© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूह पार्टीको नयाँ क्रियाशील सदस्यता वितरणका लागि पठाइएको फारममा ‘सिरियल नम्बर’ नराखिएको प्रकरणमा एक्लिएको छ । संस्थापन पक्ष र इतर समूहका नेता डा. शेखर कोइराला नेतृत्वले सिरियल नम्बर राखिएका फारम मात्र वितरण गर्नुपर्ने बताएपछि थापा समूह अलग देखिएको हो ।
थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नयाँ सदस्यता वितरणका लागि ६ लाख फारम जिल्ला–जिल्लामा पठाएको थियो । ती फारममध्ये ४ लाखमा ‘सिरियल नम्बर’ राखिएको थिएन ।
सिरियल नम्बर नराखेका फारम जिल्ला–जिल्लामा पुगेपछि यसबारे विवाद उत्पन्न भएको थियो । संस्थापन पक्ष र डा. कोइराला नेतृत्वको इतर समूहले त्यस्ता फारम फिर्ता मागेर मात्र पठाउनुपर्ने बताएका छन्, भने थापा समूह भने पहिले पठाइसकिएको फारममा समितिलाई सिरियल नम्बर राखेर वितरण गर्न निर्देशन दिनुपर्ने पक्षमा देखिएको छ ।
यसबारे आइतबार साँझ बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकमा छलफल भए पनि सहमति नजुटेपछि शीर्ष नेतासँग छलफल गर्ने निर्णय भएको थियो । समितिका सदस्यहरुमा संस्थापन पक्षका योगेन्द्र चौधरी र सीता गुरुङले सिरियल नम्बर नराखेका फारम फिर्ता मागेर नयाँ फारम पठाउनुपर्ने बताएका थिए भने संयोजक थापा र सदस्य प्रकाश स्नेही भने पहिले पठाइएको फारममा नै समितिलाई सिरियल नम्बर राखेर वितरण गर्न निर्देशन दिनुपर्ने पक्षमा थिए ।
सोमबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो । संयोजक थापाले शीर्ष नेतासँग छलफल गरेर मंगलबार बस्ने बैठकमा टुंग्याउने बताएका थिए ।
मंगलबार इतर समूहका नेता डा. शेखर कोइरालाले अर्का नेता डा. मीनेन्द्र रिजाललाई लिएर सभापति शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा डा. कोइरालाले सिरियल नम्बरबिनाका फारमले जिल्ला–जिल्लामा जटिल समस्या उत्पन्न गराएको भन्दै सच्याउन माग गरेका थिए ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो, “डा. कोइरालाले बिना नम्बरका ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवालाई आग्रह गरेका थिए । महाधिवेशन प्रक्रिया ती बिना नम्बर फारमका आधारमा सुरु हुनै नसक्ने उनीहरूले सभापतिलाई बताए ।”