© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । मंगलबार सभापति देउवाको निवास महाराजगन्जमा डा. कोइराला अर्का नेता डा. मिनेन्द्र रिजाललाई साथ लिएर पुगेका थिए ।
भेटमा डा. कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिले ‘सिरियल नम्बर’ बिनाका फारम जिल्ला–जिल्लामा पठाएको विषय र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवालगायतका विषयमा छलफल गरेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
डा. कोइरालाले सिरियल नम्बर बिनाका फारमका कारण जिल्ला–जिल्लामा जटिल समस्या उत्पन्न भएको भन्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग गरेका थिए । बिना नम्बरका ती फारम फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन सभापति देउवासँग आग्रह गरेको थपलियाले बताए ।
कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने धारणा पनि देउवासँग राखेका थिए ।
यसैगरी, डा. कोइरालाले अनुशासनको कारबाहीका विषयमा पनि सभापति देउवाको ध्यानाकर्षण गराउँदै सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आगामी आम निर्वाचनमा सक्रिय रूपमा खटिन निर्देशन दिन आग्रह गरेका थिए ।
उनले २०७९ सालको निर्वाचनमा गठबन्धनका क्रममा भएका विषयलाई लिएर अहिले कारबाही गर्नु उपयुक्त नहुने कुरा पनि देउवासँग बताएका थिए ।