Butwal Today

जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी

३ पुष २०८२, बिहीबार
अ+
अ-

काठमान्डौ, ३ पुष ।

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी)  तथा हाल अवकाश प्राप्त चन्द्रकुवेर खापुङको बयान उच्चस्तरीय जाँचबुझ आयोगमा जारी रहेको छ ।

२३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा खापुङको बयान लिइरहेको आयोग स्रोतले जनाएको छ । जेनजी घटना भएको समयमा खापुङ नै प्रहरी महानिरीक्षकको जिम्मेवारीमा थिए । उक्त घटनाका क्रममा प्रहरीले चलाएको गोली लागेर २३ भदौमा २२ जनाको मृत्यु भएको थियो । घटनापछि प्रहरीले अनावश्यक रूपमा अत्यधिक बल प्रयोग गरेको भन्दै व्यापक आलोचना समेत हुँदै आएको छ ।

यसअघि आयोगले फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूको विवरण उपलब्ध गराउन आग्रह गर्दा खापुङले अटेर गरेको आयोगको दाबी छ । त्यस क्रममा खापुङले जवानदेखि आईजीपीसम्म सबै फिल्डमै रहेको भन्ने जवाफ पठाएका थिए । उक्त जवाफप्रति असन्तुष्टि जनाउँदै आयोगले उनलाई ५ सय रुपैयाँ जरिवाना गर्ने तयारीसमेत गरेको थियो । त्यसपछि मात्र आवश्यक विवरण पठाइएको आयोगले जनाएको छ ।

आयोगले घटनासँग सम्बन्धित पक्षहरूको बयान लिने कार्य अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । अब तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको बयान लिने तयारीमा आयोग जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?