Butwal Today

ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम

२९ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २९ मंसिर ।

नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले पदाधिकारीहरूको नाम लगभग टुंगो लगाएको छ ।

अध्यक्ष पदमा केपी शर्मा ओली स्वयं उम्मेदवार रहने निश्चित भएको छ भने महासचिव पदमा शंकर पोखरेल दोहोरिने भएका छन् ।

उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम टुंगो लागिसकेको स्रोतले जनाएको छ । यस्तै ओली समूहले प्रदीप ज्ञवालीलाई पनि उपाध्यक्षको सूचीमा राखे पनि उनको नाम भने अन्तिम रूपमा टुंगो लाग्न बाँकी रहेको छ । यस विषयमा ओली र ज्ञवालीबीच छलफल जारी रहेको बताइएको छ ।

उपमहासचिव पदका लागि विष्णु रिमाल, भानुभक्त ढकाल र रघुबिर महासेठको नाम फाइनल भएको स्रोतको भनाइ छ ।

यसैगरी नौ जना सचिव पदका लागि शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र लेखराज भट्टको नाम टुंगो लागेको छ ।

यता ईश्वर पोखरेल नेतृत्वको समूहले पनि आफ्ना पदाधिकारीहरूको प्यानल अन्तिम रूप दिइसकेको बताइएको छ ।

पदाधिकारी पदका आकांक्षी भए पनि दुवै समूहको सूचीमा नपरेका नेताहरूले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?