© २०२३
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस नेता डा. शेखर कोइरालालाई ९ बुँदे खुला पत्र लेखेका छन् । मिश्रले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको पत्रमा डा. कोइरालाको राजनीतिक भूमिका, निर्णय क्षमता र नेतृत्वदायित्वमाथि प्रश्न उठाएका छन् ।
देशको अवस्था नाजुक भएको र अभिभावकको खाँचो रहेको डा. कोइरालाकै अभिव्यक्तिलाई उद्धृत गर्दै मिश्रले “गर्न सक्ने ठाउँमा बसेर पनि किन हेरेर मात्र बस्नुभएको ?” भन्ने प्रश्न गरेका छन् ।
कांग्रेस सभापति वा प्रधानमन्त्री बन्ने व्यक्तिगत चिन्तनमा मात्रै अल्झिएको आरोप लगाउँदै उनले वीपी कोइरालाले सिकाएको राजनीति पदभन्दा देशलाई माथि राख्ने हो कि होइन भन्ने प्रश्न उठाएका छन् ।
खुला पत्रमार्फत मिश्रले डा. कोइरालालाई स्पष्ट राजनीतिक मार्ग रोज्न आग्रह गरेका छन् ।
मिश्रले पत्रको सुरुवात डा. कोइरालाका अभिव्यक्तिहरू उल्लेख गर्दै गरेका छन्, जसमा देशलाई अभिभावकको खाँचो रहेको, राष्ट्रियता नाजुक अवस्थामा पुगेको र राष्ट्रियता तथा प्रजातन्त्र सँगसँगै अघि बढ्न नसके देश जोगिन नसक्ने उल्लेख छ ।
त्यसपछि मिश्रले देशको अवस्था यति गम्भीर भएको भन्दै “गर्न सक्ने ठाउँमा रहेको व्यक्तिले किन निर्णायक भूमिका निर्वाह नगरेको ?” भन्ने प्रश्न उठाएका छन् ।
उनले वीपी कोइरालाको राजनीतिक विरासत स्मरण गराउँदै पदभन्दा देशलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । साथै, स्पष्ट धारणा र साहसी निर्णय लिन नसके देश र कांग्रेस दुवैलाई सही दिशामा लैजान नसकिने चेतावनी दिएका छन् ।
मिश्रले अन्त्यमा डा. कोइरालालाई प्रष्ट रूपमा आफ्नो राजनीतिक धार स्पष्ट गर्न आग्रह गर्दै द्विविधायुक्त राजनीतिले राजनेता बन्न नसकिने उल्लेख गरेका छन् ।
पत्रको अन्त्यमा मिश्रले आफूलाई डा. कोइरालाको शुभचिन्तकका रूपमा प्रस्तुत गरेका छन् ।