात्मक कार्यक्रमसहित उत्सव मनाउने तयारी गरेको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार स्वर्ण महोत्सवलाई स्मरणीय बनाउन विस्तृत कार्यक्रम तालिका तयार गरिएको छ। तालिकाअनुसार आँखा शिविर, रक्तदान कार्यक्रम, खेलकुद प्रतियोगिता, शैक्षिक प्रतिस्पर्धा तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले प्रधानाध्यापक बस्नेतको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर उल्लेखनीय रूपमा सुधार भएको धारणा व्यक्त गरे।
स्वर्ण महोत्सव तथा अभिभावक दिवसको मूल समारोह यही पुस २२ गते बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न हुने विद्यालयले जनाएको छ।
विद्यालयले स्वर्ण महोत्सवअन्तर्गत पुस ११ गते खेल सप्ताहको शुभारम्भ गरिसकेको छ। पुस १२ गते भूतपूर्व विद्यार्थी पुनर्मिलन समारोह आयोजना गर्दै तेजबहादुर रानाको अध्यक्षतामा २१ सदस्यीय ‘नवीन एलुमनाई’ समिति गठन गरिएको छ। यसैगरी पुस १४ गते शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देहीका प्रमुख विष्णु पन्थीको प्रमुख आतिथ्यतामा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ।

पुस १७ र १८ गते नगरस्तरीय अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता, पुस २० गते आँखा शिविर, पुस २१ गते रक्तदान कार्यक्रम तथा पुस २२ गते मूल समारोहका दिन स्वर्ण महोत्सव दर्पण विमोचन, राष्ट्रिय सेवा दल, स्काउट तथा विद्यार्थीहरूको मार्चपास र विविध सांस्कृतिक कार्यक्रमसहित भव्य कार्यक्रम आयोजना गरिनेछ।
सामुदायिकतर्फ मुलुककै उत्कृष्ट विद्यालयमध्येमा पर्ने यस विद्यालयमा हाल नेपालका ५८ जिल्लाबाट आएका विद्यार्थीहरू अध्ययनरत रहेका छन्। पूर्ण अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको विद्यालयमा विद्यार्थी संख्याका आधारमा देशकै पाँचौँ ठूलो विद्यालयका रूपमा करिब ५ हजार ६४ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक बस्नेतले जानकारी दिए।
विद्यालयमा राष्ट्रिय सेवा दलअन्तर्गत सिनियर डिभिजन २०औँ क्याडेट सञ्चालनमा रहेको छ, जसमा १५ छात्र र १५ छात्रा सहभागी छन्। शैक्षिक असल अभ्यासतर्फ आ.व. २०८१/०८२ मा सातै प्रदेशका ४२ विद्यालयमध्ये नेपाल द्वितीय स्थान हासिल गर्दै विद्यालयले अस्ट्रेलियाको राजधानी क्यानबेरामा २३ अक्टोबर २०२४ मा ‘बेष्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेको थियो।
विद्यालयले विद्यार्थीको नेतृत्व विकास र व्यक्तित्व निर्माणमा विशेष जोड दिँदै आएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यार्थीबाट उद्घोषण, फिल्ड भिजिट तथा प्रयोगात्मक अभ्यासका अनुभव अंग्रेजी भाषामा प्रस्तुत गराउने अभ्यास गरिएको प्रधानाध्यापक बस्नेतले बताए।
नवीन औद्योगिक माविमा कक्षा ११ र १२ मा व्यवस्थापन, सिभिल इन्जिनियरिङ, विज्ञान, कानुन तथा शिक्षा समूहको अध्यापन हुँदै आएको छ। २०८१ सालको एसईई परीक्षामा विद्यालयका विद्यार्थी आर्यन पौडेलले ४ जिपीए प्राप्त गरेका थिए। हाल विद्यालयमा शिक्षक तथा कर्मचारी गरी १ सय ८४ जना कार्यरत रहेका छन्।
लुम्बिनी प्रदेशको नमुना विद्यालयका रूपमा रहेको नवीन औद्योगिक मावि विज्ञान प्रवर्द्धन कार्यक्रमअन्तर्गत नेपालभरका १ सय १४ विद्यालयमध्ये छनोटमा परेको विद्यालयले जनाएको छ।