© २०२३
काठमाडौं, ११ पुस ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकारले सबैखाले उल्झन हटाउने बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको गुण्डुस्थित निवासमा करिब दुई घण्टा छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले निर्वाचनको अनुकूल वातावरण बनाउन सरकारले आवश्यक सबै पहल गर्ने स्पष्ट पारे ।
निर्वाचनको मिति नजिकिँदै गर्दा पनि सरकारले आफूलाई ‘स्थानहद’मा सीमित राखेको भन्दै एमाले अध्यक्ष ओलीले व्यक्त गर्दै आएको धारणा बारे सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए ।
जवाफमा सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचन महोत्सव हो, महायज्ञ हो । यो लक्ष्य प्राप्तिका क्रममा हाम्रा वरिपरि केही उल्झन र चुनौतीहरू छन् । ती कुरालाई सहज बनाउँदै निर्वाचनको गन्तव्यमा पुग्न सरकारले आवश्यक वातावरण तयार पार्छ र त्यसतर्फ अघि बढ्छ ।’