Butwal Today

पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल

२९ मंसिर २०८२, सोमबार
अ+
अ-

 काठमाडौं, २९ मंसिर ।

नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन् ।

महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण स्पष्ट पारे । उनले भने, ‘म पार्टीलाई सामूहिक नेतृत्वअन्तर्गत विधिपूर्वक र सही ढंगले चलाउने उद्देश्यका साथ अघि बढ्न चाहेको हुँ ।’

पार्टीलाई पुनर्गठन र पुनर्व्यवस्थापन गर्नु आवश्यक रहेको उनले बताए । उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई आग्रह गर्दै भने, ‘पार्टीलाई विचारमा पुनर्गठित गर्नुपर्ने, संगठनमा पुनर्गठित गर्नुपर्ने र नेतृत्वमा पुनर्व्यवस्थित गर्नुपर्ने आवश्यकता छ ।

साथै, पार्टीको कार्यसम्पादन प्रणालीलाई पनि पुनर्व्यवस्थित गर्न जरुरी छ । यसको अर्थ पार्टीलाई समयअनुकूल थप अपडेटेड बनाउनु हो ।’ एमाले महाधिवेशनमा अध्यक्षका उम्मेदवार पोखरेलले निर्वाचनमा प्रतिस्पर्धा हुनु स्वाभाविक प्रक्रिया भएको पनि बताए ।

उनले भने, ‘प्रतिस्पर्धा हुनु स्वाभाविक हो । हिजो भूमिगत अवस्थामा रहँदा पनि प्रतिस्पर्धा हुन्थ्यो । अहिले खुला अवस्थामा, जनताको बहुदलीय जनवादले निर्देशित हाम्रो पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु अस्वाभाविक मानिँदैन ।’