© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसले विगतका विभिन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र असहयोग गरेका नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको जानकारी मातहतका सबै निकायलाई गराएको छ ।
कांग्रेसले परिपत्र पठाउँदै सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गरेको परिपत्रमा केन्द्रीय कार्यसम्पादन समितिको गत पुस १२ गते बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको उल्लेख छ ।
कार्यसम्पादन समितिले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक तथा असहयोग गरी अनुशासन विपरीत काम गरेका कारबाहीमा परेकाहरूलाई माफी दिने निर्णय गरेको थियो ।
निर्णयमा कारबाही माफी पाएका व्यक्तिहरूको पार्टीमा पहिले बहाल रहेको पद तत्काल फिर्ता नहुने उल्लेख छ । माफी पाएकाहरूले आफ्नो ‘क्रियाशील सदस्यता’ नवीकरण गर्न पाउने निर्णय कार्यसम्पादन समितिले गरेको छ ।
बैठकले विगतमा पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकालाई पुनः कांग्रेसमै फर्किन हार्दिक आह्वान गरेको छ ।
फर्किनेलाई पार्टीले क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।
