© 2026
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ ।
सचिवालयका अनुसार, माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्न लागेको जानकारी राष्ट्रपति पौडेललाई दिन थापाले राजीनामा दिएका हुन् ।
थापा २०७८ सालमा भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
थापा २०७९ को निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेसबाट धनकुटामा उम्मेदवार बनेका थिए, जहाँ उनी एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । २०७९ फागुनमा पौडेल राष्ट्रपति निर्वाचित भएपछि थापा उनको सल्लाहकार बनेका थिए ।
अब राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नका लागि थापाले सल्लाहकारको पदबाट राजीनामा दिएका हुन् । सल्लाहकारबाट राजीनामा र राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नेबारे जानकारी लिन खोज्दा थापा सम्पर्कमा आउन चाहेनन् ।