© २०२३
भालुवाङ ११ पुस ।
लुम्बिनी प्रदेश सभाको बैठक स्थायी राजधानी दाङमा बस्ने गरी तयारी तीव्र पारिएको छ । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन भित्रै ५ करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन पनि सञ्चालनको अन्तिम तयारी अवस्थामा छन् । स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरुलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ ।
जसका लागि अहिले प्रदेश सभा भवन सिंगारपटार गर्ने काम भइरहेको छ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनले नवनिर्मित प्रदेश सभा भवनबाटै सदन चलाउने तयारी सहित काम अघि बढेको बताए ।
प्रदेश प्रमुखबाट संसद बैठक आह्वान हुने र त्यसपछि सभा सदस्यको शपथग्रहण र संसदको पहिलो बैठक बस्ने उनले बताए । ‘अबको प्रदेश सभा बैठक र नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ यहीँ राख्ने योजना छ’ उनले भने ।
उनले संविधानतः प्रदेशसभाको अधिवेशन पुस २१ भित्र बोलाइसक्नु पर्ने र त्यसपछिमात्र प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने बताए । उनले पुस १५ गतेदेखि २१ गतेकोबीचमा शपथ ग्रहण हुने जानकारी दिए । उनका अनुसार अहिले प्रदेश सभा भवनभित्र कार्पेट बिच्छ्याउने काम, कुर्सी राख्ने काम, रोष्टम बनाउने काम भइरहेको छ ।
यता, प्रदेश सभा सचिवालय तयार पार्ने र संसदीय दलको कार्यालय व्यवस्थापनको काम पनि चलिरहेको छ । प्रदेश सभा सचिवालयको सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेशसभा सचिव पुनले बताए । जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन ।