© २०२३
बुटवल, ८ पुस ।
स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४औँ स्थापना दिवस विविध शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमसहित मनाउने भएको छ । यस अवसरमा विगत १३ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको १२औँ संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय रनिङ शिल्ड हाजिरीजवाफ (क्विज) प्रतियोगिता आयोजना गरिने विद्यालयले जनाएको छ ।
विद्यालयले मंगलबार विद्यालयको सी–ब्लकमा आयोजित पत्रकार सम्मेलनमार्फत पुस १० गते हाजिरीजवाफ प्रतियोगिता र पुस ११ गते पुरस्कार वितरणसहित स्थापना दिवस समारोह आयोजना गरिने जानकारी दिएको हो ।
विद्यालयका प्राचार्य बाबुराम बन्जाडेका अनुसार हाजिरीजवाफ प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन् र प्रत्येक समूहमा कम्तीमा एक जना छात्रा अनिवार्य रहने प्रावधान छ । प्रतियोगिताको विजेता टोलीलाई नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीलाई ७ हजार ५ सय रुपैयाँ र तेस्रो हुने टोलीलाई ४ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । हालसम्म ४० विद्यालयले सहभागिताका लागि दर्ता गरिसकेको उनले जानकारी दिए ।
गत वर्षको हाजिरीजवाफ प्रतियोगितामा एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल विजेता बनेको थियो भने न्यु होराइजन बोर्डिङ स्कुलले लगातार दुईपटक तीन–तीन वर्ष रनिङ शिल्ड जितेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनहरि बस्यालले सामाजिक सेवाको उद्देश्यसहित विद्यालय स्थापना गरिएको उल्लेख गर्दै स्कलर्स होमले आईएसओ मान्यता समेत प्राप्त गरिसकेको जानकारी दिए ।
विद्यालयका संस्थापक शिव गुरुङले आफू भारतमा अध्ययन गरेर हासिल गरेको अनुभवलाई नेपालमै लागू गर्ने उद्देश्यले स्कलर्स होम स्थापना गरिएको बताए । उनले विद्यालयमा अभिभावकलाई परीक्षा प्रश्नपत्र देखाउने अभ्यास, विद्यार्थीलाई मार्शल आर्ट प्रशिक्षण दिने तथा औपचारिक कार्यक्रम सञ्चालनको जिम्मेवारी विद्यार्थीलाई नै दिने अभ्यास सुरु गरिएको जानकारी गराए ।
कार्यक्रममा विद्यालयकी संस्थापिका लक्ष्मी गुरुङ र भ्वाइस प्रिन्सिपल टिकाराम गौतमले स्कलर्स होम बुटवल उपमहानगरपालिका–९ को एकमात्र विद्यालय रहेको बताए ।
हाल स्कलर्स होम सेकेण्डरी स्कुलमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १,५०० विद्यार्थी अध्ययनरत छन् भने बीबीएस तहमा करिब १५० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा १२० जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।