© २०२३
काठमाडौं, ८ पुस ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महाधिवेशन केही समयका लागि धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको महाधिवेशनबारे सबैमा चासो देखिएको भन्दै, महाधिवेशन कुनै नौलो कुरा नभएको बताए । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया भएको बताउँदै सञ्चारमाध्यमहरूले यसमा धेरै चासो देखाउन आवश्यक नभएको उनले स्पष्ट पारे ।
आफूले महाधिवेशन सार्न नखोजेको उल्लेख गर्दै, सिरियल नम्बर नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय धकेलेको बताए । उनले भने कि आफू २६ पुसमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा छन् ।
कोइरालाले भने, “कांग्रेस महाधिवेशनबारे सबै किन चिन्तित छन् मैले बुझिनँ । एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर ४/४ वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि अधिवेशनको बारेमा सोध्छ, मलाई त दिक्क पनि लाग्छ कहिले काहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ? नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।”
नेता कोइरालाले सरकारले निर्वाचन २१ फागुनमा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल कतै देखिएको छैन उनले उल्लेख गरे ।