© २०२३
बुटवल, २८ मंसिर ।
आगामी फागुन २२ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस रुपन्देहीले उमेद्बार छनौटको लागि प्रदेश समितिमा पठाएको छ ।
जसमा अधिकांश अघिल्लो र यस भन्दा पहिला भएका प्रतिनिधि सभा निर्वाचनमा पराजित अनुहार रहेका छन् ।
भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको आन्दोलन पश्चात् पुरा दलहरूले नयाँ युवा पुस्ता र नयाँ उमेद्बार उठाउने अपेक्षा गरिएको भए पनि नेपाली काँग्रेसमा भने ‘पुरानै रोग’ देखिएको हो ।
रुपन्देहीको क्षेत्र नम्बर २ बुटवल क्षेत्रमा अघिल्लो प्रतिनिधि सभामा निर्वाचनमा पराजित अनुहारको रूपमा रहेका युवराज गिरी यस पटक पनि सोही क्षेत्रबाट सिफारिस भएका हुन । क्षेत्रीय समितिले प्रतिनिधिसभातर्फ युवराज गिरीको नाम सिफारिस गरेको छ ।
जुन अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित उम्मेदवार हुन् । उनी नेकपा एमालेका नेता विष्णु प्रसाद पौडेल सँग पराजित भएका थिए ।
समाचार स्रोतका अनुसार गिरीसँगै चुन्नु पौडेल, प्रकाश राना, प्रजापाल गिरी, कुमार केसी (दीर्घवहादुर), सुदीप शर्मा सहित ९ जनाको नाम सिफारिस गरेको हो । यसै गरी २ बाट समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ मा पनि यस पटक पराजित अनुसार नै नेपाली काँग्रेसको १ नम्बर सिफारिसमा परेको छ । गत प्रतिनिधि सभा निर्वाचनमा बहालवाला गृहमन्त्री हुँदाहुँदै पनि पराजित भएका नेता बालकृष्ण खाँणको नाम पहिलो नम्बरमा सिफारिस भएको हो ।
खाँण राप्रपाका दिपक बोहोरा सँग पराजित भएका थिए । वोहोराले ३६ हजार ७ सय १७ मत ल्याउँदा खाँणले ३४ हजार ३६ मत मात्रै ल्याएका थिए ।
उनीसँगै रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसले खाँण सहित रामचन्द्र ढकाल, विमल ढकाल, सुशील गुरुङ, रमेश खनाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको छ । यसै गरी, समानुपातिकतर्फ जन्नतुन निशा धुनिया, पुष्पा थरुनी र माधवी शर्मालाई सिफारिस गरिएको हो ।
रुपन्देही क्षेत्र नम्बर ५ मा पनि यो पटक ‘हारेको अनुहार नै’ प्रतिनिधि सभा निर्वाचनको लागि पहिलो नम्बरमा सिफारिस भएको छ । अघिल्लो निर्वाचनमा एमालेका बासुदेव घिमिरे सँग पराजित भएका पूर्व मन्त्री समेत रहेका भरत कुमार शाहको नाम प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ पहिलो नम्बरमा सिफारिस भएको छ ।
घिमिरेले कुल ३६ हजार ८ सय २२ मत ल्याउँदा साहले भने २७ हजार १२० मत मात्रै ल्याएका थिए । संस्थापनले एकलौटी निर्णय गरेको भन्दै अर्को पक्षले पनि उम्मेदवारी सिफारिस केन्द्रमा पठाएको छ ।
संस्थापन इतर पक्षहरूले युवा नेता विष्णु पोखरेल सहित तीन जनालाई उम्मेदवार सिफारिस गर्दै उक्त जानकारी पार्टी केन्द्रीय कार्यालयलाई पठाएको हो । उम्मेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित गराउनुपर्ने काँग्रेसको विधानमा उल्लेख भए पनि भरत शाह पक्षले आफूहरूलाई उपस्थित नै नगराई शाहको नाम एकलौटी सिफारिस गरिएको आरोप लगाएको छ ।
क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले युवा नेता विष्णु पोखरेल सहित महासमिति सदस्य एवं पूर्व क्षेत्रीय सचिव कमल प्रकाश भुसाल र महाधिवेशन प्रतिनिधि लीला कुमारी पौडेललाई सिफाशस गरिएको छ ।
उनीहरूलाई सिफारिस गर्नेहरूमा क्षेत्रीय सचिव कृण प्रसाद शर्मा, क्षेत्रीय सह–सचिव हरि प्रसाद घिमिरे, सह–सचिव चिरञ्जीवी खनाल लगायत रहेका छन् ।
यता नेपाली काँग्रेस क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले बैठकमा शाहको नाम मात्र प्रस्ताव आएको र कसैले शाहको नाममा विरोध नगरेकाले एकल सिफारिस गरिएको बताए बताउँछन् ।
शाह पक्षबाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिवुल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रियसभामा सुर्यमति उपाध्ययाय र शेषमन यादवलाई सिफारिस गरेको बताए ।
संस्थापन इतरले प्रतिनिधि सभा सदस्य समानुपातिकमा अधिवक्ता शेषमन यादव,डोलबहादुर थापा, दिलमाया कंडेल, खडानन्द खनाल र सिता पोखरेल तथा राष्ट्रियसभामा रघुनाथ घिमिरे, इन्द्रबहादुर जीसी र कल्पना ढकाललाई सिफारिस गरेको बुझिएको छ ।
रुपन्देही क्षेत्र नम्बर ४ बाट भने प्रमोद यादवको एकल सिफारिस भएको छ । उनी पनि हारेका अनुसार हुन् । वि.सं. २०७९ को चुनावमा उनी लोकतान्त्रिक समाजवादी पार्टी सर्वेन्द्रनाथ शुक्ला सँग पराजित भएका थिए ।
शुक्लाले २८ हजार मत ल्याउँदा यादवले भने जम्मा २२ हजार ७ सय ४ मत ल्याएका थिए । यादव यसअघि पनि उम्मेद्वार थिए भने २०७४ को निर्वाचनमा विजयी भएका थिए ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट अब्दुल रज्जाक उम्मेदवार सिफारिस भएका छन् । काँग्रेस केन्द्रीय कार्यालयले प्रदेशसभा सदस्यलाई उम्मेदवार सिफारिस नगर्न परिपत्र जारी गरेको भएपनि सांसद रज्जाकलाई सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ रज्जाकसहित, हिरा खत्री, विश्वनाथ यादव, गुनाखर भुर्तेल, हरि न्यौपाने र आयुशा कंडेलको नाम सिफारिस गरेको छ । रज्जाक २०७९ मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा रुपन्देही १ (ख) बाट निर्वाचित छन् ।
यस्तै क्षेत्र नम्बर १ बाट समानुपातिकमा गंगा शाही, मणिप्रसाद शर्मा, सरिता चौधरी, दीपक पौडेल, भगवती गैरे र राजु रोकाको नाम सिफारिस भएको गरिएको हो ।