© २०२३
बुटवल, १० पुस ।
डडेल्धुरा आलिताल गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कञ्चनपुरको महेन्द्रनगरमा अस्थायी रूपमा बस्दै आएकी २० वर्षीया कमला मडै सम्पर्कबिहीन भएकी छन् । विवाहित कमला आफ्नै इच्छाले घरबाट हिँडेपछि हालसम्म परिवारको सम्पर्कमा नआएको बताइएको छ ।
परिवारका अनुसार कमला यही पुस ९ गते साँझ करिब ७ बजे बुटवल आएको भन्ने अन्तिम जानकारी प्राप्त भएको थियो । त्यसपछि उनीसँग कुनै सम्पर्क हुन नसकेको र मोबाइल पनि बन्द रहेको जनाइएको छ । कमलाको खोजीका लागि उनका श्रीमान दीपक सेटीले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दर्ता गराइसकेका छन् ।
उजुरी विवरणअनुसार कमलाका बुबा तुलाराम बडै र आमा तारादेवी बडै हुन् । उनी हराउनु अघि बुटवल आएको भन्ने जानकारी मात्र उपलब्ध रहेको र त्यसपछिको अवस्थाबारे कुनै ठोस सूचना नआएको परिवारले जनाएको छ ।
प्रहरीले उजुरी दर्तापछि कमलाको खोजी तथा पहिचानका लागि आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ । सम्भावित स्थानहरूमा खोजतलास जारी रहेको र सम्बन्धित प्रहरी इकाइहरूलाई जानकारी गराइएको प्रहरीको भनाइ छ ।
परिवारले कमलाबारे कुनै पनि जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न सबैमा अनुरोध गरेका छन् । साथै, सामाजिक सञ्जाल तथा सार्वजनिक माध्यममार्फत सूचना साझा गरी खोजी कार्यमा सहयोग गरिदिन पनि परिवारले अपिल गरेको छ ।