© २०२३
काठमाडौँ, १० पुस ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनको वातावरण बनाए आफू नेतृत्वको पार्टी चुनावमा जान तयार रहेको बताएका छन् । उनले स्वतन्त्र र धाँधलीरहित निर्वाचन होस् भन्ने चाहना एमालेको रहेको उल्लेख गरे ।
‘निर्वाचनको परिस्थिती सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ । हामी चुनावमा जान्छौँ र बहुमत ल्याउँछौँ,’ उनले भने, ‘स्वतन्त्र र धाँधलीरहित चुनाव होस् । हामी त्यही समयको पर्खाइमा छौँ । हामी जुनसुकै परिस्थितिका लागि पनि तयार छौँ ।’
उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्वप्रधानमन्त्री तथा वर्तमान प्रधानमन्त्रीबीच भएको संयुक्त बैठकमा उठेका विषयबारे पनि चर्चा गरे ।
‘राष्ट्रपतिलाई हामीले भन्यौँ – चुनाव विरोधी हामी होइनौँ । प्रतिगमन हुन हुँदैन भन्यौँ । प्रतिनिधिसभा पुनःस्थापना छिटो हुनुपर्छ भन्ने कुरा पनि भयो । यो विषय अदालतमा छ, अदालतले जे फैसला गर्छ त्यहीअनुसार हुन्छ,’ उनले भने ।
उनले थपे, ‘प्रधानमन्त्री र राष्ट्रपति चुनाव गरौँ भन्नुहुन्छ । तर वातावरण बनेको कहाँ छ ? अहिले पनि विभिन्न आक्रमण भइरहेका छन् । नेताहरूलाई कतै जान दिइएको छैन । यसरी निर्वाचनको वातावरण बन्छ ?’