© २०२३
काठमाडौं, २४ कात्तिक ।
बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईं लगायतका व्यक्तिहरू संलग्न ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ । गत ३० असोजमा उनीहरूले दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।
आयोगमा दिएको निवेदनअनुसार पार्टीको अध्यक्षमा प्रसाईंलाई राखिएको छ भने महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । व्यवसायी बस्नेत सदस्य रहेका छन् । पार्टीका नेताहरूले सोमबार आयोगमा पुगेर प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रमाणपत्र प्राप्त गरेपछि बुद्ध एयरका मालिक बस्नेतले भने, “हामी राजनीतिमा सेवा गर्न आएका हौं । राष्ट्र जुन प्रस्थानविन्दुमा छ, त्यसलाई सही किसिमले अघि बढाउन आवश्यक छ ।”
पार्टीको विधानअनुसार पदाधिकारीहरूले चुनाव नलड्ने व्यवस्था छ । बस्नेत सदस्य भएकाले चुनाव लड्न कुनै बाधा छैन ।
पार्टीले अबको नेपालमा नियमसंगत राजनीतिक संस्कार विकास गरी स्थापित गर्नु आवश्यक रहेको बताएको छ ।