© २०२३
काठमाडौं, ७ पुस ।
नेपाल शान्ति प्रतिष्ठानका अध्यक्ष विद्याधर मल्लिकले सरकारलाई गठनको पृष्ठभूमि ख्याल गरेर अगाडि बढ्न सुझाव दिएका छन् ।
उनले भने, ‘यो सरकार जेनजी आन्दोलनको जगमा बनेको हो । आन्दोलनबाट आएको सरकारको स्पिरिटलाई स्वीकार्नुपर्छ । नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ?’
मल्लिकले आगामी फागुन २१ मा हुने चुनावमा नो भोटको प्रावधान लागू गर्न सकिने र त्यसका लागि आवश्यक कानुनी तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘ब्युरोक्रेटिक रूपमा समाधान खोजेर काम हुँदैन । १०–२० वर्षसम्म पनि सुधार हुँदैन । नोटालाई स्वीकार गरेर जाऔँ । यदि ५० प्रतिशतभन्दा बढी नोटामा आउँछ भने बदर गर्नुपर्छ र फेरि चुनाव हुनुपर्छ ।’
अन्तर निर्वाचन क्षेत्रबाट मतदान गर्ने व्यवस्था अगाडि बढाउन सकिने र यो सम्भव रहेको मल्लिकले बताए । साथै, विदेशमा रहेका नेपालीलाई मताधिकार दिने विषयमा पनि आवश्यक तयारी गर्न सकिने र सिम्बोलिक रूपमा सुरुवात गर्न सकिने उनले बताए ।
मल्लिकले रिफर्म हुँदैछ भन्ने सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए र अन्यथा निर्वाचनपछि असन्तुष्टि कायम रहने र मुलुकको विकासमा बाधा पुग्ने चेतावनी दिए ।