© २०२३
काठमाडौं, ८ पुष ।
ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउने भन्ने खालको छलफलमा अहिलेसम्म प्रवेश नगरेको बताएका छन् ।
अदालतको तारिखमा हाजिर हुन भैरहवा जान लागेका उनले मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्रै केन्द्रित भएको बताए ।
बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो भन्ने पत्रकारहरूको प्रश्नमा उनले भने, ‘हामी त्यसमा प्रवेश गरेका छैनौँ । पहिले त थाहा पाउनुपर्छ । कुराकानी हुनुपर्छ । के कस्तो छ भन्ने बुझ्नु पर्छ । एक अर्कासँग परिस्थितिबारे जानकारी लिनुपर्छ ।’
सोमबार काठमाडौँमा बालेन र रवि बीच छलफल भएको थियो । लामिछानेले विस्तारै राजनीतिक विषयमा प्रवेश गर्ने बताए । ‘विस्तारै राजनीतिक कुरामा हामी प्रवेश गर्छौँ,’ उनले भने ।
नयाँ शक्तिहरूसँग संवाद गर्ने आफ्नो नीतिअनुसार नै बालेनसँग भेट भएको स्पष्ट पार्दै उनले भने, ‘हामीले नयाँ शक्तिहरूसँग संवाद गर्ने भनेका थियौँ । त्यसकै कडिका रूपमा यो छलफल अघि बढाएका हौँ ।’
उनले बालेनसँग मात्रै नभई अन्य राजनीतिक शक्तिहरूसँग पनि कुराकानी हुने जानकारी दिएका छन् । ‘अब हामी अन्य राजनीतिक शक्तिहरूसँग पनि छलफल गर्छौँ,’ लामिछानेले भने । ‘अब कुलमानजीसँग पनि कुराकानी गर्छौँ । हामी सबैसँग कुराकानी गरेर एक ठाउँमा आउन प्रयास गर्छौँ । मैले भने अनुसार रास्वपा अगाडि बढेको छ ।’