© २०२३
काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन् । तर उनी कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने चासो बढिरहेको छ ।
शान्ति प्रक्रियामा आएपछि फरक-फरक क्षेत्रबाट चुनाव लडेर विजयी हुँदै आएका प्रचण्ड यसपटक कुन क्षेत्र रोज्ने भन्नेमा जनता र राजनीतिक विश्लेषकको ध्यान केन्द्रित छ । यद्यपि अहिलेसम्म उनले निर्वाचन लड्ने क्षेत्र यकिन गरेका छैनन् ।
नेकपाले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबार बेलुकासम्म उम्मेदवार सिफारिस गरेर पठाउन प्रदेश र जिल्ला समितिलाई निर्देशन दिएको छ ।
सिफारिसको प्रारम्भिक सूचीअनुसार बागमती प्रदेशको नुवाकोट–१, सिन्धुली–२, रामेछाप, मधेसको महोत्तरी–४, गण्डकीको गोरखा–१ बाट प्रचण्डको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी, लुम्बिनीको रोल्पा, रुकुम पूर्व, सुदूरपश्चिमको कैलाली–३ बाट पनि उनी उम्मेदवार सिफारिस भएका छन् । यस्तै बागमतीकै काभ्रे–गण्डकीको कास्की–१ बाट पनि प्रचण्डको नाम सिफारिस हुनसक्ने सम्बन्धित प्रदेशका अध्यक्षले बताएका छन् ।
सिफारिस भएका जिल्लामध्ये नुवाकोट–१ र सिन्धुली–२ मात्र २०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रले जितेको क्षेत्र हुन् ।
२०६४ सालको संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौँ–१० र रोल्पा–२ बाट विजयी भएका थिए भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिराहा–३ र काठमाडौँ–१० बाट उठेका थिए । त्यतिबेला काठमाडौँ–१० बाट पराजित भए पनि सिराहा–३ मा झिनो मतले विजयी भएका थिए ।
२०७४ सालमा एमाले र माओवादीबीच वाम गठबन्धनबाट चितवन–३ बाट चुनावमा भाग लिएका प्रचण्डले भारी मतले विजय हासिल गरेका थिए ।
२०७९ सालमा पनि चितवन–३ बाट उठ्ने भनिए पनि अन्ततः गोरखा–२ बाट उठेका थिए । गोरखा–२ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई को लगातार जितेको क्षेत्र हो । बाबुरामले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एकता गरेपछि नेसपाले माओवादीकै चुनाव चिन्ह पाएको थियो र गोरखा–२ प्रचण्डलाई बाबुरामले छोडेका थिए ।