© २०२३
काठमाडौँ ।
उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी एकता घोषणा गरिएको छ ।
दुवै पार्टीले संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने सहमति गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशको वर्तमान जटिल र परिवर्तनशील राजनीतिक अवस्थाबाट निकास खोज्ने उद्देश्यले दुवै पार्टीबीच चुनावी सहकार्य गरिएको सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहले हस्ताक्षर गरेका छन् ।
दुवै पार्टीले सुशासन, दिगो विकास, सामाजिक न्याय, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीतिक विकल्पप्रति बढ्दो जनआकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’को भावना र मागलाई व्यवहारमा रूपान्तरण गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने लक्ष्यसहित एकीकृत मोर्चाबाट चुनावमा जाने निर्णय गरिएको जनाइएको छ ।
सहमतिअनुसार प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीको आधारमा गरिनेछ । प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन र स्वयंसेवक परिचालनलगायत सबै चुनावी गतिविधि संयुक्त रूपमा सञ्चालन गरिनेछन् ।
पत्रकार सम्मेलनमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम क्षेत्र केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, रोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, संघीयता र समावेशीता संयुक्त चुनावी घोषणापत्रका मुख्य एजेन्डा रहने जानकारी दिइयो ।