Butwal Today

प्रतिनिधि सभाका सभामुख र उपसभामुखको कार्यकाल सकियो, सभामुख निवास छोड्दै

१३ पुष २०८२, आइतबार
अ+
अ-

 काठमाडौँ, १३ पुस

 प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुने भएका छन् ।  घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उनले सरकारी निवास छोड्ने तयारी पनि सुरु गरिसकेका छन् ।

अध्यक्ष घिमिरे संसद् पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेकोले यसबारे जवाफ दिनुपर्ने अवस्था आउन सक्ने भएकाले सार्वजनिक घोषणा नगरी बिदा हुन लागेको अधिकारीले बताए ।

उनले भने, “पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको र यसबारे सम्बन्धित क्षेत्रमा जवाफ दिनुपर्ने अवस्था आउन सक्ने भएकाले प्रक्रियागत रूपमा अप्ठ्यारो हुने बुझेर उहाँ सार्वजनिक घोषणा नगरी बिदा हुनुहुन्छ । अब उहाँ कार्यालय जानुहुन्न । निवास सर्ने तयारी गर्दै हुनुहुन्छ र डेरा पनि खोजिसक्नु भएको छ ।”

संविधान अनुसार, प्रतिनिधि सभा विघटन भए पनि सभामुख र उपसभामुख आफ्नो पदमा बहाल रहन्छन् र प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनमा उम्मेदवारी दिने अघिल्लो दिनसम्म पदमा रहन सक्ने व्यवस्था छ ।

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ । यसका लागि आज र भोलि आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइँदैछ ।यसअनुसार, सभामुख र उपसभामुखको कार्यकाल आज गएराति १२ बजेदेखि सकिएको छ ।