© २०२३
बुटवल, १ पुष ।
नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा नेता राजु गुरुङले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देही–२ बाट प्रतिनिधि निर्वाचित गुरुङले लुम्बिनी प्रदेशबाट भूगोलतर्फ स्वतन्त्र रूपमा मनोनयन दिएका हुन् ।
अध्यक्ष केपी शर्मा ओली समूहको सम्भावित उम्मेदवार सूचीमा नाम नपरेपछि गुरुङले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका हुन् । उनले आफ्नो राजनीतिक योगदान र इतिहासको आधारमा उम्मेदवारी दिएको बताए ।
गुरुङले भने, “म कुनै गुटको होइन, पार्टीप्रति गरेको योगदान र जनसमर्थनका आधारमा उम्मेदवारी दिएको हुँ । सकारात्मक प्रतिक्रिया पाइरहेको छु, म चुनाव जित्छु ।”
युवा संघको केन्द्रीय उपाध्यक्ष भएर संगठन र जनसंपर्कमा सक्रिय रहेका गुरुङलाई केन्द्रीय सदस्य पदमा सहज जीत हुने अनुमान गरिएको छ । उनले आफू विधि र पद्धतिमा विश्वास गर्ने नेता भएकाले महाधिवेशन प्रतिनिधिहरूले आफूलाई योग्य ठान्ने विश्वास व्यक्त गरे ।
एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षबीच प्रतिस्पर्धा तीव्र हुने देखिएको छ । केन्द्रीय कमिटीका पदहरूमा पनि चुनावी माहोल रोचक बनेको छ ।