© २०२३
काठमान्डौ, १२ मंसिर ।
औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन), ब्याच नं. सीटी २७२३ तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको हो । विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गर्दै उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको छ ।
सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जून र म्याद सकिने मिति २०२६ मे रहेको छ । अर्थात, म्याद गुजार्न करिब ६ महिना मात्र बाँकी छ, तर यो औषधि बजारमा करिब अढाइ वर्षदेखि निर्वाध बिक्री–वितरण हुँदै आएको थियो ।
औषधि विभागले बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि नमुना संकलन गरी परीक्षण गर्ने र मापदण्डविपरीत पाएमा सम्बन्धित ब्याच रिकल गर्ने बताएको छ ।
औषधि ऐनको दफा १२ अनुसार हरेक औषधि जनस्वास्थ्यका लागि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने स्पष्ट व्यवस्था छ । सो दफाले बजारमा पुगेको गुणस्तरहीन औषधि उत्पादकले आफैं फिर्ता लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
यद्यपि, परीक्षण प्रक्रियामा हुने ढिलाइका कारण गुणस्तरहीन औषधि लामो समयसम्म बजारमा रहन सक्ने र उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम पुग्ने प्रश्न उठिरहेका छन् । स्वास्थ्य विज्ञहरूले बजारमा प्रयोगशालाले पहिचान गरेभन्दा धेरै गुणस्तरहीन तथा दुरुपयोग भएका औषधि रहेको र यसले गम्भीर साइड इफेक्ट निम्त्याउने चेतावनी दिएका छन् ।
विभागले यसअघि पनि विभिन्न कम्पनीका दर्जनौँ ब्याचको औषधि न्यून गुणस्तर प्रमाणित भएपछि बजारबाट रिकल गरिसकेको छ । उपभोक्ता र स्वास्थ्यकर्मीहरूले परीक्षण प्रक्रियालाई तीव्र र प्रभावकारी बनाउनुपर्ने माग निरन्तर उठाउँदै आएका छन् ।