Butwal Today

एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड

५ पुष २०८२, शनिबार
अ+
अ-

काठमाडौँ ।

नेकपा (एमाले)का नेताहरूले बाहिर संसद् पुनर्स्थापनाको माग गरे पनि भित्रभित्रै चुनावी तयारी गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्कमल दाहाल प्रचण्डले बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा शनिबार नेकपाले आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ मै प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने बताए। त्यसका लागि जनता र राजनीतिक दल तयारीमा लागिसकेको उनको भनाइ थियो।

नेकपाको एकता सन्देश सभाका क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्दा आफूले जनता र नेता चुनावको तयारीमा लागेको पाएको बताए। नेकपासहित प्रमुख राजनीतिक दल पनि चुनावी तयारीमा लागिसकेको उनको भनाइ थियो।

संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा परेका मुद्दालाई लिएर चुनाव नहुने हो कि भन्ने चिन्ता नगर्न आग्रह गर्दै प्रचण्डले भने, ‘नेपाली कांग्रेसको संस्थागत निर्णय चुनावमा जाने नै छ। हामीले त सुरुदेखि नै चुनावको विकल्प छैन भनेका छौं।’

एमाले पनि चुनावी तयारीमा लागिरहेको उनले सुनाए। संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा मुद्दा हाले पनि एमाले चुनावी तयारीमा जुटेको बताउँदै प्रचण्डले भने, ‘एमालेले बाहिर जेसुकै बोले पनि भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको छ।’

सरकारले पनि फागुन २१ मै चुनाव गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो। चुनाव सार्दा देश झन संकटनमा पर्ने उनले जिकिर गरे। अहिलेको समस्याको समाधान चुनाव नै भएको उनको भनाइ थियो।

‘निर्वाचन सारियो भने देश दुर्घटना पर्छ। अबको दुर्घटनामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुनेछैन,’ प्रचण्डले भने, ‘नयाँ आन्दोलनको, विद्रोहको झण्डा बोकेर आउनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?