© 2026
लुम्बिनी ।
लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सीमापार समाचारका विषयमा बहस गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो समाचार महोत्सव (लुम्बिनी न्युज फेस्टिवल) को मूल समारोह उद्घाटन गरिएको छ।
रुपन्देहीस्थित लुम्बिनी प्रेस क्लबको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको छ। यसअघि २०७६ र २०८० सालमा पनि लुम्बिनी न्युज फेस्टिवल आयोजना गरिएको थियो।
महोत्सवमा भारतबाट ४० जना पत्रकार सहभागी भएका छन् भने काठमाडौंबाट आधा दर्जनभन्दा बढी अग्रज पत्रकारहरूको उपस्थिति रहेको छ। भारतका सिक्किम, नयाँ दिल्ली, लखनऊ, अयोध्या, काशी, गोरखपुर र महाराजगन्जलगायत स्थानबाट स्थानीय तथा राष्ट्रिय स्तरका पत्रकारहरू सहभागी भएका छन्।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यस्तो खालको महोत्सवले नेपाल–भारतबीचको पर्यटन सम्भावना, सांस्कृतिक तथा धार्मिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन पत्रकारिता क्षेत्रको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गरे।
मुख्यमन्त्री आचार्यले मोफसल पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सिर्जना गर्नु आजको आवश्यकता भएको बताए। उनले लुम्बिनी न्युज फेस्टिवलले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र तथा सामाजिक–सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै मुख्यमन्त्री आचार्यले नकारात्मक समाचारले सम्बन्ध कमजोर बनाउन सक्ने तर सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध मजबुत बनाउने धारणा राखे। सम्मेलन र संवादमार्फत सम्बन्ध सुदृढ हुने अपेक्षा पनि उनले व्यक्त गरे।
दुवै देशको सहअस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री आचार्यले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको बताए। लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यहरूले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो। बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक तथा सामाजिक विकासमा फेस्टिवलका बहसले नयाँ दिशा दिने विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रमको पूर्वसन्ध्यामा लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकन गर्नुका साथै दीप प्रज्वलन गरिएको थियो।
महोत्सवमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, गोरखपुर प्रेस क्लबका पूर्व अध्यक्ष माकण्डेमणि त्रिपाठी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, महासंघ रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेलगायतले मन्तव्य राख्दै पत्रकारिताको समग्र विकासका लागि सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।