© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त दिनलाई नेपालको इतिहासकै अकल्पनीय र दुःखद् ‘कालो दिन’को संज्ञा दिएका हुन् ।
भ्रष्टाचार र कुशासनविरुद्ध युवा पुस्ता (जेन–जी) सडकमा उत्रिँदा भएको उक्त घटनामा धेरै नौजवानले ज्यान गुमाउनु परेको भन्दै उनले गहिरो दुःख व्यक्त गरे । सडकमा जनताको आक्रोश पोखिनु स्वाभाविक भएको तर्क गर्दै महामन्त्री थापाले सार्वजनिक पदमा बस्ने व्यक्तिको नैतिकता सबैभन्दा ठूलो कुरा हुने जिकिर गरे ।
‘राजनीतिक नैतिकता निकै महत्वपूर्ण हुन्छ । म पदमा भएको भए यसको पूर्ण जिम्मेवारी लिन्थेँ,’ उनले भने । ठूलो पदमा बस्नेले नै बढी जिम्मेवारी बोक्नुपर्ने भन्दै उनले तत्कालीन प्रधानमन्त्री यसबाट उम्किन नमिल्ने बताए ।
थापाले घटनालगत्तै कांग्रेसले गृहमन्त्रीलाई राजीनामा दिन लगाएर आफ्नो तर्फबाट नैतिकता प्रदर्शन गरेको दाबी पनि गरे । घटनाको प्राविधिक छानबिन आफ्नै ठाउँमा भए पनि सरकारको नेतृत्व गर्ने व्यक्तिले नैतिक रूपमा ‘यसको जिम्मा म लिन्छु’ भन्न सक्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो । राजनीतिक मोरालिटी झनै ठूलो कुरा हो । “म यसको जिम्मा लिन्छु” भन्दा कोही सानो हुँदैन । ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ । घटना कसरी भयो भन्ने विषयमा छानबिन हुँदै जाला, तर यसको जिम्मेवारी सरकारमा बस्नेहरूले लिनुपर्छ ।’