© २०२३
काठमान्डौ, १ पुष ।
मधेश प्रदेश सरकारमा आफूले रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमत पार्टीले सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएको छ । जनमत पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै यस्तो चेतावनी दिएका हुन् ।
मन्त्रीपरिषद् विस्तारको क्रममा सोमबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । यसअघि २१ गते विनाविभागीय मन्त्री बनेका एकीकृत समाजवादीका कनिष पटेललाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएपछि जनमत पार्टी असन्तुष्ट बनेको हो ।
यसै सन्दर्भमा, विगतमा जनमत पार्टीबाट सो मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कुशवाहाले मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति ‘दयनीय अवस्थामा’ पुगेको टिप्पणी गरेका छन् । उनले आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत १० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने कार्यक्रम विनियोजन गरिएको स्मरण गराउँदै भागबन्डाका कारण मन्त्रालय अरूलाई दिनु उक्त कार्यक्रमलाई अलपत्र पार्नु सरह भएको उल्लेख गरेका छन् ।
“यस आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमार्फत १० हजार रोजगारी सिर्जना गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ । तर भागबन्डाको नाममा त्यो मन्त्रालय अरूलाई दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई नै अलपत्र पार्नु हो,” कुशवाहाले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले जनमत पार्टीको उद्देश्य र प्राथमिकताअनुसार सरकारमा सुनिश्चित भूमिका नदिइए मधेश प्रदेश सरकारबाट बाहिरिन पार्टी तयार हुनुपर्ने चेतावनी दिएका छन्। “जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चितता नहुने हो भने मधेश प्रदेश सरकारबाट अलग हुन हामी तयार हुनुपर्छ,” उनको भनाइ छ ।
हाल सातदलीय गठबन्धनमार्फत गठन भएको मधेश प्रदेश सरकारमा जसपा र जनमत पार्टीबाहेक अन्य दलहरूले एक–एक मन्त्रालय लिएर सहभागिता जनाइसकेका छन् । जनमत पार्टीले भने अर्थ मन्त्रालय आफ्नो भागमा लिइसकेको छ। पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव हाल मधेश प्रदेशका अर्थमन्त्री छन् ।