© २०२३
कतार, २७ मङ्सिर ।
कतारमा कार्यरत नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ,राष्ट्रिय समन्वय परिषद् कतारको २३ औ स्थापना दिवसको अवसर पारेर नासिम सर्किजल मेडिकल सेन्टरको समन्वय तथा सहयोगमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरिएको थियो ।
स्वास्थ्य परीक्षणमा करिब ६५० जना नेपालीहरू सहभागी भएका थिए, जस मध्य ३८६ जना सहभागीहरूलाई प्रत्यक्ष स्वास्थ्य परीक्षण गरिएको थियो । समय अभावका कारण चेकअप गराउन बाकी रहेका १८५ जनालाई आगामी डिसेम्बर ३१ तारिक सम्म चेकअप गराउन पाउने व्यवस्थापन सहित भौचर उपलब्ध गराइएको छ ।
विशेषज्ञ चिकित्सकहरूद्वारा रक्तचाप, सुगर, कोलेस्ट्रोल, बिएमआइ परीक्षण, सामान्य,दन्त परामर्श तथा आधारभूत स्वास्थ्य परीक्षणका साथै सामान्य चिकित्सकीय परामर्श सेवा प्रदान गरिएको थियो । विशेषज्ञ चिकित्सकहरूको टोलीले श्रमिकहरूलाई नियमित स्वास्थ्य परीक्षणको आवश्यकता र रोगबाट जोगिन अपनाउनुपर्ने जीवनशैलीबारे सल्लाह सुझाव समेत दिएका थिए ।
परीक्षण कार्यक्रममा सहभागी एनसिसी कतारका सल्लाहकार यास्मिन नाजले यस्ता कार्यक्रमले कतारमा काम गरिरहेका नेपाली श्रमिकहरूलाई ठुलो राहत र अपार फाइदा पुगेको बताइन् । कार्यक्रममा अन्य सहभागी रहेका नेपालीहरूले कतार जस्तो मुलुकमा यस्ता निःशुल्क स्वास्थ्य सेवाले आफूहरूलाई राहत भएको प्रतिक्रिया दिँदै गैर आवासीय नेपाली सङ्घ, एनसिसी कतारप्रति आभार प्रकट गरेका थिए ।
स्थापना दिवसको अवसरमा केक काटेर खुसीयाली मनाउँदै नेपाली सङ्घका अध्यक्ष कृष्ण पन्थीले कतारमा कार्यरत नेपालीहरूको स्वास्थ्य जगेर्ना गर्नु हाम्रो पहिलो प्राथमिकता भएको बताउँदै यस्ता पहलले श्रमिकहरूलाई ठुलो सहयोग पुग्ने बताए । गैर आवासीय नेपाली सङ्घले विभिन्न समयमा कतारमा रहेका नेपाली श्रमिकहरूको हक हित तथा लाभदायक हुने काम गर्दै आइरहेको छ भने सङ्घले आगामी दिनमा फेरि यस्तै स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा एनआरएन अभियन्ता, समाजसेवी, बुद्धिजीवी पत्रकार लगायत नेपाली तथा अन्य समुदायका कामदारहरूको उपस्थिति रहेको थियो ।